logo-img

माथिल्लो त्रिशूली-१ जलविद्युतको भौतिक प्रगति ३५ प्रतिशत
फाइल तस्बिर

रसुवाको हाकु क्षेत्रमा निर्माणाधीन माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजना निर्माण तीव्ररूपमा अगाडि बढेको छ । आमा छोदिङ्मो र उत्तरगया गाउँपालिकाको आधार इलाकाभित्र निर्माण भइरहेको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजना जिल्लाकै सबैभन्दा ठूलो आयोजना हो । 

यो २ सय १६ मेगावाट क्षमताको छ । सो जलविद्युत् आयोजनाको भौतिक प्रगति ३५ प्रतिशत पुगेको आयोजनाले जनाएको छ । सन् २०१९ देखि निर्माण सुरु भएको सो जलविद्युत् आयोजनाको सुरुङ खन्ने काम ६५ प्रतिशत सकिएको छ ।

आयोजनाको पावर हाउस तथा ट्रान्सफर्मर राख्ने स्थलको भूमिगत संरचना, चार सय २० मिटर ‘हेडरेस’ सुरुङलगायतका काम ६५ प्रतिशत पूरा भएको छ । सुरुङको बाँकी काम एक वर्षभित्र सम्पन्न गर्ने लक्ष्य आयोजनाको छ । 

धुञ्चेको त्रिशूली दोभान तथा भोटेकोशी सङ्गमस्थलमा बाँध बाँधी छ मिटर गोलाइको ९ हजार ४ सय ९१ मिटर ‘हेडरेस’ सुरुङको सहायताबाट त्रिशूली नदीको ७६ क्युसेक पानी मैलुङ दोभानमा पुर्याई तीनवटा टर्वाइनबाट २ सय १६ मेगावाट  विद्युत् उत्पादन गरिने छ । सन् २०२६ को डिसेम्बरभित्र सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको जलविद्युत् आयोजनाका सहायक प्रबन्धक विप्लव खड्काले जानकारी दिनुभयो ।  

सम्पूर्ण संरचना भूमिगत रहने भएका कारण बाढीपहिरो, भूक्षय, चट्याङ तथा भूकम्पले असर नगर्ने वातावरणविज्ञ मधु पाण्डेले बताए । आयोजना निर्माणको क्रममा वातावरणलाई कुनै असर नपारिएको प्राविधिकले बताएका छन् । 

आयोजना निर्माण सम्पन्न गर्न करिब ७० देखि ८० अर्ब लागत लाग्ने र निर्माण सम्पन्न भएको ३० वर्षपछि स्वतः नेपाल सरकारको हुने आयोजनाले जनाएको छ । राजधानी काठमाडौंबाट तीन घण्टाको दूरी उत्तरमा रहेको आयोजनास्थल बेत्रावती–स्याफ्रुबेँसी राजमार्गसँगै रहेका कारण निर्माण सामग्रीलगायत उपकरण ढुवानीमा सहज भएको आयोजनाले जनाएको छ ।



कोरिया एक्जिम, एसियाली विकास बैंकलगायत गरी विभिन्न नौ बैंक तथा दातृ संस्थाको सहुलियतपूर्ण कर्जा सहयोगमा निर्माणाधीन माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको  प्रभावित क्षेत्रमा वातावरणीय प्रभाव मूल्याङ्कन (इआईए)ले औंल्याएका  र स्थानीयको  आवश्यकतालाई प्राथमिकता दिइएको आयोजनाले जनाएको छ । सो आयोजनाले धुञ्चेस्थित रसुवा माविलाई विद्यार्थी छात्रावास, हाकुबेँसीमा पक्की पुल निर्माण गरेको छ ।

भूकम्प तथा कोभिड–१९को समयमा राहत एवं स्वास्थ्य क्षेत्रलाई सहयोग गरेको थियो । सुरक्षा निकाय अन्तर्गत नेपाल प्रहरीलाई हाकुमा सुरक्षा चौकी निर्माण गर्न जग्गा प्रदान गरेको छ । आयोजनाका प्रबन्धक गिरीराज अधिकारीले कम्प्युटर, भाषा, कुक, सवारीसाधन चलाउने, सीपमूलक तालिमसमेत स्थानीयलाई प्रदान गरिएको जानकारी दिए । रासस



  • प्रकाशित मिति : असार १०, २०८१ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया