logo-img

विश्वकप सेमिफाइनलमा दक्षिण अफ्रिकासँग ५६ रनमै समेटियो अफगानिस्तान

नवौँ संस्करणको आइसिसी टी–२० विश्वकपको पहिलो सेमिफाइनलमा अफगानिस्तानले दक्षिण अफ्रिकालाई ५७ रनको सामान्य लक्ष्य दिएको छ । ​ट्रिनिडाडस्थित ब्रायन लारा स्टेडियममा टस जितेर ब्याटिङ रोजेको अफगानिस्तान ११.५ ओभरमा ५६ रनमै अलआउट भयो ।  

उसका लागि अजमातुल्लाह उमरजाईले सर्वाधिक १० रन जोडे । ​रहमानउल्लाह गुरबाज (शून्य), इबराहिम जाद्रान (२), गलबन्दिन नाइबन (९), मोहम्मद नाबी (शून्य), नङ्गेलिया खरोटे (२), करिम जनत (८), नूर अहमद (शून्य), कप्तान राशिद खान (८) र नवीनलउल हक (२) ले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् ।

दक्षिण अफ्रिकाका लागि तबरेज शम्सी र मार्को यान्सनले तीन/तीन, कागिसो रबाडा र एनरिक नोर्टजले दुई/दुई विकेट लिए । दक्षिण अफ्रिकाले १० वर्षपछि सेमिफाइनलमा प्रतिस्पर्धा गरिरहेको हो । 

जारी विश्वकपमा दक्षिण अफ्रिका अपराजित छ । ऊ समूह विजेताको हैसियतमा सेमिफाइनल खेलिरहेको हो । दक्षिण अफ्रिकाले समूह चरणमा श्रीलंका, नेपाल, नेदरल्याण्ड्स र बंगलादेश तथा सुपर–८ मा इंग्ल्याण्ड, वेस्ट इण्डिज र अमेरिकालाई हराएको थियो । 

यस्तै, अफगानिस्तानले समूह चरणमा न्यूजिल्याण्ड, युगान्डा र पपुवा न्यूगिनी (पिएनजी) तथा सुपर–८ मा अस्ट्रेलिया र बंगलादेशलाई हरायो । उसले जारी विश्वकपमा समूह चरणमा वेस्ट इण्डिज र सुपर–८ मा भारतसँग मात्र पराजय बेहोरेको थियो ।  

हालसम्म अफगानिस्तान र दक्षिण अफ्रिकाले दुई टी–२० आईमा एकअर्काको सामना गरेका छन्, जसमा दुवै खेल दक्षिण अफ्रिकाले जितेको विगत छ । यी दुई टिमले पछिल्लोपटक सन् २०१६ को टी–२० विश्वकपमा एकअर्कासँग खेलेका थिए ।



सो खेलमा दक्षिण अफ्रिकाले अफगानिस्तानलाई ३७ रनले हराएको थियो । यी दुई टिमबीचको पहिलो भेट चाहिँ सन् २०१० को विश्वकपमा भएको थियो । सो खेलमा दक्षिण अफ्रिकासँग अफगानिस्तान ५९ रनले पराजित भएको थियो ।



  • प्रकाशित मिति : असार १३, २०८१ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया