logo-img

शिवपुरीको लौके झरनामा थपिँदै पूर्वाधार, बढ्यो आन्तरिक पर्यटकको संख्या

गोठाला र घाँसीहरूले गीत गाउँदै हिँड्ने छहरेको वन र झरनामा जान पहिला–पहिला निकै कठिन हुन्थ्यो । घारीको बाटोमा काँढा बिझ्ने, जुका लाग्ने र खोल्सीहरूमा फसिने जोखिम हुन्थ्यो ।

भिरबाट लडिने डरले मानिस गोठालो–घाँस–दाउरा र पानी लगाउन जाँदा एक्लै हिँड्दैनथे । अहिले पदमार्ग बनेपछि छहरे खोलामा बग्ने लौका आकारको सुन्दर झरनासम्म पुग्न ज्येष्ठ नागरिक र बालबालिकलाई पनि सहजता मिलेको छ । साथै यहाँ आन्तरिक पर्यटकको घुइँचो लाग्न थालेको छ ।

काठमाडौं, विदुर वा अन्य शहरका उकुसमुकुसलाई मेटाउने नजिकको सुन्दर प्राकृतिक गन्तव्यस्थलमा पूर्वाधार विकास भएपछि आक्कलझुक्कल गाउँ बस्ने र अरु बेला सहर बस्ने स्थानीयवासी पनि झरनाको सौन्दर्य र विकासको नयाँ उपक्रमलाई नजिकबाट नियाल्न झर्नामा पुग्न थालेका छन् ।

गाउँलेहरूको त्यो उत्साह शनिबारको पदमार्ग उद्‍घाटनको कार्यक्रममा देखिएको थियो । खेतिपातीका काम छाडेर स्थानीयवासी आफ्नै जीवनकालमा त्यो भिरपाखामा देखिएको आधुनिक विकासको निर्माता र साक्षी हुन पाएका छन् । त्यसैले होला, उनीहरू असारे पानीको पर्वाह नगरी झरना क्षेत्रमा जम्मा भएका देखिन्थे । नव प्रशिक्षित महिला बाजा समूहको पञ्चेबाजाको प्रस्तुतिले वारिपारि डाँडाकाँडा गुञ्जायमान त भएकै थियो । झरना र दहमा पुग्नेहरूले सुसेलीका भाका पनि हाल्न भ्याएका थिए ।

‘त्यस्तो भिरमा के लगानी गरेका होलान् ?’ शिवपुरी गाउँपालिका–८ को माथिल्लो ढोडिनीबाट सानो छहरे र ठूलो छहरे (लौके) झरनासम्मको पदमार्ग निर्माणका लागि बजेट विनियोजन गर्दा नुवाकोटको जनप्रतिनिधिमाथि यस्ता प्रश्न नआएका होइनन् । गाउँपालिकाको कटिबद्धता, विभिन्न निकायको सहयोग र जनश्रमदानका कारण छोटो अवधिमै पदमार्गमा ढलान र आवश्यक सिँढीहरू निर्माण सम्पन्न भई यात्रीका लागि विश्रामस्थल पनि बनेपछि त्यस्ता प्रश्न आफैँ फिक्का सावित भएका छन् ।

शिवपुरी गाउँपालि–८  र ककनी गाउँपालिका–५ को सिमानामा पर्ने ठूलो छहरे (लौके) झरना जान अहिले काठमाडौं–टोखा छहरे सडकबाट निकै सहज भएको छ । काठमाडौं–टोखा छहरे सडकको स्तरोन्नति र कालोपत्रपछि काठमाडौँ–विदुर र अन्य स्थानबाट उक्त सडक प्रयोगको क्रम बढेको छ । यस पर्यटकीयस्थलमा पूर्वाधार विकासपछि आन्तरिक र बाह्य पर्यटक वृद्धि हुने ठानिएको छ । 



वन र भिरको बीच भागमा रहेको सानो छहरे र ठूलो छहरे झरनामा करिब १० वर्षअघि नेपाल क्यानोनिङ सङ्घबाट क्यानेनिङ सञ्चालन गरिएपछि यसको पर्यटकीय पहिचान उजागर भएको थियो । अहिले पदमार्ग र विश्रामस्थलको निर्माणले झरनाप्रति थप आकर्षण बढेको छ ।

नवनिर्मित पदमार्ग र विश्रामस्थलको गाउँपालिकाका अध्यक्ष गोविन्द थपलियाले शनिबार उद्घाटन गरिरहँदा स्थानीय र आन्तरिक पर्यटकको एक प्रकारले लर्को लागेको थियो । 



सोही क्रममा ‘छहरे झरना पर्या–पर्यटन प्रवर्द्धन संस्था’को पनि उद्घाटन भएकाले यसप्रति स्थानीयवासीको चासो बढेको छ । काठमाडौंबाट माथिल्लो ढोडिनीसम्मको सडकमार्गको दूरी २९ किलोमिटर रहेको छ भने टोखा छहरे सडकबाट घट्टेखोलाबाट सानीपिपल हुँदै तीन किलोमिटर सडकबाट ढोडिनी पुग्न सकिन्छ । 

अहिले ढोलिनीसम्म चारपाङ्ग्रे सवारीसाधन पुग्ने बाटो बनिसकेको छ । ढोडिनीबाट झरनासम्म ८ सय मिटर पदमार्ग निर्माण गरिएको हो । रासस 

  • प्रकाशित मिति : असार ९, २०८१ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया