logo-img

जापानमा फैलियो काेराेनाभन्दा घातक संक्रमण, नेपाल पनि उच्च जोखिममा
४८ घण्टाभित्र बिरामीको मृत्यु, मृत्युदर ३० प्रतिशत

जापानमा ४८ घण्टे ब्याक्टेरियल संक्रमणले उग्र रूप लिएपछि यतिखेर विश्वको ध्यान जापानतिर तानिएको छ । कोरोना महामारीबाट विश्वजगत् तंग्रिन नपाउँदै जापानमा ब्याक्टेरियल संक्रमण फैलिएपछि विश्व स्वास्थ्यमा एक किसिमको त्रास पैदा भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार जापानमा सन् २०२४ मा स्ट्रेप्टोकोकल टक्सिक सक सिन्ड्रोम (एसटिएस)का संक्रमित हालसम्म एक हजार नाघेको छ । जापानी राष्ट्रिय संक्रामक रोग संस्थानले यसबारेमा जानकारी गराएको हो ।

यस वर्षको सुरुदेखि संक्रमितको प्रारम्भिक संख्या एक हजार १९ पुगेको एनआइआइडीको तथ्यांकले देखाएको छ । विगतका वर्षहरूको तुलनामा यो गम्भीर ब्याक्टेरिया संक्रमणको फैलावटमा उल्लेख्य वृद्धि भएको देखाएको छ । संक्रमण भएको ४८ घण्टाभित्र बिरामीको मृत्यु गराउने एसटिएसएसले जापानमा पछिल्लो दुई महिनामा ७७ जनाको मृत्यु गराएको तथ्यांक छ । 

जापानको नेसनल इन्सिच्युट अफ इन्फेक्सियस डिजिजका अनुसार यो ब्याक्टेरिया पहिलोपल्ट सन् १९९९ मा पत्ता लागेको थियो । जापानमा यसवर्ष दुई हजार पाँचसय जनामा संक्रमण फैलिने र मृत्युदर ३० प्रतिशत हुने टोकियो वुमेन्स मेडिकल युनिभर्सिटीका संक्रामक रोगका प्राध्यापक केन किकुचीले बताएका छन् ।
यस ब्याक्टेरियाले सबैभन्दा बढी आक्रमण बालबालिकालाई गरेको छ । दिन–प्रतिदिन रोग बढ्दै गएको दरलाई हेर्दा जापानमा बर्सेनि २५ सयजना यो रोगबाट संक्रमित हुनसक्ने अनुमानसमेत गरिएको छ ।

के हो एसटिएसएस ? 

मासु खाने ब्याक्टेरिया नाम दिए पनि यसले मानिसको मासु सीधै खाँदैन, बरु यसले शरीरभित्रको तन्तुलाई मार्ने काम गर्ने र मल्टिअर्गानहरूलाई फेल गराएर ४८ घण्टामा  मानिसको मृत्यु गराउने हुँदा यो ब्याक्टेरिया संक्रमण ज्यादै घातक रहेको शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुन बताउँछन् ।

उनका अनुसार यो ब्याक्टेरिया हाम्रोे शरीरमा भइ नै रहन्छ । तर, जापानमा पछिल्लो समय एसटिएसएस संक्रमण बढिरहेको भन्ने खबर आइरहेका छन् । यसले हाम्रो तन्तुलाई मृत बनाएको भन्ने कुरा पनि सुन्नमा आएको छ । यो ब्याक्टेरिया संसारभर भए पनि जापानमा मात्रै किन संक्रमण बढिरहेको छ भनेर यकिन भन्न नसकिने डा. पुनको भनाइ छ ।



कस्ता हुन्छन् यसका लक्षण ? 



ब्याक्टेरियल संक्रमणबाट हुने रोगजस्तै लक्षण एसटिएसएसमा पनि देखिने गरेका छन् । कडा ज्वरो, मांसपेशी तथा शरीरको दुखाइ र वाकवाकी तथा बान्ता हुनु यसका प्रारम्भिक लक्षण हुन् । संक्रमण फैलिँदै जाँदा रक्तचाप घट्ने, श्वासप्रश्वास बढ्ने, विस्तारै मल्टिअर्गान फेलियर (मुटु, मिर्गौला, कलेजो, फोक्सोलगायतले काम गर्न छाड्ने ) डा. पुनको भनाइ छ । 

कसरी फैलिन्छ संक्रमण ? 

एसटिएसएस कोरोनाजस्तै प्रकृतिको संक्रमण हो । डा. पुनका अनुसार यो मुख्यतः संक्रमित व्यक्तिको थुकको छिटाको माध्यमबाट एक व्यक्तिबाट अर्कोमा सर्छ । आपसमा बोल्दा, खोक्दा वा हाछ्युँ गर्दा, संक्रमितको थुकको छिटा भएको सामानको माध्यमबाट सर्नसक्छ ।

कस्ता व्यक्ति बढी जोखिममा ? 

एसटिएसएसले वृद्धवृद्धा, दीर्घरोगी र रोगप्रतिरोधी क्षमता कम भएकालाई छिटो संक्रमण भएको रेकर्ड छन् । जापानमा सन् २०२२ यता संक्रमित हुनेमा ५० वर्षमाथिका नागरिक धेरै रहेको त्यहाँको नेसनल इन्स्टिच्युट अफ इन्फेक्सियस डिजिजको तथ्यांक छ । मृत्यु हुनेमा भने ६५ वर्षमाथिका नागरिक धेरै रहेको देखिएको छ । 

समयमै उपचार भए निको, मृत्युदर ३० प्रतिशत 

सिडिसीका अनुसार एसटिएसएस तन्तु र रक्तकोषिकामा अति छिटो फैलिने भएकाले बिरामीको समयमा उपचार हुन नसके मृत्युको जोखिम उच्च हुन्छ । हाल यसको मृत्युदर ३० प्रतिशत रहेको बताइएको छ । कतिपय अवस्थामा उपचारकै क्रममा पनि बिरामीको मृत्यु भइरहेको जापानका विशेषज्ञहरूले आफ्ना लेखमार्फत बताएका छन् । तर, सुरुआती चरणमा भने एन्टिबायोटिकको प्रयोगबाट नै संक्रमण कम हुँदै जाने डा. पुन बताउँछन् । ‘मांसपेशीलाई असर गर्ने छाला ड्यामेज हुँदै जाने भएकाले पनि यसलाई मासु खाने ब्याक्टेरियाका रूपमा चिनिएको हो,’ डा. पुनले भने ।

जापानमा देखिएको ब्याक्टेरियल संक्रमण हुन नदिन व्यक्तिगत सरसरफाइदेखि कोरोनाकालमा अपनाइएका जनस्वास्थ्यका मापदण्ड अपनाउन एकदमै आवश्यक रहेको डा. पुनको भनाइ छ ।  

सर्तक रहन के गर्दै छ नेपाल ?  

नेपालको धेरै हवाई रुट रहेको र नेपालीसहित अन्य मानिसहरू धेरै आवतजावत गर्नेमध्येका जापान, बेलायतसहितका देशमा यो संक्रमण बढ्दै गएकाले नेपाल पनि उच्च जोखिममा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । विशेषगरी जापान र अरू संक्रमण फैलिएका देशबाट आउने नागरिकलाई निगरानीमा राख्न त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा रहेको हेल्थ डेक्सलाई निर्देशन दिइएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिए ।

उनका अनुसार अन्तर्राष्ट्रिय विमानस्थल हुँदै जापानलगायत यो संक्रमण देखिएका देशबाट आएका नागरिकलाई लक्षण देखिए परीक्षण गराउन र होम क्वारेन्टाइनमा बस्न र ती व्यक्तिलाई निगरानी गर्न निर्देशनसमेत दिइएको छ । ‘जापानमा यो संक्रमण हाल अलिक बढी फैलिएको छ भने अन्य देशमा पनि देखिन थालेको छ । यी देशबाट हाम्रोमा पनि हवाईमार्गबाट आवतजावत भइरहन्छ । जसले गर्दा हामी पनि जोखिममा रहेका छौँ,’ डा. बुढाथोकीले भने, ‘त्यसैले अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको हाम्रो हेल्थ डेक्सलाई जापानसहित संक्रमण देखिएको देशबाट आउने नागरिकलाई विशेष निगरानी गर्न निर्देशन दिइसकेका छौँ ।’ 

यस्तै, डा. पुनले पनि नेपालमा जेनेटिक लेवलको सूक्ष्म परीक्षण गर्न आवश्यक रहेको बताए । उनका अनुसार जापानमा देखिएको ब्याक्टरिया ‘त्यो खालको परिवर्तित आणुवंशिक ब्याक्टेरिया’ नेपालमा छ वा छैन तथा यसको जोखिमको लेखाजोखा सरकारले समयमै गर्नुपर्ने उनी औँल्याउँछन् । 

  • प्रकाशित मिति : असार ९, २०८१ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया