logo-img

मध्यकाली गण्डकीलाई ९ अर्ब लगानी जुट्यो
फाइल तस्बिर

म्याग्दीको उत्तरी क्षेत्र भएर बग्ने कालीगण्डकी नदीमा निर्माण सुरु हुन लागेको मध्य कालीगण्डकी जलविद्युत् आयोजनाका लागि वित्तीय व्यवस्थापन भएको छ ।

आइएमई समूहको हाइड्रो सपोर्ट प्रालिले म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा निर्माण गर्न लागेको ६६ दशमलव ३ मेगावाट क्षमताको आयोजनामा नबिल बैंकको अगुवाइमा ६ वाणिज्य बैंकले ९ अर्ब १२ करोड रुपैयाँ लगानी गर्ने भएका हुन् ।

हाइड्रो सपोर्ट प्रालि प्रवद्र्धक रहेको यस आयोजनाको बाँध अन्नपूर्ण–३ सुकेबगरमा र विद्युत् गृह अन्नपूर्ण–२ ठूलोबगर क्षेत्रमा प्रस्ताव गरिएको छ । चार हजार सय मिटर सुरुङ रहने यस आयोजनाको विद्युत्गृहदेखि फोरवेको उचाइ एक सय १५ मिटर हुनेछ । 

केही दिनअघि नबिल बैंकको नेतृत्वमा वित्तीय व्यवस्थापनको सम्झौता भएको मध्य कालीगण्डकीको पूर्वाधार निर्माणको तयारी गरेको आयोजना प्रमुख चन्द्र ढकालले जानकारी दिए । सन् २०२४ मा भौतिक निर्माण सुरु हुने आयोजना चार वर्षमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । 

सम्झौतामा हाइड्रो सपोर्ट प्रालिको तर्फबाट आइएमई समूहका अध्यक्षसमेत रहनुभएका ढकाल र बैंकहरूको तर्फबाट सहवित्तीयकरणको नेतृत्व गरेको नबिल बैंकका प्रमुख कार्यकारी ज्ञानेन्द्र ढुङ्गानाले हस्ताक्षर गरेका थिए । 

कूल १२ अर्ब ९३ करोड लागत अनुमान गरिएको यस आयोजनामा ७५ प्रतिशत लगानी नबिलसहित एभरेस्ट बैंक लिमिटेड, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, नेपाल बैंक लिमिटेड, राष्ट्रिय वाणिज्य बैंक र प्रभु बैंकले गर्ने भएका छन् । २५ प्रतिशत प्रवर्द्धक र शेयर लगानीकर्तामार्फत जुटाइने भएको छ । 



नबिल बैंकले ३ अर्ब १२ करोड, एभरेस्ट बैंक र नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले २/२ अर्ब र नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक र प्रभु बैंकले एक/एक अर्ब लगानी गर्नेछन् । नेपाल विद्युत् प्रधिकरणसँग विद्युत् खरिद बिक्री सम्झौता हुँदा हिउँदयामको विद्युत् खरिद दर ८.४० र वर्षायामको दर ४.८० रुपैयाँ कायम भएको आधारमा आयोजनाबाट हिउँदमा एक सय ३० गिगावाटबाट १ अर्ब ९ करोड र वर्षामा २ सय ७७ गिगावाटबाट १ अर्ब ३३ करोड आम्दानी हुने प्रक्षेपण छ ।  

मुस्ताङदेखि पर्वतको सिमानासम्मको म्याग्दी खण्डमा कालीगण्डकी नदीबाट पाँचवटा जलविद्युत् आयोजना निर्माणको तयारी भएको छ । यी आयोजना निर्माणको तयारीसँगै कालीगण्डकी ऊर्जा नदीमा रूपान्तरण हुन लागेको छ । 



घाँसादेखि मिलनचोकसम्म कालीगण्डकीमा करिब चार सय मेगावाट क्षमताका जलविद्युत् आयोजना निर्माणको प्रक्रियामा छन् । रासस

  • प्रकाशित मिति : असार १०, २०८१ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया