logo-img

ब्याटिङमा चुक्दा बंगलादेशसँग हार्‍यो नेपाल, गुमायो फेरि टेस्ट टिमलाई हराउने मौका

नवौँ संस्करणको आइसिसी टी–२० विश्वकपअन्तर्गत समूह चरणको अन्तिम खेलमा बंगलादेशसँग नेपाल २१ रनले पराजित भएको छ । बंगलादेशले दिएको १ सय ७ रनको लक्ष्य पछ्याएको नेपाल १९.२ ओभरमा ८५ रनमै अलआउट भयो ।

आजको खेलमा पनि नेपाल फिनिसिङमा चुक्यो । अन्तिम दुई ओभरमा नेपाललाई जितका लागि २२ रन आवश्यक थियो । तर, नेपालले ८ बल खेल्दा एक रन पनि जोड्न नपाउँदै तीन विकेट गुमायो ।  

नेपालका लागि कुशल मल्लले ४० बलमा एक चौका र एक छक्कासहित सर्वाधिक २७ रन बनाए । उनले दीपेन्द्र सिंह ऐरीसँग ५८ बलमा ५२ रनको साझेदारी गरे । ऐरीले २५ रन जोडे ।

यस्तै, आसिफ शेखले १७ रन बनाए । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् । बंगलादेशका लागि तन्जिम हसन साकिबले चार, मुस्तफिजुर रहमानले तीन, शाकिब अल हसनले दुई र तस्किन अहमदले एक विकेट लिए ।  

त्यसअघि सेन्ट भिन्सेन्टको अर्नोस भेल ग्राउन्डमा टस हारेर ब्याटिङको निम्तो पाएको बंगलादेश १९.३ ओभरमा १ सय ६ रनमा अलआउट भयो । उसका लागि शाकिवअल हसनले १७, महुमुदुल्लाह र राशिद हुसेनले १३/१३, जकिर अलीले १२ र लिटन दासले १० रन जोडे । 

नेपालका लागि सन्दीप लामिछाने, सोमपाल कामी, रोहितकुमार पौडेल र दीपेन्द्र सिंह ऐरीले दुई/दुई विकेट लिए । नेपाललाई दुई विकेट रनआउटको रूपमा प्राप्त भयो ।  



नेपालको हारले समूह ‘डी’ बाट बंगलादेश सुपर–८ मा पुगेको छ । बंगलादेशले समूह चरणमा चारमध्ये तीनमा जित र एक खेलमा हार बेहोर्यो । १० वर्षपछि विश्वकप खेलेको नेपालले चारमध्ये तीनमा हार तथा एक खेलमा अंक बाँड्यो ।

नेपालले नेदरल्याण्ड्सविरुद्ध ६ विकेट र दक्षिण अफ्रिकाविरुद्ध एक रनको हार बेहोर्‍यो । नेपालले श्रीलंकासँग भने वर्षाका कारण अंक बाँडेको थियो । योसँगै नेपाल एक अंकका साथ स्वदेश फर्किनेछ । 



  • प्रकाशित मिति : असार ३, २०८१ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया