logo-img

मेयर बालेन शाह ब्राजिल प्रस्थान, मेट्रोपोलिस निर्देशक समितिको बैठकमा भाग लिने

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) मेट्रोपोलिस निर्देशक समितिको बैठकमा भाग लिन ब्राजिल गएका छन् । असार ५ र ६ गते (जुन १९ र २०, २०२४) मा ब्राजिलको साओ पाउलोमा हुने निर्देशक समितिको बैठकमा भाग लिन सोमबार बिहान २:१५ बजेको उडानबाट ब्राजिल प्रस्थान गरेका हुन् ।

बैठक सम्पन्न गरेर उनी असार ८ गते स्वदेश फर्किनेछन् । प्रमुखका साथमा पूर्वाधार सल्लाहकार सुनिल लम्साल छन् । प्रमुख शाह मेट्रोपोलिस निर्देशक बोर्डको सदस्य हुन । मेट्रोपोलिस विश्वका ठूला महानगरहरूका बिचमा विश्वव्यापी सहयोग, संवाद, ज्ञान र समाधान आदानप्रदान गर्ने, सामूहिक आवाज बुलन्द गर्ने अन्तर्राष्ट्रिय संस्था हो ।   

प्रमुख शाहलाई महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियार, स्वकीय सचिव भूपदेव शाह, सचिवालय सदस्य धिरज जोशी र नवीन भण्डारीले त्रिभुवन विमानस्थलको विशिष्ट कक्षबाट बिदाइ गरेका थिए । 

सहरी आवास र भवनहरूको विषय निर्देशक बोर्डमा छलफलको मुख्य विषय रहेको छ । सहरमा आवासका चुनौतीलाई सामना गर्न, सभ्य र सहज आवाससँग सम्बन्धित विषयमा छलफल गरेर निर्देशक बोर्डले निष्कर्ष निकाल्नेछ । बैठकमा प्रमुख शाहले सम्बोधन गर्नेछन् । 

कार्यक्रमअन्तर्गत ‘मेयरल राउण्ड टेवल’ शीर्षकमा बुधबार हुने आवास र भूमि तथा महानगर कल्याण र जीवनस्तर सुधारसँग सम्बन्धित ‘मेट्रोपोलिस नीति बहस’ मा प्रमुख शाहले प्यानलिष्टका रूपमा धारणा प्रस्तुत गर्नेछन् । 

सहरी आवासका आयाम, अभाव र प्रभाव तथा जलवायु जोखिम घटाउन विश्वव्यापी साझा कार्यक्रम, पर्याप्त पूर्वाधार, कम कार्बन फुटप्रिन्ट र समुदायका प्रत्येक सदस्यको विविध आवश्यकताहरू पूरा गर्न समावेशी दृष्टिकोणका विषयमा केन्द्रित रहेर नीति बहस हुनेछ । 



नीति बहसले विश्वभरका प्रमुख सहरहरूका प्रमुख सरोकारवालाहरू, अन्तर्राष्ट्रिय संस्था र वित्तीय संस्थालाई एकै ठाउँमा स्थानीय चुनौती समाधान गर्न अन्तर्दृष्टि आदानप्रदान गर्ने र लगानीका अवसर सिर्जना गर्ने अपेक्षा गरिएको छ ।

उपयोग नीतिका आधारमा नवीन आवास र भूमि व्यवस्थापनमा महानगरहरूका ज्ञान आदान प्रदान गर्न विश्वका प्रमुख सहरहरूबाट राजनीतिक नेताहरूलाई एकै ठाउँमा ल्याएर सञ्जाल निर्माण गर्नु, सभ्य, मितव्ययी सहरी आवास सुनिश्चित गर्न साओ पाउलोले गरेका प्रयास अवलोकन हुनेछ । 



बैठकले विश्व परिवेशका भिन्न भिन्न स्थानीय अनुभव, प्रयास र नतिजा तथा प्रमाणमा आधारित समाधान दिनेछ । आइतबार मात्र महानगरको नगर सभाको १५औँ अधिवेशनको दोस्रो बैठक स्थगित भए लगत्तै उनी ब्राजिल उडेका हुन ।

एमाले र कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिले बहिष्कार गरेपछि नगर सभा नै स्थगित हुन पुगेको हो । जनप्रतिनिधिले बहिष्कार गरेपछि आइतबारबाट सुरु भएको नगर सभा बैठक असार १० गतेसम्मका लागि स्थगित गरिएको हो । 

  • प्रकाशित मिति : असार ३, २०८१ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया