logo-img

बंगलादेशविरुद्ध नेपाललाई दोस्रो सफलता, दीपेन्द्रले लिए कप्तानको विकेट

नवौँ संस्करणको आइसिसी टी–२० विश्वकपअन्तर्गत समूह चरणको अन्तिम खेलमा बङ्गलादेशविरुद्ध नेपालले दोस्रो विकेट लिएको छ ।

नेपाललाई दोस्रो सफलता दिलाउनेक्रममा दीपेन्द्र सिंह ऐरीले नजमुल हुसेन शान्तोलाई चार रनमा बोल्ड गरे । त्यसअघि नेपाललाई सानदार सुरुवात दिलाउनेक्रममा तीव्र गतिका बलर सोमपाल कामीले तान्जिद हसन शून्यमै आउट गरे ।   

सोमपालले उनलाई शून्यमै पवेलियन फर्काएका हुन् । सेन्ट भिन्सेन्टको अर्नोस भेल ग्राउन्डमा भइरहेको खेलमा नेपालले आज पनि टस जितेर पहिला फिल्डिङ गरिरहेको हो । नेपालले आज प्लेइङ–११ एक खेलाडी परिवर्तन गरेको छ । नेपालले बंगलादेशविरुद्ध करण केसीको स्थानमा सन्दीप जोरालाई मौका दिएको हो । 

नेपालका लागि यो खेल प्रतिष्ठाको लडाइँ मात्र हुनेछ । समूह ‘डी’ अन्तर्गत शनिबार भएको प्रतिस्पर्धात्मक खेलमा नेपाल दक्षिण अफ्रिकासँग एक रनले पराजित भएसँगै सुपर–८ दौडबाट बाहिरिएको थियो । नेपालका लागि सोमबारको खेलमा गुमाउनुपर्ने केही छैन । यो खेल जितेमा नेपालले टेस्ट टोली बङ्गलादेशलाई हराएर नयाँ इतिहास बनाउनेछ । 

हालसम्म नेपालले कुनै पनि टेस्ट टिमलाई हराउन सकेको छैन । बंगलादेशसँग अहिलेसम्म नेपालले एकपटक खेलेको छ । सन् २०१४ मा भएको विश्वकप खेलमा बंगलादेशसँग नेपाल ८ विकेटले पराजित भयो । 

नेपाल यसपटक १० वर्षअघिको हारको बदला लिँदै बंगलादेशलाई स्तब्ध पार्न चाहन्छ । बंगलादेशी टिम आज नेपालभन्दा बढी दबाबमा हुनेछ । यदि नेपालसँग हार बेहोरेमा ऊ सुपर आठमा नपुग्न सक्छ । त्यसकारण बंगलादेश नेपालविरुद्ध पूरा तयारीका साथ मैदान उत्रिनेछ । तालिकामा बंगलादेश अहिले चार अंकसहित दोस्रो स्थानमा छ ।  



नेपालको प्लेइङ–११ : कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), अनिलकुमार साह, रोहितकुमार पौडेल (कप्तान), गुलशन झा, कुशल मल्ल, सन्दीप जोरा, दीपेन्द्र सिंह ऐरी, सोमपाल कामी, अविनाश बोहरा र सन्दीप लामिछाने । 



  • प्रकाशित मिति : असार ३, २०८१ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया