logo-img

कांग्रेस अहिले सरकारमा नगए आगामी निर्वाचनमा एकल बहुमत आउँछ : महामन्त्री थापा

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी निर्वाचनसम्म कांग्रेस सरकारमा जान नहुने धारणा व्यक्त गरेका छन् । नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ६ प्रदेश (१)ले आयोजना गरेको ‘दोस्रो प्रदेशसभा क्षेत्रीय सम्मेलन, २०८१’को उद्घाटन गर्दै उनले कांग्रेस प्रतिपक्षमै बसेर सरकार भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए । 

‘पार्टीभित्र प्रेमपूर्ण सम्बन्ध, प्रष्टता र प्रतिबद्धताको आवश्यकता छ, यसलाई पूर्णरुपमा कार्यान्वयन गरेर आगामी निर्वाचनमा कांग्रेसलाई ४० प्रतिशत मतसहित एकल बहुमतको सरकार बनाउने अवस्थामा पुर्‍याउन सकिन्छ,’ उनले भने । 

महामन्त्री थापाले यही असारभित्र  महासमिति बैठक बसेर पार्टीलाई अगाडि बढाउनेबारे  बृहत छलफल गरिने बताए । उनले निर्वाचनमा पार्टीको उम्मेदवार चयन गर्ने प्रक्रिया परिवर्तन गर्न जरुरी रहेको उल्लेख गरे । ‘निर्वाचनका लागि उम्मेदवार छान्न पार्टीभित्रका क्रियाशिल सदस्यले भोट गर्ने व्यवस्था बनाउनुपर्छ,’ उनले भने । 

उनले पार्टीभित्र प्रेमपूर्ण सम्बन्ध भएका कारण विस ०४८ सालमा कांग्रेस एक्लैले बहुमत प्राप्त गरेको स्मरण गरे । पार्टीभित्र गुट, उपगुटको अन्त्य गर्न जरुरी रहेको उनको भनाइ थियो । 

महामन्त्री थापाले केन्द्रमा कांग्रेसको सरकार नभए पनि तीन सय ३२ स्थानीय तहमा कांग्रेसको सरकार भएकाले जनताका लागि काम गर्न आग्रह गरे । ‘कांग्रेस केन्द्रमा प्रतिपक्षमा छ, हामी प्रतिपक्षमै बस्नुपर्छ, सरकारलाई ठीक ठाउँमा उभ्याउने काम कांग्रेसको हो,’ उनले भने । 

उनले आगामी निर्वाचनअघि संविधानमा भएका केही कुराहरु संशोधन गरेर अगाडि बढ्नुपर्ने धारणा राखे । ‘प्रदेशहरु अदालतबाट चल्दै आएको अवस्था छ, प्रदेश र केन्द्रका मन्त्रीहरु घटाउनुपर्छ, संविधानमा संशोधन गरेर अगाडि बढ्नुपर्छ,’ महामन्त्री थापाले बताए । उनले नेता तथा कार्यकर्तालाई नागरिकसँग जोड्ने कार्यक्रम ल्याउनुपर्ने उल्लेख गरे ।    



पार्टीका केन्द्रीय सदस्य प्रदीप पौडेलले काठमाडौंको संगठन बलियो हुँदा देशभरको पार्टी संगठन बलियो हुने बताए । ‘काठमाडौंको संगठनले देशभरलाई दिशानिर्देश गर्न सके पार्टी मजबुद बन्छ,’ उनले भने । भ्रष्टाचारविरुद्ध कांग्रेस सशक्त भएर उभिनुपर्ने उनको भनाइ छ ।

नेता पौडेलले जनताका विषयलाई एजेण्डा बनाएर कांग्रेस अगाडि बढ्नुपर्ने बताए । ‘एजेण्डामा धनी पार्टी नै लोकप्रिय हुन्छ, हामीले कांग्रेसलाई लोकप्रिय पार्टी बनाउनुपर्छ,’ नेता पौडेलले भने । क्रियाशील सदस्य वितरण शैलीमा कांग्रेसले परिवर्तन गर्न जरुरी रहेको उनको भनाइ थियो । 



  • प्रकाशित मिति : असार ८, २०८१ शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया