logo-img

विश्वकपमा वेस्ट इण्डिजको लगातार चौथो जित, अफगानिस्तानलाई १०४ रनले हरायो

नवौँ संस्करणको आइसिसी टी–२० विश्वकप क्रिकेटअन्तर्गत समूह ‘सी’ को अन्तिम खेलमा आयोजक वेस्ट इण्डिजले अफगानिस्तानलाई १ सय ४ रनले हराएको छ । योसँगै समूह ‘सी’ बाट वेस्ट इण्डिज विजेताको रूपमा सुपर–८ मा पुग्यो ।

अफगानिस्तान समूह उपविजेताको हैसियतमा सुपर–८ मा प्रतिस्पर्धा गर्नेछ । समूह चरणको अन्तिम खेलमा  वेस्ट इण्डिजले दिएको २१९ रनको लक्ष्य पछ्याउनेक्रममा अफगानिस्तान १६.२ ओभरमा १ सय १४ रनमा अलआउट भयो ।

उसका लागि इब्राहिम जाद्रानले ३८, अजमातुल्लाह उमरजाईले २३, कप्तान राशिद खानले १८ र करिम जनतले १४ रन बनाए । वेस्ट इण्डिजका लागि ओबेद म्याक्योले तीन, गुडाकेश मोती र अकिल होसेनले दुई/दुई तथा आन्द्रे रसेल र अल्जारी जोसेफले एक/एक विकेट लिए ।

त्यसअघि सेन्ट लुसियास्थित डारेन स्यामी अन्तर्राष्ट्रिय मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको वेस्ट इण्डिजले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय १८ रन बनायो ।



उसका लागि विकेटकिपर निकोलस पूरनले विस्फोटक इनिङ खेले । ५३ बलको सामना गरेका उनले ८ छक्का र ६ चौकासहित ९८ रनको इनिङ खेलेका हुन् । उनी आज रनआउट भए । टी–२० आईमा पूरनको यो करियरकै उच्च स्कोर हो । यसअघि यो फर्म्याटमा उनको उच्च स्कोर ८२ रन थियो । 

यस्तै, अफगानिस्तानविरुद्ध जोनसन चार्ल्सले ४३, कप्तान रोभम्यान पावेलले २६, शाई होपले २५ र ब्रेण्डन किंगले सात रन जोडे । अफगानिस्तानका लागि गुलबन्दिन नाइबले दुई, अजमातुल्लाह उमरजाई र नवीन उलहकले एक/एक विकेट लिए । 



आजको खेलमा टिमका स्टार बलर राशिद खान र फजलहक फारुकी महँगा साबित भए । राशिदले चार ओभरमा बिनाविकेट ४५ रन दिए । उनले आफ्नो स्पेलको अन्तिम ओभरमा २४ रन खर्चिए ।  

यस्तै, जारी विश्वकपमा राम्रो लयमा रहेका फारुकीले आज तीन ओभरमा बिनाविकेट ३८ रन दिए । अजमातुल्लाह उमरजाईले एक विकेट लिए पनि उनले २ ओभरमा ४१ रन खर्चिए । उनको दोस्रो ओभरमा क्यारेबियन ब्याटरले ३६ रन बनाएका थिए । 

जारी विश्वकपमा वेस्ट इण्डिजले समूह चरणमा लगातार चार खेलमा जित निकाल्यो । अफगानिस्तानले चारमध्ये तीनमा जित र एक खेलमा हार बेहोर्‍यो । समूह ‘सी’ मै रहेको न्यूजिल्याण्डले चारमध्ये दुईमा जित र दुई खेलमा हारको सामना गर्‍यो ।

पहिलोपटक विश्वकप खेलेको युगान्डाले चारमध्ये तीनमा हार र एक खेलमा जित निकाल्यो । पपुवा न्यूगिनी (पिएनजी) ले भने एक खेल पनि जित्न सकेन । 

  • प्रकाशित मिति : असार ४, २०८१ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया