logo-img

धरानको विष्णुपादुका मन्दिर धार्मिक पर्यटकीय स्थल बन्दै

धरान उपमहानगरपालिका–२० स्थित  विष्णुपादुका मन्दिर धार्मिक आस्थाको केन्द्रको रुपमा प्रसिद्ध छ ।  प्राकृतिक रुपले विष्णुपादुका सुनसरी जिल्लाकै एक सुन्दर स्थानसमेत हो । मोक्ष प्राप्त गर्न नसकेका आफ्ना पितृलाई तर्पण गरी भगवान विष्णुले पहिलो श्राद्ध गरेको स्थानको रूपमा यस मन्दिरलाई चिनिन्छ । यहीँबाट श्राद्ध परम्पराको थालनी भएको भक्तजनहरूको विश्वास छ ।

झापाबाट श्राद्ध गर्न पहिलो पटक आएका मिलन तिम्सिना विष्णुपादुका मन्दिरमा श्राद्ध गर्दा मोक्ष प्राप्ति हुने जनविश्वास रहेको बताउँछन् । उनी भन्छन्, ‘बुबाआमाको नाममा श्राद्ध गर्न बराहक्षेत्र र पिण्डेश्वरमा पूजा गरेर यहाँ आएको हुँ । यहाँ आइपुग्न अरु ठाउँ जस्तो सजिलो छैन,  बाटो र सवारी साधनको राम्रो सुविधा नभए पनि यहाँ श्राद्ध गर्दा पितृको दिवंगत आत्माले मोक्ष प्राप्त हुने विश्वास छ ।’

मोरङको रङ्गेलीबाट बुबाको श्राद्ध गर्न आएका सुमन विष्टले  विष्णुपादुका मन्दिरमा श्राद्ध गर्दा बुबाको दिवंगत आत्माले शान्ति पाउने जनविश्वास रहेको बताए । विष्णुपादुका मन्दिरमा पितृको सम्झनामा श्राद्ध गर्न नेपालका मात्र नभएर भारतका विभिन्न ठाउँबाट भक्तजन आउने विष्णुपादुका मन्दिर व्यवस्थापन समितिका अध्यक्ष राजकुमार निरौलाले बताए । प्रत्येक वर्षको पौष शुक्ल औंशीका दिन आफ्ना पितृलाई पिण्ड तर्पण गर्न लाखौँको सङ्ख्यामा भक्तजन यहाँ आउने गर्दछन् । 

धरानको मुख्य बजारबाट १२ किलोमिटरमाथि रहेको विष्णुपादुका मन्दिरमा दैनिक एक सय ५० देखि दुई सयसम्म भक्तजन आउने धरान विष्णुपादुका–२० का वडाध्यक्ष पदम लिम्बूले बताए । उनले भने, ‘यो  धार्मिक पर्यटकीय मन्दिर भएकाले यसको संरक्षण र प्रचारप्रसारको आवश्यकता छ ।’

विसं १९७० मा लक्ष्मण घिसिङले मन्दिर भएको स्थलमा उत्खनन गर्दा पाउको छापसहितको ढुङ्गा फेला पारेपछि विष्णुको पाउ भएको विश्वास गर्दै पूजा गर्न थालिएको किंवदन्ती छ  । यस मन्दिरमा पुजारी तामाङ रहे पनि पितृश्राद्धको विधि चाहिँ ब्राह्मण पुजारीले गर्छन् । उक्त मन्दिरमा पुस्तौँदेखि मुख्य पुजारीको रुपमा तामाङ जाति रहने  गरेका छन् । 





  • प्रकाशित मिति : असार १०, २०८१ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया