logo-img

आइएसएमटीको बदमासीमा शिक्षा मन्त्रालयको स्वीकृति
स्नातक तहमा निर्देशिकाले नचिन्ने कार्यक्रम सञ्चालन

इन्टरनेशनल स्कुल अफ म्यानेजमेन्ट एन्ड टेक्नोलोजी (आइएसएमटी) कलेजले अवैध रूपमा स्नातक तहमा डिप्लोमा कार्यक्रम सञ्चालन गर्ने गरेको पाइएको छ । स्नातक तहमा कलेजले विश्वविद्यालयको कार्यक्रम अध्यापन गराउनुपर्ने भए पनि डिप्लोमा पढाउने गरेको पाइएको हो । बेलायतको सन्डरल्यान्ड विश्वविद्यालयबाट सम्बन्धन लिएको आइएसएमटी कलेजले तीनवर्षे स्नातक तहका आइटी कार्यक्रममा दुई वर्ष पियर्सनकाे 'बिटेक एचएनडी’ डिप्लोमा कार्यक्रम अध्यापन गराउने गरेको छ ।

कलेजले तीनवर्षे स्नातक तहमा दुई वर्ष डिप्लोमाका कार्यक्रम अध्यापन गराउने र त्यसलाई क्रेडिट ट्रान्सफरमार्फत ‘टप अप’ गरेर बाँकी रहेको एक वर्ष विश्वविद्यालयको कार्यक्रम अध्यापन गराई स्नातक तह पूरा गराउने गरेको तथ्य फरकधार फेलापारेको छ, जुन गर्न पाइँदैन । स्नातक र त्योभन्दा माथिल्ला तहका कार्यक्रम सञ्चालन गर्न अनुमति लिएका कलेजले विश्वविद्यालयकै पाठ्यक्रम अध्यापन गराउनुपर्ने हुन्छ ।

‘विदेशी शिक्षण संस्थाको सम्बन्धनमा उच्च शिक्षा सञ्चालन गर्नेसम्बन्धी निर्देशिका २०५९’ले डिप्लोमा कार्यक्रमलाई नचिन्ने भएका कारण स्नातक तहमा विश्वविद्यालयकै कार्यक्रम सञ्चालन गर्नुपर्ने अन्तर्राष्ट्रिय शिक्षा प्रदायक संस्था (आइप्यान)का नाम उल्लेख गर्न नचाहने एक पदाधिकारीले बताए । स्नातक तहको अध्यापन गराउँछु भनेर शिक्षा मन्त्रालयबाट सञ्चालन अनुमति लिएका संस्थाले विश्वविद्यालयकै कार्यक्रम सञ्चालन गर्नुपर्ने उनको भनाइ छ । सन् २०१६ पछि विदेशी सम्बन्धन प्राप्त कलेजमा डिप्लोमा कार्यक्रम बन्द गरिएको उनले बताए ।

विदेशमा दुई वर्ष डिप्लोमा अध्ययन गरेर तेस्रो वर्ष विश्वविद्यालयको कोर्स अध्ययन/अध्यापन गराउने प्रचलन रहे पनि नेपालमा विदेशी शिक्षण संस्थासम्बन्धी निर्देशिकाले उक्त कार्यलाई रोक लगाएका कारण डिप्लोमा कार्यक्रम सञ्चालन गर्न नपाइने उनको भनाइ छ । ​निर्देशिकामा डिप्लोमासम्बन्धी कुनै कुरा उल्लेख गरिएको छैन । निर्देशिकामा स्नातक र स्नाकोत्तर तहका कार्यक्रमको बारेमा उल्लेख गरेकाले निर्देशिकाले डिप्लोमालाई समेटेको छैन । यही निर्देशिकाको आधारमा नै अन्य विदेशी सम्बन्धन प्राप्त कलेजले विश्वविद्यालयका कार्यक्रम सञ्चालनमा ल्याएका छन् ।

सन् २०१६ भन्दा पहिला अन्य विदेशी सम्बन्धनप्राप्त कलेजले पनि डिप्लोमा सञ्चालन गर्ने गरेका थिए । तर, पछि शिक्षा मन्त्रालयले विदेशी सम्बन्धन प्राप्त शिक्षण संस्थासम्बन्धी निर्देशिका जारी गरेपछि डिप्लोमा कार्यक्रम बन्द भएका हुन् ।

विदेशी सम्बन्धनप्राप्त कलेजले विश्वविद्यालयका कार्यक्रम अध्यापन गराउँदा त्यसको लागत धेरै हुने र डिप्लोमा अध्यापन गराउँदा कलेजलाई खर्च कम लाग्ने भएकाले विद्यार्थीलाई भ्रममा पारेर डिप्लोमा कार्यक्रम अध्यापन गराउने गरिन्छ । विश्वविद्यालयको कार्यक्रम लागू गर्दा नाफा कम हुने भएपछि आइएसएमटीले आफ्नो फाइदाका लागि विद्यार्थीलाई स्नातक तहको कोर्स भन्दै डिप्लोमा पढाउने गरेको छ ।



कलेजले डिप्लोमा कोर्स अध्यापन गराए पनि विद्यार्थीबाट भने विश्वविद्यालयसरहको शुल्क असुल्ने गरेको छ । विश्वविद्यालयको कार्यक्रम सञ्चालन गर्दा विश्वविद्यालयलाई धेरै पैसा पठाउनुपर्ने र आम्दानी कम हुने भएपछि कलेजहरूले कम खर्चमा डिप्लोमा कार्यक्रम ल्याउने र विद्यार्थीबाट धेरै शुल्क असुल्ने गर्छन् । 

निर्देशिकाले नचिन्ने कार्यक्रम सञ्चालन गर्न मन्त्रालयको स्वीकृति !



आइएसएमटी कलेज काठमाडौंले ‘विदेशी शिक्षण संस्थाको सम्बन्धनमा उच्च शिक्षा सञ्चालन गर्नेसम्बन्धी निर्देशिका २०५९’ले नचिन्ने ‘पियर्सन बिटेक’ यूकेको सम्बन्धन लिएर डिप्लोमा कार्यक्रम सञ्चालन गरिरहेको देखिन्छ, जसलाई शिक्षा मन्त्रालयले पनि साथ दिएको छ ।

शिक्षा मन्त्रालयले गत चैत ८ गते सार्वजनिक गरेको विदेशी सम्बन्धन प्राप्त कलेजहरूको विवरणमा कलेजले कहाँबाट सम्बन्धन लिएका छन् भन्ने कुरा उल्लेख छ । मन्त्रालयले सार्वजनिक गरेको कलेजहरुको उक्त विवरणको २३औँ नम्बरमा रहेको आइएसएमटी कलेज काठमाडौंले बेलायतबाट ‘पियर्सन बिटेक’ कार्यक्रमको सम्बन्धन लिएको देखिन्छ । जसलाई शिक्षा मन्त्रालयले स्वीकृति दिएको पाइएको छ ।

यो विवरणले निर्देशिकाले नै नचिन्ने डिप्लोमा कार्यक्रम सञ्चालन गर्ने अनुमति कलेजलाई शिक्षा मन्त्रालयले कसरी दियो ? भन्ने प्रश्न खडा भएको छ ।

मन्त्रालयको गोलमटोल जवाफ

शिक्षा मन्त्रालयले विदेशी सम्बन्धनप्राप्त कलेजले डिप्लोमा कोर्स सञ्चालन गर्न पाउँछन् कि पाउँदैनन् ? भन्ने फरकधारको प्रश्नमा गोलमटोल जवाफ दिने गरेको छ ।

मन्त्रालयको उच्च शिक्षा शाखाका सहसचिव परशु तिवारीले निर्देशिका जारी हुनुभन्दा पहिला नै डिप्लोमा अध्यापन गराउने अनुमति लिएको देखिए पनि अहिले कसैले पनि डिप्लोमा कार्यक्रम सञ्चालन गर्न नपाउने बताए । उनका अनुसार निर्देशिकामा पहिला लिएकालाई हटाउने नियम नभएकाले उनीहरूले डिप्लोमा कार्यक्रम सञ्चालन गरिरहेका छन् ।

निर्देशिकामा डिप्लोमा कार्यक्रमलाई क्रमशः फेजआउट गर्ने भनेर उल्लेख गरेको भए निर्देशिका जारी भएपश्चात् यो नियम लागू हुन्थ्यो, तर उक्त कार्यक्रम हटाउने विषयमा डिप्लोमामा कुनै कुरा उल्लेख नभएकाले केही कलेजले डिप्लोमा अहिले पनि सञ्चालन गरिरहेको उनले जानकारी दिए । उनले भने, ‘निर्देशिका आएपछि तिनीहरूलाई हटाउने भनेर निर्देशिकाले नलेखेपछि ती चलिरहन्छन् । मैले बुझेको यत्ति हो ।’ 

तर, सहसचिव तिवारीले भनेको कुरा निर्देशिका अनुसार मेल खाँदैन । निर्देशिकाको परिच्छेद ७ को १७ नम्बर बुँदामा निर्देशिका जारी हुनुभन्दा अघि सञ्चालनमा रहेका शिक्षण संस्थाले निर्देशिका जारी भएको ६ महिनाभित्र मन्त्रालयबाट निर्देशिकाअनुसार अनुमति लिनुपर्ने उल्लेख गरिएको छ ।

निर्देशिकाको परिच्छेद ७ को बुँदा १७ मा लेखिएको छ, ‘यो निर्देशिका प्रारम्भ हुनुभन्दा अघिदेखि कुनै विदेशी विश्वविद्यालय वा शिक्षण संस्थाबाट सम्बन्धन लिएर नेपालमा उच्च माध्यमिक तह वा सोभन्दा माथिल्लो तहको शिक्षण संस्था सञ्चालन गरेको भए यो निर्देशिका प्रारम्भ भएको मितिले ६ महिनाभित्र मन्त्रालयबाट अनुमति लिइसक्नुपर्नेछ । सोबमोजिम निर्धारित अवधिभित्र अनुमति नलिएका शिक्षण संस्था स्वतः बन्द भएको मानिनेछ ।’

उक्त बुँदाको अर्थ निर्देशिका जारी भएको ६ महिनाभित्र निर्देशिकाबमोजिम मन्त्रालयबाट अनुमति नलिए स्वतः शिक्षण संस्था बन्द हुन्छन् । निर्देशिकाले स्नातक र स्नातकोत्तर तहका कार्यक्रमलाई मात्र चिन्ने भएकाले आइएसएमटी कलेजले सञ्चालन गरिरहेको डिप्लोमा कार्यक्रम अवैध छ । निर्देशिका जारी हुनुभन्दा पहिला विदेशी विश्वविद्यालय वा शिक्षण संस्थाबाट सम्बन्धन लिएर सञ्चालनमा रहेका शिक्षण संस्थाले निर्देशिका जारी भएको ६ महिनाभित्र मन्त्रालयबाट अनुमति लिनुपर्ने भन्नुको अर्थ निर्देशिकाबमोजिम सञ्चालन अनुमति लिनू भन्ने नै हो । तर, कलेजले सम्बन्धित निकाय र त्यहाँका कर्मचारीलाई प्रभावमा पारेर निर्देशिकालाई अटेरी गरेर विद्यार्थीलाई स्नातक तहको नाममा डिप्लोमा कार्यक्रम अध्यापन गराउने गरेको देखिन्छ ।

डिप्लोमा कार्यक्रम आइएसएमटीका अन्य शाखामा पनि

आइएसएमटीका नाममा काठमाडौं, चितवन, पोखरा, बुटवल र विराटनगरमा गरी चारवटा शाखा कलेज चलेका छन् । कुनै पनि शिक्षण संस्थाले आफ्नो शाखा विस्तार गर्न पाउने कानुनी प्रावधान नेपालमा छैन । तर, आइएसएमटीले कानुनी छिद्रको दुरुपयोग गरेर शाखा कार्यालयहरू विस्तार गरेको छ । उक्त कलेजले सुरुको नाम एउटै राखेको छ भने पछाडि जुन ठाउँमा कलेज रहेको छ त्यस ठाउँको नाम राखेर कलेजका शाखा विस्तार गरेको छ । शिक्षा मन्त्रालयका कर्मचारी पनि यो कानुनमाथि गरिएको बठ्याइँ हो भन्नेमा सहमत छन् । 

कलेजले सबै शाखाका लागि एउटै वेभसाइट निर्माण गरेकाले पनि यी कलेज यसकै शाखा हुन् भन्नेमा दुई मत छैन । यो कलेजले शाखा कार्यालय मात्रै विस्तार गरेको छैन । एउटा शाखाका लागि अनुमति लिएको कार्यक्रम अर्काे शाखामा सञ्चालन गर्ने गरेको छ । जुन गर्न पाइँदैन । किनभने आइएसमटी नाम गरेका कलेजलाई शिक्षा मन्त्रालयले शाखा कलेजका रूपमा नभई छुट्टाछुट्टै कलेजका रूपमा चिन्ने गर्छ । शिक्षण संस्थाको शाखा विस्तार गर्न नपाइने भएका कारण शिक्षा मन्त्रालयले यी सबैलाई भिन्नाभिन्नै रूपमा चिन्ने गर्छ । 

आइएसएमटीका चारवटै शाखाले सञ्चालन अनुमतिदेखि कार्यक्रम सञ्चालनका लागि पनि छुट्टाछुट्टै अनुमति लिनुपर्ने हुन्छ । तर, यो कलेजले एक ठाउँका लागि सञ्चालन स्वीकृति लिएको कार्यक्रमलाई अन्य शाखा कलेजमा पनि सञ्चालन गर्ने गरेको छ ।

त्यसको एउटा बलियो प्रमाण ‘आइएसएमटी कलेजको बदमासीःसञ्चालन अनुमति नै नपाएको एमबिए कार्यक्रममा विद्यार्थी भर्ना’ शीर्षकमा फरकधारले यसअघि प्रकाशन गरेको समाचार पनि हो । फरकधारले उक्त शीर्षकमा समाचार प्रकाशन गरेपछि कलेजले आफ्नो फेसबुक पेजबाट समेत एमबिए कार्यक्रम हटाएको छ ।यसैगरी डिप्लोमा कार्यक्रमलाई पनि यो कलेजले आफ्ना शाखा कलेजमा समेत सञ्चालन गर्ने गरेको छ । आइएसएमटी पोखराले पियर्सनको डिप्लोमा कार्यक्रम पढाउने गरेको तथ्य फरकधारले प्राप्त गरेको छ ।

मन्त्रालयले सार्वजनिक गरेको विवरण हेर्दा आइएसएमटी काठमाडौंले मात्रै ‘पियर्सन बिटेक’ कार्यक्रमको सम्बन्धन लिएको देखिन्छ । तर, उक्त कार्यक्रमलाई आइएसएमटीका अन्य शाखाले पनि सञ्चालन गरिरहेका छन् । हामीले यस विषयमा सोधखोज गर्दा आइएसएमटी पोखराले पनि पियर्सनको डिप्लोमा कार्यक्रम सञ्चालन हुने कुरा स्वीकार गरेको छ ।

विदेशी सम्बन्धनप्राप्त कलेजले कुनै पनि विषयको अध्यापन गराउन वा विषय थप गर्न शिक्षा मन्त्रालयबाट स्वीकृति लिनुपर्ने हुन्छ । तर, शिक्षा मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकमा आइएसएमटी पोखराले उक्त कार्यक्रम सञ्चालनका लागि मन्त्रालयबाट स्वीकृति पाएको देखिँदैन ।

‘विदेशी शिक्षण संस्थाको सम्बन्धनमा उच्च शिक्षा सञ्चालन गर्नेसम्बन्धी निर्देशिका २०५९’को परिच्छेद ७ को दफा ६ अनुसार अनुमतिप्राप्त विषय र तहभन्दा अन्य विषय वा तह वा शाखा थप गर्नुपरेमा पुनः उक्त तह र विषय सञ्चालन गर्न वा शाखा थप गर्न शिक्षा मन्त्रालयबाट स्वीकृति लिएर मात्र सञ्चालन गर्नुपर्ने उल्लेख छ ।

शिक्षा मन्त्रालय र सम्बन्धित शाखा विदेशी सम्बन्धन प्राप्त कलेजहरूमा भएका यस्ता विकृतिका विषयमा जानकार भए पनि अख्तियारप्राप्त निकाय नै मौन बसिदिँदा विदेशी डिग्री उपलब्ध गराउने नाममा विद्यार्थी र अभिभावकबाट मनलाग्दी रकम असुल्न पल्केका यस्ता कलेजहरूको मनोमानी दिन–प्रतिदिन बढ्दै गइरहेको छ ।

कलेजले दिएन जवाफ

कलेजले स्नातक तहको कार्यक्रमको नाममा डिप्लोमा कोर्स सञ्चालन गरिरहेको तथ्य र जानकारी हामीले प्राप्त गरेपछि यस विषयको सत्य तथ्य बुझ्न कलेजमा सम्पर्क गरेका थियौँ ।

आइएसएमटी कलेज काठमाडौंको सम्पर्क नम्बर ०१–४११२१२२ मा फोन गरेर उक्त विषयमा कुराकानी गर्नुपर्ने आवश्यक रहेको भन्दै कलेजका प्रिन्सिफल ध्रुवबाबु जोशीको सम्पर्क नम्बर मागेका थियौँ । तर, हामीलाई फोन नम्बर दिन नमिल्ने भन्दै इमेल ठेगाना दिई सोहीमार्फत सम्पर्क गर्न आग्रह गरिएको थियो ।

त्यसपछि हामीले इमेलमार्फत कलेजका प्रिन्सिपल जोशीसँग डिप्लोमा कार्यक्रमको सत्य–तथ्य के हो त्यसको जानकारी दिन आग्रह गरेका थियौँ । तर, प्रिन्सिपल जोशीले हालसम्म हाम्रो मेलको जवाफ फर्काएका छैनन् ।

र, याे पनि...

समाचारमा आएपछि आइएसएमटीले फेसबुक पेजबाट हटायो एमबिए कार्यक्रम

 शिक्षाको नाममा व्यापारः आइएसएमटीका विराटनगर, पाेखरा र चितवनका कलेज गैरकानुनी

आइएसएमटी कलेजमा विद्यार्थीले मागे हर्टफोर्डसायरको सम्बन्धन पत्र, प्रशासनले दिन सकेन

आइएसएमटीका पोखरा र चितवन शाखालाई शिक्षा मन्त्रालयले नै दिएको छैन स्वीकृति

विद्यार्थीलाई अन्योल र भ्रममा राख्दै, गलत सूचना दिएर शिक्षाको व्यापार गर्दैछ आइएसएमटी कलेज

  • प्रकाशित मिति : असार ४, २०८१ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया