logo-img

मैदान फर्किन क्यानको निर्णय कुर्दै आदिल आलम, पाउलान् त खेल्न ?
तस्बिर : क्यान

१० वर्षपछि आइसिसी टी–२० विश्वकप खेलेको नेपाली टिमको लक्ष्य यसपालि सुपर–८ थियो । तर, नेपाल लक्ष्य हासिल गर्न चुक्यो । त्यसको प्रमुख कारण हो– खराब ब्याटिङ । त्यसमा पनि कमजोर फिनिसिङ । 

हुन त नेपालको कमजोर फिनिसिङको समस्या योपटक मात्र देखिएको होइन । विगत प्रतियोगितामा पनि समर्थकले नेपालले सानदार तरिकाले फिनिसिङ गरेको दृश्य कमै देखेका थिए । र, नेपालले आफ्नो परम्परागत समस्या विश्वकपजस्तो ठूलो मञ्चमा पनि दोहोर्यायो । 

यदि दक्षिण अफ्रिका र बंगलादेशविरुद्ध नेपालले सुखद अन्त्य गर्न सकेको भए नेपाली टिम अहिले सुपर–८ चरण खेलिरहेको हुन्थ्यो । तर, ब्याटिङमा फ्लप हुँदा नेपाल जितविहीन बन्यो । यद्यपि नेपालले दक्षिण अफ्रिका र बंगलादेशजस्तो टेस्ट टिमविरुद्ध गरेको बलिङ प्रदर्शन भने खुलेरै प्रशंसा गर्नलायक थियो । 

विश्वकपमा पछिल्लो दुई खेलको नतिजापछि नेपाली प्रशिक्षक मोन्टी देसाई र कप्तान रोहितकुमार पौडेललाई सर्वाधिक खड्किएको कुरा हुनसक्छ– उत्कृष्ट फिनिसरको । पछिल्लो समय दीपेन्द्र सिंह ऐरी, सोमपाल कामी, गुलशन झाले फिनिसरको भूमिका निर्वाह गर्दै आएका छन् । तर, यी तीन खेलाडीले विश्वकपमा आफूलाई त्यो भूमिकामा प्रमाणित गर्न सकेनन् । 



अब त्यो भूमिका कसलाई दिने त ? अहिले प्रशिक्षक र कप्तानको मनमा यस्तै प्रश्न खेलिरहेको हुन सक्छ । टिमका नियमित खेलाडी त्यो भूमिकामा सफल नभएपछि प्रशिक्षक अब नयाँ अनुहारको खोजी गर्न सक्छन् । यस्तो अवस्थामा हिटर मोहम्मद आदिल आलम अर्थात् आदिल अन्सारी प्रशिक्षकको रोजाइमा पर्ने सम्भावना छ ।  

क्रिकेट समर्थकले पनि आदिलको खोजी गरिरहेका छन् । उनीहरू टी–२० टिममा आदिलको कमब्याकको व्यग्र प्रतीक्षामा छन् । तर, नेपाल क्रिकेट संघ (क्यान) को प्राथमिकतामा भने आदिल नपरेको देखिएको छ । किनकी उनले नै क्यानका मुख्य पदाधिकारीले आफूलाई कुनै सम्पर्क नगरेको गुनासो गरेका छन् । 



आदिलले स्पट फिक्सिङ प्रकरणमा काठमाडौं जिल्ला अदालतबाट सफाइ पाएपछि पनि क्यानका पदाधिकारीले त्यति वास्ता नगरेको गुनासो गरेका हुन् । ‘मैले अदालतबाट सफाइ पाएपछि विनोद दासबाहेक क्यानका अन्य सरहरूले फोनसमेत गर्नु भएको छैन । यद्यपि मैले आफ्नो नियमित अभ्यास र फिटनेसलाई ध्यान दिइरहेको छु, आशा छ टिममा फर्किनेछु,’ आदिलले फरकधारसँगको कुराकानीमा भने ।

उनले टिममा फर्किनका लागि आफू सम्पूर्णरूपमा फिट भएको पनि बताए । आदिलले हालै विश्वकपमा नेपालको प्रदर्शनको बारेमा पनि केही कुरा सुनाए । 

‘विश्वकपमा नेपालले समग्रमा राम्रो प्रदर्शन गर्‍यो । तर, ब्याटिङमा नेपालको सुरुवात र अन्त्य राम्रो हुन सकेन । दक्षिण अफ्रिका र बंगलादेशविरुद्ध नेपालको फिनिसिङ कमजोर रह्यो । आगामी दिनमा आफूले त्यो भूमिका पाए प्रमाणित गर्न सक्छु,’ आदिलले भने । उनलाई क्रिकेट खेल्न अनुमति दिनका लागि क्यानले निर्णय गर्न बाँकी छ । 

केही दिनभित्र बस्ने बोर्ड बैठकले आदिलको विषय टुंगोमा पुग्ने सम्भावना रहेको क्यानका म्यानेजर विनोद दासले जानकारी दिए ।

‘खासमा आदिलको विषय अहिलेसम्म टुंगिसक्नुपर्ने हो । तर, टी–२० विश्वकपका कारण क्यानको बोर्ड बैठक बस्न सकेन । सोही कारण उनको विषयमा निर्णय गर्न ढिलाइ भएको हो । विश्वकपलगत्तै क्यानको बोर्ड बैठक बस्ने कुरा थियो, आशा गरौँ छिट्टै उनको विषय टुंगोमा पुग्नेछ,’ विनोदले फरकधारसँग भने ।

उनका अनुसार हाल आदिलले अदालतबाट पाएको पूर्णपाठमाथि क्यानको अनुशासन समितिले अध्ययन गरिरहेको छ । समितिको सुझावअनुसार अघि बढ्ने क्यानको योजना छ ।  

आदिल गत वर्षको पुसमा आयोजना भएको नेपाल टी–२० लिगमा स्पट फिक्सिङ गरेको आरोपमा पक्राउ परेका थिए । तर, अभियोग दाबी नपुगेपछि उनलाई गत चैतमा जिल्ला अदालत काठमाडौंले सफाइ दियो । 

हालसम्म आदिलले ८ टी–२० र ६ ओडिआई खेलेका छन् । उनले टी–२० आईमा १४२.८५ को स्ट्राइक रेटमा ११० तथा ओडिआईमा ७० रन बनाएका छन् ।

यस्तै, आदिलले टी–२० मा पाँच तथा ओडिआईमा ६ विकेट लिएका छन् । उनले अन्तिमपटक २०२२ मा अन्तर्राष्ट्रिय म्याच खेलेका थिए ।    

  • प्रकाशित मिति : असार ९, २०८१ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया