logo-img

सातै प्रदेशले ल्याए बजेट : दुई प्रदेशले बढाए, पाँच प्रदेशले घटाए (पूर्णविवरण)

प्रदेश सरकारहरुले असार १ मा आगामी आर्थिक वर्षका लागि बजेट ल्याउने परम्पराअनुसार शनिबार आ–आफ्ना प्रदेश सभामा बजेट प्रस्तुत गरेका छन् । 

दुईवटा प्रदेश सरकारबाहेक पाँच प्रदेशले यसपटक बजेट घटाएर ल्याएका छन् । बारम्बार सरकार फेरिने, मध्यावधि समीक्षामा बजेट पुनरावलोकन गरेर घटाउनुपर्ने संघजस्तै समस्या प्रदेशमा पनि छ ।  

कोशी प्रदेश सरकारले आगामी आव २०८१/८२ का लागि ३५ अर्ब २७ करोडको बजेट ल्याएको छ । आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले विराटनगरस्थित प्रदेश सभामा प्रस्तुत गरेको बजेट चालू आर्थिक वर्षको तुलनामा  एक अर्ब कम छ । 

चालू आवमा कोशीको बजेट ३६ अर्ब ७४ करोडको थियो । प्रदेश सरकारले आवका लाथि चालुतर्फ १४ अर्ब ४७ करोड ३० लाख र पुँजीगततर्फ १६ अर्ब २० करोड र वित्तीय व्यवस्थातर्फ ४ अर्ब ५८ करोडको बजेट विनियोजन गरेको छ । 

कोशी प्रदेशले ल्यायो चालू आर्थिक वर्षको भन्दा एक अर्ब कमको बजेट (पूर्णपाठ)

मधेस प्रदेश सरकारले चालू आर्थिक वर्षको भन्दा करिब १ अर्ब कमको बजेट ल्याएको छ । प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१–८२ का लागि ४३ अर्ब रुपैयाँको बजेट ल्याएको हो । 



शनिबार प्रदेशका अर्थमन्त्री भरत साहले प्रदेशसभामा आगामी वर्षका लागि कुल ४३ अर्ब ८९ करोड २१ लाख रुपैयाँ को बजेट प्रस्तुत गरेका हुन् ।

प्रदेश सरकारले ल्याएको बजेटमध्ये चालू खर्चतर्फ १६ अर्ब ७ लाख १ हजार रुपैयाँ विनियोजन गरिएको छ भने पुँजीगततर्फ २७ अर्ब ८९ करोड १४ लाख ६९ हजार रुपैयाँ राखिएको छ ।



एक अर्ब घटेर आयो मधेस प्रदेश सरकारको बजेट (पूर्णपाठ)

बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि बजेटको आकार बढाएको छ । शनिबार प्रदेश सभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरे । 

उनले कूल ६४ अर्ब ५४ करोड ९४ लाख ३१ हजार रुपैयाँको बजेट ल्याएको जानकारी गराए । जसमा पुँजीगततर्फ ३७ अर्ब ९३ करोड ८७ लाख ४९ हवजार, चालूतर्फ २६ अर्ब १० करोड १६ लाख ८२ हजार रुपैयाँ र वित्तिय व्यवस्थापनतर्फ १ अर्ब ५० करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

बागमती प्रदेशको बजेट अन्य प्रदेशको भन्दा दोब्बर (पूर्णपाठ)

गण्डकी प्रदेश सरकारले आव २०८१/८२ का लागि ३२ अर्ब ९६ करोड ८५ लाख रुपैयाँको बजेट ल्याएको छ । चालू आवको भन्दा ८५ करोडले कम बजेट ल्याइएको हो । आर्थिक वर्ष २०८०/८१ को बजेट ३३ अर्ब ८२ करोड रुपैयाँको थियो ।

आर्थिक मामिला मन्त्री टकराज गुरूङले पोखरास्थित प्रदेशसभामा प्रस्तुत गरेको बजेटमा चालूतर्फ १३ अर्ब १६ करोड अर्थात ३९ प्रतिशत र पुँजीगततर्फ ६० प्रतिशत अर्थात १९ अर्ब ५१ करोड करोड बजेट विनियोजन गरिएको छ ।

झण्डै एक अर्ब बढेर आयो गण्डकी प्रदेशको बजेट (पूर्णपाठ)

लुम्बिनी सरकारले आव २०८१/८२ का लागि ३८ अर्ब ९७ करोड रुपैयाँको बजेट ल्याएको छ । बजेटको यो आकार चालू वर्षको तुलनामा डेढ अर्बले कम हो । चालू आर्थिक वर्ष २०८०/८१ का लागि लुम्बिनीमा ४० अर्ब ४७ करोड ९७ लाख बराबरको बजेट थियो ।

आर्थिक मामिलामन्त्री चेतनारायण शर्माले चालूतर्फ ११ अर्ब २४ करोड २७ लाख रुपैयाँ र पुँजीगततर्फ २४ अर्ब ५८ करोड रुपैयाँ विनियोजन गरेका छन् भने वित्तीय हस्तान्तरणका लागि ३ अर्ब १४ करोड रुपैयाँ विनियोजन गरेका छन् । 

लुम्बिनी प्रदेशले ल्यायो डेढ अर्ब घटाएर बजेट (पूर्णपाठ)

कर्णाली सरकारले आव २०८१/८२ का लागि ३१ अर्ब ४१ करोड ४१ हजार रुपैयाँको बजेट ल्याएको छ । सुर्खेतस्थित प्रदेशसभामा आर्थिक मामिला तथा योजना मन्त्री महेन्द्र केसीले बजेट प्रस्तुत गर्दै पुँजीगततर्फ कुल बजेटको ५९।७ प्रतिशत अर्थात १८ अर्ब ७५ करोड ८ लाख ६८ हजार रुपैयाँ विनियोजन गरिएको जानकारी गराए ।

 

कर्णालीको बजेट दुई अर्ब घटाइयो, ‘समृद्ध कर्णाली, सुखारी कर्णालीवासी’को नारा (पूर्णपाठ)

सुदूरपश्चिम प्रदेश सरकारले आव २०८१÷८२ का लागि ३१ अर्ब ६२ करोड ९८ लाख २८ हजारको बजेट ल्याएको छ । प्रदेशको बजेट यसपटक बढेर आएको छ । चालू आर्थिक वर्षका लागि बजेट २९ अर्ब २६ करोड रुपैयाँ बराबरको ल्याइएको थियो ।

आर्थिक मामिला मन्त्री सुरेन्द्रबहादुर पालले शनिबार प्रदेश सभाको बैठकमा बजेट प्रस्तुत गर्दै चालु खर्चतर्फ ११ अर्ब ७ करोड १९ लाख ६३ हजार र पुँजीगततर्फ १७ अर्ब ५३ करोड ८ लाख ५५ हजार बजेट विनियोजन गरेको जानकारी गराए ।

सुदूरपश्चिम प्रदेश सरकारले ल्यायो ३१ अर्ब ६२ करोडको बजेट

  • प्रकाशित मिति : असार १, २०८१ शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया