logo-img

दक्षिण अफ्रिका पहिलोपटक टी-२० विश्वकपको फाइनलमा, अफगानिस्तान ९ विकेटले पराजित

दक्षिण अफ्रिका नवौँ संस्करणको आइसिसी टी–२० विश्वकपको फाइनलमा प्रवेश गरेको छ । आज बिहान सम्पन्न पहिलो सेमिफाइनल खेलमा अफगानिस्तानलाई ९ विकेटले हराउँदै दक्षिण अफ्रिका पहिलोपटक विश्वकपको फाइनलमा प्रवेश गरेको हो । 

सेमिफाइनलमा अफगानिस्तानले दिएको ५७ रनको झिनो लक्ष्य दक्षिण अफ्रिकाले ८.५ ओभरमा एक विकेट गुमाएर पूरा गर्‍यो । उसका लागि अविजित रहेका रीजा हेन्ड्रिक्सले २९ र कप्तान एडन मार्कमले २३ रन बनाए ।

यस्तै, क्विन्टन डिककले ५ रन जोडे । अफगानिस्तानका लागि फजलहक फारुकीले मात्र एक विकेट लिन सके ।

त्यसअघि ट्रिनिडाडस्थित ब्रायन लारा स्टेडियममा टस जितेर ब्याटिङ रोजेको अफगानिस्तान ११.५ ओभरमा ५६ रनमै अलआउट भयो ।  उसका लागि अजमातुल्लाह उमरजाईले सर्वाधिक १० रन जोडे ।​ 



रहमानउल्लाह गुरबाज (शून्य), इबराहिम जाद्रान (२), गलबन्दिन नाइबन (९), मोहम्मद नाबी (शून्य), नङ्गेलिया खरोटे (२), करिम जनत (८), नूर अहमद (शून्य), कप्तान राशिद खान (८) र नवीनलउल हक (२) ले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् ।



दक्षिण अफ्रिकाका लागि तबरेज शम्सी र मार्को यान्सनले तीन/तीन, कागिसो रबाडा र एनरिक नोर्टजले दुई/दुई विकेट लिए । दक्षिण अफ्रिका अपराजित रहँदै फाइनल पुगेको हो । उसले समूह विजेताको हैसियतमा सेमिफाइन र सुपर–८ को यात्रा गरेको थियो । दक्षिण अफ्रिकाले समूह चरणमा श्रीलंका, नेपाल, नेदरल्याण्ड्स र बंगलादेश तथा सुपर–८ मा इंग्ल्याण्ड, वेस्ट इण्डिज र अमेरिकालाई हराएको थियो । 

दक्षिण अफ्रिकाले अब उपाधिका लागि सेमिफाइनल–२ को विजेतासँग खेल्नेछ । दोस्रो सेमिफाइनलमा भारत र इंग्ल्याण्ड खेल्ने छन् । यी दुई टिमबीचको खेल बिहीबार राति सवा ८ बजेदेखि सुरु हुनेछ । 

यस्तै, अफगानिस्तानले समूह चरणमा न्यूजिल्याण्ड, युगान्डा र पपुवा न्यूगिनी (पिएनजी) तथा सुपर–८ मा अस्ट्रेलिया र बंगलादेशलाई हरायो । उसले जारी विश्वकपमा समूह चरणमा वेस्ट इण्डिज र सुपर–८ मा भारतसँग मात्र पराजय बेहोरेको थियो ।   

  • प्रकाशित मिति : असार १३, २०८१ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया