logo-img

दक्षिण अफ्रिकाविरुद्ध नेपाललाई दोस्रो सफलता, कुशलले लिए कप्तानको विकेट
फाइल तस्बिर

नवौँ संस्करणको आइसिसी टी–२० विश्वकप क्रिकेटअन्तर्गत दक्षिण अफ्रिकाविरुद्ध नेपाललाई दोस्रो सफलता मिलेको छ । नेपाललाई दोस्रो सफलता पार्टटाइम स्पिनर कुशल भुर्तेलले दिलाए । उनले ११.२ ओभरमा कप्तान एडन मार्कमलाई १५ रनमा बोल्ड गरे । 

नेपालले पहिलो विकेट ३.४ ओभरमा लिएको थियो । नेपाललाई पहिलो सफलता अलराउन्डर दीपेन्द्र सिंह ऐरीले दिलाए । उनले आक्रामक ब्याटर क्विन्टन डिककलाई १० रनमा पवेलियन फर्काए । १३ ओभरको खेल सकिँदा टस हारेर ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाले दुई विकेट गुमाएर ७३ रन बनाएको छ । 

६ महिनापछि मैदान फर्किएका स्टार लेगस्पिनर सन्दीप लामिछानेले तीन ओभर बलिङ गरिसकेका छन् । उनले तीन ओभरमा विकेट लिन नसके पनि कसिलो बलिङ गरेका छन् । सन्दीपले दुई ओभरमा आठ मात्र रन दिएका छन् ।

नेपाल–दक्षिण अफ्रिकाबीचको खेल सेन्ट भिन्सेन्टको अर्नोस भेल ग्राउन्डमा भइरहेको हो ।  नेपाल र दक्षिण अफ्रिका सिनियर क्रिकेटमा पहिलोपटक एकअर्काको सामना गर्न लागेका हुन् । नेपालले दक्षिण अफ्रिकासँग उमेर समूहको क्रिकेटमा भने प्रतिस्पर्धा गरिसकेको छ ।  

यू–१९ विश्वकपमा नेपालले दुईपटक दक्षिण अफ्रिकालाई हराएको रेकर्ड पनि छ । नेपाल अब सिनियर क्रिकेटमा पनि दक्षिण अफ्रिकालाई हराउँदै इतिहास रच्न चाहन्छ । यद्यपि उच्च लयमा रहेको दक्षिण अफ्रिकालाई हराउन सहज छैन । 

ऊ एक खेलअगावै सुपर आठमा पुगिसकेको छ । दक्षिण अफ्रिकाले जारी विश्वकपमा श्रीलंका, बंगलादेश र नेदरल्याण्ड्सलाई हराइसकेको छ । अब ऊ नेपाललाई पनि हराउँदै अपराजित सुपर आठ चरण खेल्न चाहन्छ ।  



नेपाल भने दक्षिण अफ्रिकालाई स्तब्ध पार्दै सुपर आठ सम्भावना जीवित राख्न चाहन्छ । नेपालले पहिलो खेलमा नेदरल्याण्ड्ससँग ६ विकेटको हार बेहोर्‍यो । दोस्रो खेलमा वर्षाका कारण श्रीलंकासँग अंक बाँडेको नेपाल अहिले तालिकाको चौथो स्थानमा छ ।



  • प्रकाशित मिति : असार १, २०८१ शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया