logo-img

उपप्रधानमन्त्रीसहित सरकारमा सहभागी हुन सिके राउतलाई प्रधानमन्त्रीको प्रस्ताव
पर्ख र हेरको अवस्थामा सिके

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनमत पार्टीका अध्यक्ष डा. सिके राउतलाई आफैँ सरकारमा सहभागी हुन आग्रह गरेका छन् । उनले उपप्रधानसहित कुनै मन्त्रालय लिएर सरकारमा सहभागी हुन राउतलाई प्रस्ताव गरेका हुन् । 

प्रधानमन्त्री प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली राउत स्वयं सरकारमा आऊन् भन्ने चाहन्छन् । राउत स्वयं सरकारमा आएको खण्डमा गठबन्धन अझै बलियो हुने उनीहरूको विश्वास छ । प्रतिनिधिसभामा जनमतका ६ सांसद छन् ।

यसअघि प्रचण्ड नेतृत्वको सरकारमा जनमत पार्टीका तर्फबाट अब्दुल खान र अनिता साह मन्त्री थिए । बाराको उपनिर्वाचनमा तत्कालीन गठबन्धनले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई समर्थन गर्दै विजयी गराएपछि राउत रुष्ट बनेका थिए । त्यसलगत्तै उनको पार्टी सरकारबाट बहिरिएको थियो ।  

२०७९ मंसिरको चुनावमा राउतले यादवलाई हराएका थिए । एकपटक आफूूसँग हारेको व्यक्तिलाई पुनः सत्ताको केन्द्रमा पुुर्याएको भन्दै राउत असन्तुष्ट बनेका थिए । अहिले यादव सरकारबाट बाहिरिएपछि उनको ठाउँमा सिके राउतलाई सरकारमा सहभागी गराउन प्रचण्डले प्रयास गरिरहेका छन् । 

मधेशकेन्द्रित दुई दल जसपा र जनमत अहिले मुख्य प्रतिस्पर्धी रुपमा देखिएका छन् । केन्द्रमा रहेका ठूला दलले यी दुई दललाई पालैपालो उपयोग गर्दै आएका छन् । केन्द्रमा प्रचण्ड सरकारलाई समर्थन गरेपछि जनमतले मधेशमा मुख्यमन्त्री पाइसकेको छ । 

प्रतिपक्षमा पुगेको कांग्रेसले भने जसपाका मुख्यमन्त्री सरोजकुमार यादवलाई नै समर्थन गरेको थियो । यादवले बहुमत जुटाउन नसकेपछि उनी नेतृत्वको सरकार ढलेको थियो । अहिले मधेशमा जनमतको नेतृत्वमा एमले–माओवादी–एकीकृत समाजवादीलगायतको संयुक्त सरकार छ । 



राष्ट्रपति रामचन्द्र पौडेल विदेश भ्रमणबाट फर्किएलगत्तै सरकारलाई पूर्णता दिने तयारीमा प्रधानमन्त्री दाहाल छन् । त्यसैकारण उनले राउतलाई उपप्रधानसहित कुनै मन्त्रालय लिएर सरकारमा सहभागी हुन प्रस्ताव गरेका हुन् । तर, जनमत पार्टीले यसबारे अहिलेसम्म कुनै निर्णय गरेको छैन । 

जनमतका अध्यक्ष राउत अहिलेसम्म सरकारमा सहभागी भएका छैनन् । उनले यसअघि पनि आफूू सरकारमा नगई अन्य सांसदलाई सरकारमा पठाएका थिए । 



प्रधानमन्त्री दाहालले आफ्नो पार्टीबाट सुरुदेखि मन्त्री बनेकाहरूलाई फिर्ता बोलाउने तयारी गरेका छन् । त्यसमध्ये उपप्रधानसहित परराष्ट्रमन्त्री रहेका नारायाणकाजी श्रेष्ठसमेत पर्छन् । राउतलाई उपप्रधानसहित सरकारमा बोलाउनुले श्रेष्ठले सम्हालेकै मन्त्रालय राउतलाई दिन लागेको चर्चा छ । 

तर, यस विषयमा सिकेले कुनै जवाफ दिएका छैनन् । उनी पर्ख र हेरको अवस्थामा रहेको बताइन्छ । 

  • प्रकाशित मिति : असार ३, २०८१ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया