logo-img

टी-२० विश्वकप : बंगलादेशको नवौँ विकेट पतन, दीपेन्द्रलाई दोस्रो सफलता
फाइल तस्बिर

नवौँ संस्करणको आइसिसी टी–२० विश्वकपअन्तर्गत समूह चरणको अन्तिम खेलमा बङ्गलादेशविरुद्ध नेपाललाई नवौँ सफलता मिलेको छ । नेपाललाई नवौँ सफलता अलराउन्डर दीपेन्द्र सिंह ऐरीले दिलाए । 

उनले १७.१ ओभरमा रिशाद हुसेनलाई १३ रनमा आउट गरे । नेपाललाई आठौँ सफलता स्पिनर सन्दीप लामिछानेले दिलाए । उनले १५.३ ओभरमा जाकर अलीलाई १२ रनमा आउट गरे । त्यसअघि सन्दीपले उनले १३.२ ओभरमा तन्जिम हसन साकिबलाई चार रनमा बोल्डआउट गरे । 

योसँगै योसँगै उनी नेपालको तर्फबाट टी–२० आईमा १०० विकेट लिने पहिलो बलर बनेका छन् । यस्तै, सन्दीप टी–२० आईमा कम खेलमा १०० विकेट लिने दोस्रो बलर बनेका छन् । उनले यो उपलब्धि ५४ खेलमा हासिल गरेका हुन् ।

बंगलादेशविरुद्ध नेपाललाई छैटौँ सफलता कप्तान रोहितकुमार पौडेलले दिलाए । उनले ११.२ ओभरमा बंगलादेशी स्टार ब्याटर शकिब अल हसनलाई १७ रनमा एल्बडीब्लू धरापमा पारे । 

नेपाललाई पाँचौं सफलता रनआउटको रूपमा प्राप्त भयो । बंगलादेशी अनुभवी ब्याटर महमुदुल्लाहलाई सन्दीप लामिछाने र गुलशन झाले मिलेर नवौँ ओभरको अन्तिम बलमा १३ रनमा रनआउट गराए । 

नेपाललाई चौथो सफलता कप्तान रोहितकुमार पौडेलले दिलाए । उनले ५.४ ओभरमा तौहिद हृदयलाई ९ रनमा सन्दीप लामिछानेको हातबाट क्याच आउट गराए । नेपाललाई तेस्रो सफलता तीव्र गतिका बलर सोमपाल कामीले दिलाए । उनले ४.३ ओभरमा लिटन दासलाई १० रनमा क्याच आउट गराए । 



नेपाललाई दोस्रो सफलता दिलाउने अलराउन्डर दीपेन्द्र सिंह ऐरीले कप्तान नजमुल हुसेन शान्तोलाई चार रनमा बोल्ड गरे । त्यसअघि नेपाललाई सानदार सुरुवात दिलाउनेक्रममा सोमपालले तान्जिद हसन शून्यमै आउट गरे ।   

सोमपालले उनलाई पहिलो ओभरको पहिलो बलमै तान्जिद हसनलाई शून्यमै पवेलियन फर्काएका हुन् । सेन्ट भिन्सेन्टको अर्नोस भेल ग्राउन्डमा भइरहेको खेलमा नेपालले आज पनि टस जितेर पहिला फिल्डिङ रोजेको हो । नेपालले आज प्लेइङ–११ एक खेलाडी परिवर्तन गरेको छ । नेपालले बंगलादेशविरुद्ध करण केसीको स्थानमा सन्दीप जोरालाई मौका दिएको हो । 



नेपालका लागि यो खेल प्रतिष्ठाको लडाइँ मात्र हुनेछ । समूह ‘डी’ अन्तर्गत शनिबार भएको प्रतिस्पर्धात्मक खेलमा नेपाल दक्षिण अफ्रिकासँग एक रनले पराजित भएसँगै सुपर–८ दौडबाट बाहिरिएको थियो । नेपालका लागि सोमबारको खेलमा गुमाउनुपर्ने केही छैन । यो खेल जितेमा नेपालले टेस्ट टोली बङ्गलादेशलाई हराएर नयाँ इतिहास बनाउनेछ । 

हालसम्म नेपालले कुनै पनि टेस्ट टिमलाई हराउन सकेको छैन । बंगलादेशसँग अहिलेसम्म नेपालले एकपटक खेलेको छ । सन् २०१४ मा भएको विश्वकप खेलमा बंगलादेशसँग नेपाल ८ विकेटले पराजित भयो । 

नेपाल यसपटक १० वर्षअघिको हारको बदला लिँदै बंगलादेशलाई स्तब्ध पार्न चाहन्छ । बंगलादेशी टिम आज नेपालभन्दा बढी दबाबमा छ । यदि नेपालसँग हार बेहोरेमा ऊ सुपर आठमा नपुग्न सक्छ । बंगलादेश अहिले चार अंकसहित दोस्रो स्थानमा छ ।  

नेपालको प्लेइङ–११ : कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), अनिलकुमार साह, रोहितकुमार पौडेल (कप्तान), गुलशन झा, कुशल मल्ल, सन्दीप जोरा, दीपेन्द्र सिंह ऐरी, सोमपाल कामी, अविनाश बोहरा र सन्दीप लामिछाने । 

  • प्रकाशित मिति : असार ३, २०८१ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया