logo-img

कर्णाली प्रदेश : ६ वर्षमा तीन अर्ब आन्तरिक आम्दानी

कर्णाली प्रदेश सरकारले विगत ६ वर्षमा दुई अर्ब ८६ करोड १० लाख ६३ हजार आन्तरिक आम्दानी गरेको छ । प्रदेश सरकार स्थापनाको पाँच वर्ष र चालू आर्थिक वर्षको जेठ मसान्तसम्म गरी सो आम्दानी गरेको पाइएको छ । 

आर्थिक वर्ष २०७९/८० सम्मको आन्तरिक राजस्व संकलन दुई अर्ब २४ करोड १३ लाख ६३ हजार भएको छ । यो कूल राजस्व लक्ष्यको ९४.८ प्रतिशत रहेको कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री महेन्द्र केसीले बताए । 

उनका अनुसार आर्थिक वर्ष २०८०/८१ मा प्रदेशको आन्तरिक राजस्व संकलन जेठ मसान्तसम्म ६१ करोड ९७ लाख अर्थात् लक्ष्यको तुलनामा ७४.१० प्रतिशत रहेको छ । आन्तरिक आम्दानीतर्फ कमजोर रहेको कर्णाली प्रदेश सरकारको विगत ६ वर्षको कूल बजेट भने एक खर्ब ६६ अर्ब ५६ करोड रहेको छ । 

बजेटको संरचना हेर्दा चालूतर्फ ३७.४६ प्रतिशत र पुँजीगततर्फ ६२.५४ प्रतिशत विनियोजन भएको आर्थिक मामिलामन्त्री केसीले बताए । विनियोजनको चालूतर्फ ६२.७१ प्रतिशत र पुँजीगततर्फ ५५.०१ प्रतिशत खर्च भई समग्रमा ५७.९० प्रतिशत खर्च भएको छ । चालू आर्थिक वर्ष सकिन अब एक महिना मात्रै बाँकी रहँदा सरकारको बजेट कार्यान्वनयको अवस्थासमेत कमजोर देखिएको छ । 

संसद्मा आगामी वर्षको बजेट पेस गर्दै मन्त्री केसीले आर्थिक वर्ष २०८०/८१ को जेठ मसान्तसम्मको खर्च चालूतर्फ ४९.३८ प्रतिशत र पुँजीगततर्फ २९.८७ प्रतिशत खर्च भई समग्रमा ३७.९३ प्रतिशत खर्च भएको बताए । आर्थिक वर्ष २०७५/७६ देखि आव २०७९/८० सम्मको अवधिमा संघीय सरकारबाट प्राप्त बजेटमा ससर्त, समपुरक र विशेष अनुदानमा कूल २७ अर्ब ५२ करोड प्राप्त भएकामा सो आर्थिक वर्षभित्र खर्च नसकी सात अर्ब ७८ करोड संघीय सञ्चित कोषमा फिर्ता भएको छ ।





  • प्रकाशित मिति : असार ३, २०८१ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया