logo-img

पर्सामा मिटरब्याजसम्बन्धी ५५ प्रतिशत मुद्दा टुंगियो

पर्सामा अनुचित लेनदेन (मिटरब्याज)सम्बन्धी ५५ दशमलव ५० प्रतिशत उजुरी टुंगिएको छ । साहुकर र अनुचित लेनदेनपीडितबीच जिल्लाभरिमा नौ सय ५८ वटा उजुरी टुंगो लागेको हो । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार अझै एक हजार एक सय ९५ वटा उजुरी भने सम्बोधन हुन बाँकी छ ।

यसअघि जिल्ला प्रशासन कार्यालय पर्साले पाँच सय सातवटा उजुरी टुंग्याएको थियो । त्यस्तै, जिल्ला प्रहरी कार्यालयले आफू मातहत उजुरी आउन थालेपछि पनि सात सय ३१ वटा उजुरीलाई टुंगो लगाइसकेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक दीपक भारतीले साहुकर र अनुचित लेनदेन पीडितबीच मेलमिलापका माध्यमबाट अधिंकाश मुद्दा टुंग्याउँदै आइरहेको बताए । ‘जिल्ला प्रशासन कार्यालयबाट अनुचित लेनदेनसँग सम्बन्धित उजुरी पर्सा प्रहरीमा आएसँगै सात सय ३१ वटा उजुरी टुंगो लगाएका छौँ,’ उनले भने, ‘दिनहुँजसो दुवैपक्षसँग छलफल गरेर उजुरीलाई टुंगोमा पुर्याउने काम भइरहेको छ ।’

गत माघ १७ गते जिल्ला प्रशासन कार्यालय पर्साबाट एक हजार छ सय ५५ वटा अनुचित लेनदेनसँग सम्बन्धित उजुरी प्रहरीमा आएको थियो । त्यस्तै, जिल्ला प्रहरी कार्यालयमा पनि थप चार सय ९८ वटा उजुरी परेको थियो । प्रहरीले गत माघ २४ गतेदेखि अनुचित लेनदेनसँग सम्बन्धित उजुरी लिन थालेको थियो । 

नायब उपरीक्षक भारतीले मिटरब्याजसँग सम्बन्धित विषय सामाजिक अपराध भएकाले पनि प्रहरीले दुवै पक्षलाई राखेर सकेसम्म मेलमिलापबाटै उजुरीलाई टुंगो लगाउँदै आइरहेको बताए । 

‘वर्षौंदेखि झेलिँदै आइरहेको समस्या भएकाले पनि साहुकर र अनुचित लेनदेन पीडितबीच पटकपटकको छलफलपछि मात्रै यस्ता किसिमका उजुरीलाई टुंगो लगाउन सकिएको छ,’ उनले भने । 



साहुकरले ऋणीबाट २४ करोड ७६ लाख ९६ हजार  आठ सय ३० बराबरको रकम बिगो दाबी गरेका छन् । तीमध्ये पर्सा प्रहरीका अनुसार मेलमिलापबाट १३ करोड ४३ लाख  ७६ हजार एक सय ३९ रकमको बिगो टुंगो लागेको छ । 

अनुचित लेनदेनसँग सम्बन्धित पाँचवटा मुद्दा भने जिल्ला अदालत पर्सामा दर्ता भएका छन् । प्रहरीले साहुकरबाट अनुचित लेनदेन पीडितलाई १५ बिघा १६ कट्ठा २४ धुर जग्गा फिर्ता गराएको छ । 



  • प्रकाशित मिति : असार ६, २०८१ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया