logo-img

रोहितसँग विवाद गर्ने तान्जिमलाई आइसिसीको कारबाही

जारी आइसिसी टी–२० विश्वकप क्रिकेटअन्तर्गत नेपालसँगको खेलमा विवाद गर्ने बंगलादेशी तीव्र गतिका बलर तान्जिम हसन सकिबलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले कारबाही गरेको छ ।

बुधबार भएको उक्त खेलमा आचारसंहिता उल्लंघन गरेको भन्दै उनलाई आइसिसीले कारबाही गरेको हो । तान्जिमले अब आफ्नो म्याच फिको १५ प्रतिशत जरिवाना तिर्नुपर्नेछ ।

आचारसंहिताको २.१२ को व्यवस्था खेलाडी, उनीहरूका सहयोगी, अम्पायर, म्याच रेफ्री वा दर्शकसँग अन्तर्राष्ट्रिय खेलका दौरान अस्वाभाविक शारीरिक स्पर्शसँग सम्बन्धित छ । मैदानमा रहेका आइसिसीका अम्पायरद्वय अहसन राजा र साम नोगाज्स्कीसँगै तेस्रो अम्पायर जयरामन मदनगोपाल र चौथो अम्पायर कुमार धर्मसेनाले तान्जिमलाई उक्त कारबाही गर्नुपर्ने ठहर गरेका थिए । 

तान्जिमले पनि आफूले गरेको गल्ती महसुस गरेको र आइसिसीको कारबाही स्वीकारेको बताइएको छ । अम्पायर रिची रिचार्डसनले तन्जिमविरुद्ध कारबाही सिफारिस गरेका थिए । बंगलादेशले दिएको लक्ष्य पछ्याउनेक्रममा तेस्रो ओभरमा उक्त घटना भएको थियो ।

तान्जिमले नेपाली कप्तान रोहितकुमार पौडेलसँग अनावश्यक विवाद गरेका थिए । ओपनर कुशल भुर्तेललाई ४ रनमा बोल्ड र अनिलकुमार साहलाई शून्यमा क्याच आउट गर्दै उनले डबल विकेटमेडन राखेका थिए । त्यसपछि तान्जिमले पिचको मध्य भागमा आएर रोहितलाई केही भने ।

लगत्तै रोहितले आक्रोशित भावमा उनलाई जवाफ फर्काए । तान्जिमले रोहितलाई हातले धक्कासमेत दिएका थिए । त्यसपछि तान्जिमलाई लिटन दास र रोहितलाई आसिफ शेखले थप झगडा गर्नबाट रोके । 



उक्त घटनालगत्तै अम्पायरले बंगलादेशका कप्तान नाजुमल हसन सान्तोलाई बोलाएर केही भनेका थिए । रोहितसँग अनावश्यक विवाद गर्न खोजेको भन्दै समर्थकले सामाजिक सञ्जालमा तान्जिमको चर्को आलोचना गरिरहेका छन् । यद्यपि रोहितले भने उनीसँग खासै ठूलो विवाद नभएको प्रतिक्रिया दिए । ‘त्यो समयमा तान्जिमले मलाई आफ्नो बलमा रन जोड्न भने । अनि मैले जाऊ बलिङ गर भनेको थिए । अरू त्यस्तो केही भएको होइन’, रोहितले खेल सकिएपछि त्यसबारे प्रष्ट पारे  ।

तान्जिम र रोहित भिडेको खेलमा नेपाल २१ रनले पराजित भयो । उक्त खेलमा तान्जिमको बलमा रोहित एक रनमा क्याच आउट भए ।  ​तान्जिमकै घातक बलिङका कारण पनि बंगलादेशले दिएको १०७ रनको लक्ष्य पछ्याएको नेपाल १९.२ ओभरमा ८५ रनमै अलआउट भयो ।



नेपाल विश्वकपमा दोस्रोपटक बंगलादेशसँग पराजित भएको हो । सन् २०१४ को विश्वकपमा बंगलादेशसँग नेपालले ८ विकेटको पराजय बेहोरेको थियो । 

  • प्रकाशित मिति : असार ५, २०८१ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया