logo-img

छबिसका दुई स्वतन्त्र वडाध्यक्षले विषयगत समितिबाट दिए राजीनामा, चलाउनेले बजेट विनियोजनमा एकलौटी गरेको आरोप

बझाङको छबिसपाथिभेरा गाउँपालिकाका दुई स्वतन्त्र वडाध्यक्षले पालिकाको विषयगत समितिको संयोजकबाट राजीनामा दिएका छन् । छबिसपाथिभेरा गाउँपालिका–२ का वडाध्यक्ष पविन्द्र मण्डेलले वातावरण विपद् र ७ नम्बरका वडाध्यक्ष विजयबहादुर धामीले सुशासन तथा संस्थागत विकास समितिको संयोजकबाट राजीनामा दिएका हुन् । 

गाउँपालिका अध्यक्ष बसन्तबहादुर चलाउनेले योजना छनोटदेखि बजेट विनियोजनमा मनोमानी गरेको भन्दै उनीहरूले विषयगत समितिको संयोजकबाट राजीनामा दिएको बताएका छन् ।

‘हामीले विगतदेखि नै समानुपातिक, जनसंख्या, भौगोलिक आधारमा बजेट विनियोजन हुनुपर्छ भनेर पटकपटक भनेका थियौँ । हाम्रो जोड त्यसमै थियो । तर, राजनीतिक पहुँचको आधारमा स्वतन्त्रबाट निर्वाचित वडाध्यक्षलाई पालिका अध्यक्षले नेकपा माओवादी केन्द्रका नेताहरू खगराज भट्ट, जनक बुढाहरूको निर्देशनमा पेल्न खोजे,’ विषयगत समितिको संयोजकबाट राजीनामा दिएका वडाध्यक्षद्वय मण्डेल र धामीले भने, ‘हामीमाथि सुरुवातदेखि नै अन्याय भएको छ, स्वतन्त्रबाट निर्वाचित वडाध्यक्ष गुटगत राजनीतिबाट समस्यामा परेका छौँ । आयस्रोतको आधारमा मात्र पालिका अध्यक्षले बजेट विनियोजनमा जोड दिइरहेका छन् । हामी त्यसको विरोधमा छौँ । गाउँपालिका अध्यक्ष नसच्चिए कडा प्रतिवादमा उत्रिन्छौं ।’ 

वडाध्यक्षद्वय मण्डेल र धामी पूर्वमाओवादी हुन् । उनीहरूले गत स्थानीय तहको निर्वाचनमा माओवादीबाट टिकट नपाएपछि स्वतन्त्रबाट उम्मेदवारी दिएका थिए ।

स्थानीय सरकार सञ्चालन ऐनअनुसार स्थानीय तहले प्रत्येक वर्षको असार १० गतेअघि नै वार्षिक बजेट ल्याउनुपर्ने व्यवस्था छ ।   





  • प्रकाशित मिति : असार ३, २०८१ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया