logo-img

नगरसभा स्थगित : कांग्रेस–एमालेको दलीय दम्भ दोषी कि बालेनको निर्दलीय रंग ?

काठमाडौं महानगरपालिकाको नगरसभाको १५औँ अधिवेशनको दोस्रो बैठक स्थगित भएको छ । एमाले र कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिले बहिष्कार गरेपछि नगरसभा स्थगित भएकाे हाे । एमाले र कांग्रेसबाट निर्वाचित भएका जनप्रतिनिधिले बहिष्कार गरेपछि आइतबारबाट सुरु भएकाे नगरसभा बैठक असार १० गतेसम्मका लागि स्थगित गरिएको हो । 

बैठक सुरु हुनासाथ महानगर प्रमुख बालेन्द्र साह (बालेन)ले आर्थिक वर्ष २०८१–८२ का लागि जेठ ३२ गते प्रस्तुत भएका वार्षिक नीति तथा कार्यक्रममाथि बोल्न चाहने सदस्यहरुलाई ५ मिनेटभित्र नाम टिपाउन समय दिएका थिए । त्यसपछि केही जनप्रतिनिधिहरुले बैठक बहिष्कार गरेपछि शाहले बैठक स्थगित गरेका हुन् । बैठक स्थगित भएपछि मेयर साहले एमाले र कांग्रेसको धङधङी बोकेर नगरसभामा नआउन चेतावनी दिएका थिए । 

उनले सामाजिक सञ्जाल फेसबुकमार्फत तीनजना नेताले गर्दा १६० जना जनप्रतिनिधिको बोल्ने अधिकार हनन भएको उल्लेख गरेका थिए । उनले लेखेका थिए, ‘तीनजना नेताले गर्दा, १६० जना जनप्रतिनिधिको बोल्ने अधिकार हनन भयो । काठमाडौं महानगरको कुनै पनि नीति, योजनाबारेमा छलफल बन्द कोठामा हुँदैन । जे हुन्छ, हरेक नागरिकले चासो गर्दा देख्न सकिने गरी हुन्छ । यही कारण हामीले नगरसभा लाइभ गर्ने गरेका हौँ ।’ 

काठमाडौं महानगरपालिकाको नगरसभामा कांग्रेस, एमालेको धङधङी बोकेर नआउन चेतावनी दिँदै उनले थप भनेका थिए, ‘नगरसभामा कोही पनि कुनै पार्टीको नेता र उपनेताका रूपमा रहँदैन । १६० जनाको नै हरेक निर्णयमा समान सहभागिता र स्वामित्व रहन्छ । बन्द कोठामा केही नेताले राजनीतिक लेनदेन गरेर सहमति गर्ने अनि सार्वजनिक रूपमा चैँ त्यसको औपचारिकता मात्रै दिने काम काठमाडौँ महानगर पालिकाले गर्दैन ।’ 

महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले तयारी नपुगेका कारण कांग्रेस-एमालेका जनप्रतिनिधिले बैठक बहिष्कार गरेकाे बताए । न्युरोडलाई ‘नो भेकल जोन’ बनाउने महानगरपालिका प्रमुख साहको प्रस्ताव थियो। उक्त प्रस्तावलाई आज बस्ने नगरसभामा पारित गर्ने तयारी गरिएको चर्चा छ।



तर, उक्त कारणले बैठक बहिष्कार नभएको महानगरपालिका प्रवक्ता मानन्धरले बताए। ‘त्यो विषयमा आज केही कुरै थिएन,’उनले भने। यस अघिदेखि नै न्युरोडमा सडक काटेर फुटपाथ थप्ने महानगरपालिकाको योजनामा केही वडाअध्यक्षहरू असन्तुष्ट थिए।

जेठ १८ गते बसेको महानगरपालिका ३२औँ नगर कार्यपालिका बैठकमा यही विषयमा झण्डै २५ मिनेट महानगर प्रमुख साह र वडा अध्यक्षहरूबीच चर्काचर्की नै परेको थियो। महानगरपालिका वडा २२ का अध्यक्ष चिनीकाजी महर्जनले महानगरपालिकाले आफूखुसी न्युरोडलाई खण्डीकरण गरेको र यो काम तत्काल रोक्नू भन्दै प्रमुख साहसँग आक्रोश पोखेका थिए।



कार्यपालिका सदस्यहरूले बैठक बहिष्कार गरेपछि महानगरपालिकाका प्रमुख बालेन साहले नगरसभामा कांग्रेस, एमालेको धङधङी बोकेर नआउनू भन्दै आक्रोश पोखेका हुन्।

महानगर प्रमुख साह स्वतन्त्र रूपमा निर्वाचन जितेर आएका व्यक्ति हुन् । पुराना दलसँग मतदाताको वितृष्णाका कारण उनलाई महानगरवासीले मेयरको कुर्सीमा पुर्याएका हुन् । तर, नगरसभामा उनी मात्रै निर्दलीय जनप्रतिनिधि छन् । नगर उपप्रमुख सुनीता डंगोल स्वयं पनि एमालेबाट निर्वाचित हुन् । 

सबै वडाका अध्यक्ष तथा सदस्यहरु पनि दलकै प्रतिनिधि छन् । यस्तो अवस्थामा उनीहरूसँग समन्वय नगरीकन एक्लै अघि बढ्छु भन्न उनी स्वयंका लागि घातक हुन सक्छ । वडाका अध्यक्ष तथा सदस्यहरु पनि जनताबाटै निर्वाचित भएर आएका हुन् । दलका प्रतिनिधि हुन् भन्दैमा उनीहरूको कुरा नसुनीकन एक्लै अघि बढ्न खोज्नु बालेनको राजनीतिक निर्णय होइन । किनकि यो निर्दलीय व्यवस्था होइन ।  

बालेन स्वतन्त्र निर्वाचित हुन् भन्दैमा दलका प्रतिनिधिले पनि उनलाई बाइपास गरेर जान मिल्दैन । महानगर र महानगरवासीको हितमा उनले ल्याएका प्रस्तावलाई आफ्नो दलको कसीमा जाँच्न थाल्ने हो भने विकासले गति लिन सक्दैन । त्यसैले दुवै पक्षले आ-आफ्नो दम्भ त्याग्नैपर्छ ।

लोकतन्त्र भनेको बहुमतको शासन मात्रै होइन, अल्पमतको सम्मान पनि हो । जसले अर्काको अस्तित्व स्वीकार गर्दैन त्यो लोकतन्त्रवादी कदापि हुन सक्दैन । अबको युगमा कुनै पनि खालको अधिनायकवाद टिक्न सक्दैन । त्यसैले एक–अर्काको अस्तित्वको सम्मान गर्दै अघि बढ्नमा नै दुवै पक्षको र महानगरवासीको हितमा हुनेछ ।      

  • प्रकाशित मिति : असार २, २०८१ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया