logo-img

विश्वकप क्रिकेट : नेपाललाई बंगलादेशविरुद्ध १० वर्षअघिको हारको बदला लिने सुनौलो अवसर

आइसिसी विश्वकप क्रिकेट २०२४ अन्तर्गत समूह डी को आफ्नो अन्तिम खेलमा नेपालले भोलि बंगलादेशको सामना गर्दै छ । 
    
वेस्टइन्डिजको सेन्ट भिसेन्टस्थित अरनोस भाले रंगशालामा हुने उक्त खेल नेपाली समयअनुसार बिहान ५ः१५ बजेदेखि सुरु हुनेछ । अन्तिम आठमा स्थान बनाउने प्रतिस्पर्धाबाट बाहिरिसकेको नेपालका लागि उक्त खेल प्रतिष्ठाका लागि मात्र हुनेछ । तर, बंगलादेशका लागि भने निकै महत्वपूर्ण मानिएको छ । 
    
समूह डी बाट दक्षिण अफ्रिका आठ अंकका साथ शीर्ष स्थानमा रहँदै विश्वकपको दोस्रो चरणमा प्रवेश गरिसकेको छ । अब समूह डी बाट सुपर आठमा पुग्ने दोस्रो टोलीको टुंगाे लाग्न बाँकी छ । नेपाललाई पराजित गरेमा बंगलादेश समूहको दोस्रो स्थानमा रहँदै अन्तिम आठमा प्रवेश गर्नेछ । अंक तालिकामा बंगलादेशको चार अंक छ । 


    
विश्वकपमा एक अंक बटुलेको श्रीलंका भने प्रतियोगिताबाट बाहिरिइसकेको छ । नेदरल्यान्ड्सको सम्भावना भने कायमै छ । नेदरल्यान्ड्स दुई अंकका साथ अंक तालिकाको तेस्रो स्थानमा छ । नेदरल्यान्ड्स र श्रीलंकाबीचको खेल पनि भोलि नै हुनेछ ।
    
भोलिको खेलमा नेपाललाई बंगलादेशविरुद्ध १० वर्षअघि भोगेको हारको बदला लिने सुनौलो अवसर छ । नेपालले सन् २०१४ मा पहिलोपटक विश्वकपमा सहभागिता जनाउँदा बंगलादेशसँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको थियो । 
    
विश्वकपमा नेपालले यसअघि खेलेको तीन खेलमा दुई खेलमा हार तथा एक खेल बराबरी खेलेको थियो । नेपालले पहिलो खेल नेदरल्यान्ड्ससँग पराजित भएको थियो । श्रीलंकाविरुद्धको दोस्रो खेल वर्षाका कारण रद्द भएपछि दुवै टोलीले समान एक-एक अंक बाँडेका थिए । त्यस्तै, दक्षिण अफ्रिकाविरुद्धको तेस्रो खेलमा नेपाल एक रनले पराजित भएको थियाे ।





  • प्रकाशित मिति : असार २, २०८१ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया