logo-img

६ महिनापछि मैदान फर्किएका सन्दीपको कस्तो रह्यो प्रदर्शन ?
फाइल तस्बिर

नवौँ संस्करणको आइसिसी टी–२० विश्वकप क्रिकेटअन्तर्गत दक्षिण अफ्रिकाविरुद्ध नेपाली टिमका प्रमुख स्पिनर सन्दीप लामिछाने कसिलो बलिङका बाबजुद विकेटविहीन बनेका छन् ।

उनले चार ओभरको स्पेलमा मात्र १८ रन दिए । सन्दीपले चार ओभरमा बाउन्ड्रीको रूपमा एक चौका मात्र दिए, त्यो पनि करण केसीले खराब फिल्डिङ गर्दा ।

यस्तै, सन्दीपले एक क्याचको मौका पनि दिएका थिए । तर, त्यसमा सोमपाल कामी चुके । सन्दीप ६ महिनापछि मैदानमा फर्किएका हुन् । लामो समयपछि क्रिकेटमा फर्किँदा पनि उनी राम्रो लयमा देखिए । सन्दीपले कसिलो बलिङ गर्दा पनि अन्य बलरलाई विकेट लिन सहज भयो । 

नेपाली स्पिनरको सानदार बलिङको मद्दतमा दक्षिण अफ्रिका १ सय १५ रनमा रोकिएको छ । सेन्ट भिन्सेन्टको अर्नोस भेल ग्राउन्डमा टस हारेर ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय १५ रन बनायो ।

उसका लागि ओपनिङ ब्याटर रीजा हेन्ड्रिक्सले ४९ बलमा एक छक्का र पाँचौं चौकासहित सर्वाधिक ४३ रन बनाए । यस्तै, ट्रिस्टन स्टब्सले अविजित २७, कप्तान एडन मार्कमले १५ र क्विन्टन डिककले १० रन जोडे । नेपालका लागि अलराउन्डर कुशल भुर्तेल र दीपेन्द्र सिंह ऐरीले उत्कृष्ट बलिङ गरे । 

भुर्तेलले ४ ओभरमा १९ रन दिएर महत्वपूर्ण चार विकेट लिए । उनले कप्तान एडन मार्कम, हेनरिक क्लासेन, मार्को यान्सन र कागिसो रबाडाको विकेट लिएका हुन् । यस्तै, दीपेन्द्रलेले ४ ओभरमा २१ रन दिएर महत्वपूर्ण तीन विकेट लिए । उनले कप्तान एडन मार्कम, रीजा हेन्ड्रिक्स र डेविड मिलरको विकेट हात पारेका हुन् ।  



नेपाल र दक्षिण अफ्रिका सिनियर क्रिकेटमा पहिलोपटक एकअर्काको सामना गरिरहेका हुन् । नेपालले दक्षिण अफ्रिकासँग उमेर समूहको क्रिकेटमा भने प्रतिस्पर्धा गरिसकेको छ ।  

यू–१९ विश्वकपमा नेपालले दुईपटक दक्षिण अफ्रिकालाई हराएको रेकर्ड पनि छ । नेपाल अब सिनियर क्रिकेटमा पनि दक्षिण अफ्रिकालाई हराउँदै इतिहास रच्न चाहन्छ । यद्यपि उच्च लयमा रहेको दक्षिण अफ्रिकालाई हराउन सहज छैन । 



ऊ एक खेलअगावै सुपर आठमा पुगिसकेको छ । दक्षिण अफ्रिकाले जारी विश्वकपमा श्रीलंका, बंगलादेश र नेदरल्याण्ड्सलाई हराइसकेको छ । अब ऊ नेपाललाई पनि हराउँदै अपराजित सुपर आठ चरण खेल्न चाहन्छ ।  

नेपाल भने दक्षिण अफ्रिकालाई स्तब्ध पार्दै सुपर आठ सम्भावना जीवित राख्न चाहन्छ । नेपालले पहिलो खेलमा नेदरल्याण्ड्ससँग ६ विकेटको हार बेहोर्‍यो । दोस्रो खेलमा वर्षाका कारण श्रीलंकासँग अंक बाँडेको नेपाल अहिले तालिकाको चौथो स्थानमा छ ।

  • प्रकाशित मिति : असार १, २०८१ शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया