logo-img

बजेट पुनर्लेखन नभएसम्म सदन चल्न नदिने कांग्रेसको अडान

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधपछि कर्णाली प्रदेशसभाको बैठक स्थगित भएको छ ।

कर्णाली प्रदेशसभाको आजको बैठकको सुरुमा नेपाली कांग्रेस प्रदेशसभा दलका प्रमुख सचेतक हिक्मतबहादुर विष्टले सरकारले ल्याएको बजेटमा आवश्यक संशोधन तथा उठाएका विषयको जवाफ आउनुपर्ने धारणा राखे । 

कांग्रेसको धारणापछि जवाफका लागि आर्थिक मामिला तथा योजनामन्त्री महेन्द्र केसी रोष्ट्रममा पुग्नेबित्तिकै कांग्रेस प्रदेशसभा सदस्यले बैठक अवरुद्ध गरे । 

सरकारका मन्त्रीले जवाफ दिइरहँदा र सभाको कामकारबाही चलिरहेका बेला बैठक अवरोध गर्नु प्रदेशसभा नियमावलीविपरीत हो भन्दै सभामुख नन्दा गुरुङले नियमापत्ति मात्र जनाउन पाइने, तर अवरोध गर्न नपाइने जिकिर गरिन्, तर पनि कांग्रेसले आफ्नो अडान छाडेन । 

त्यसैबीच, सत्तापक्षका प्रदेशसभा सदस्य विन्दमान विष्टले प्रतिपक्षी दल नेपाली कांग्रेसले कर्णाली प्रदेशसभा नियमावली २०७४ को नियम २१ को दफा ६ र २२ को दफा ‘च’ अनुसार नियम उलंघन गरेको भन्दै नियमापत्ति जनाए । 

कांग्रेस प्रदेशसभा सदस्य बेदराज सिंहले सत्तापक्षका सदस्यले प्रदेशसभा नियमावलीको नियम ‘च’ देखाएर प्रतिपक्षीलाई नधम्क्याउन चेतावनी दिए । उनले भने, 'दलीय धारणा राख्न पाइन्छ, त्यही व्यवस्थाबमोजिम आफ्नो अधिकार प्रयोग गरेका छौँ । अबण्डा रकम राख्न पाइन्न, समपूरक र विशेष अनुदान छुटेका क्षेत्रमा सशर्त अनुदानमार्फत सम्बोधन हुनुपर्दछ ।' 



सरकारले जवाफमा अट्काउनभन्दा दस्ताबेजीकरण गरेर आफ्ना माग सम्बोधन गर्न आग्रह उनले गरे । 

बजेट पुनर्लेखन नभएसम्म सदनका कुनै पनि कारबाही अगाडि बढ्न नसक्ने कांग्रेसको अडानपछि सभामुख गुरुङले आधा घण्टाका बैठक स्थगित भएको सूचना गरिन् ।



  • प्रकाशित मिति : असार ५, २०८१ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया