logo-img

विश्वकप फाइनल पुग्न भारत र इंग्ल्याण्ड भिड्दै, ‘हेड टु हेड’ का को अगाडि ?

आइसिसी टी–२० विश्वकप क्रिकेटको दोस्रो सेमिफाइनल खेल आज राति हुँदै छ । नेपाली समयअनुसार राति सवा ८ बजे सुरु हुने खेलमा भारत र इंग्ल्याण्ड आमनेसामने हुने छन् । 

पहिलो सेमिफाइनलमा एकतर्फी जित निकाल्दै दक्षिण अफ्रिका फाइनलमा प्रवेश गरिसकेको छ । आज राति हुने दोस्रो खेलको विजेताले उपाधिका लागि दक्षिण अफ्रिकासँग खेल्नेछ ।  

टी–२० विश्वकप २०२२ को सेमिफाइनलमा इंग्ल्याण्डले भारतलाई १० विकेटले हराएको थियो । जोस बटलर र एलेक्स हेल्सको उत्कृष्ट प्रदर्शनमा इंग्ल्याण्डले उत्कृष्ट प्रदर्शन गर्दै भारतलाई लज्जास्पद हार चखाएको थियो । टस जितेर ब्याटिङ गरेको भारतले १६९ रनको लक्ष्य दिएको थियो । 

इंग्ल्याण्डले १६ ओभरमै लक्ष्य पूरा गरेको थियो । २०२२ को बदला लिनका लागि भारतलाई आज मौका रहेको छ । अहिले भारतको टोलीले विश्वकपमा राम्रो प्रदर्शन गरिरहेको छ ।

टी–२० विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्दै आएको भारतीय टोली अस्ट्रेलियालाई हराउँदै सेमिफाइनलमा पुगेको हो । भारत यस प्रतियोगितामा अहिलेसम्म अपराजित छ र समूह चरणपछि सुपर–८ मा पनि शीर्ष स्थानमा रहेर फाइनल खेल्दै छ । 

उता इंग्ल्याण्डले अमेरिकालाई हराउँदै सेमिफाइनलमा प्रवेश गरेको थियो । यसअघि पनि २०२२ मा दुवै टोली अन्तिम चारमा आमनेसामने भएका थिए, जहाँ इंग्ल्याण्डको टोली जित दर्ता गर्न सफल भएको थियो ।



नकआउट खेलमा भारतीय टोली फेरि एकपटक रोहित शर्माको नेतृत्वमा जोस बटलरको सेनासँग भिड्नेछ । टी–२० क्रिकेटमा यी दुई टोलीले २३ पटक भिडेका छन्, जसमा भारतको अग्रता छ । 

भारतले १२ खेल जितेको छ भने इङ्ल्याण्डले ११ खेलमा जितको स्वाद चाखेको छ । टी–२० विश्वकपको इतिहासमा इङ्ल्याण्डले भारतसँग चारपटक सामना गरेको छ । दुवै टोलीले दुई/दुई खेल जितेका छन् ।



यो खेलमा भारतले फेरि रोहितबाट बलियो प्रदर्शनको अपेक्षा गरेको छ । अस्ट्रेलियाविरुद्ध उनको ब्याट चलेको थियो । उनले ९२ रनको तुफानी पारी खेल्दै स्टार्क र प्याट कमिन्सलाई ध्वस्त पारेका थिए । आगामी खेलमा पनि उनीबाट यस्तै प्रदर्शनको अपेक्षा गरिएको छ । 

रोहितको साथमा विराट कोहली देखिनेछन् । तर, उनको फर्म चिन्ताको विषय बनेको छ । जारी प्रतियोगितामा उनले ६६ रन मात्र बनाउन सकेका छन् । यस्तो अवस्थामा फेरि एकपटक यशस्वी जैसवालले बाहिर बस्नु पर्ने हुनसक्छ । उनी अहिलेसम्म प्लेइङ–११ मा परेका छैनन् ।

विकेटकिपर/ब्याटर ऋषभ पन्त तेस्रो नम्बरमा रहनेछन् । पछिल्लो ६ खेलमा उनले १३२.५३ को स्ट्राइक रेटमा १६७ रन बनाएका छन् । सूर्यकुमार यादव चौथो नम्बरमा ब्याटिङ गर्दैछन् । हालको प्रतियोगितामा उनले दुई अर्धशतकको सहयोगमा १४९ रन बनाएका छन् । उनी इंग्ल्याण्डविरुद्धको खेलमा भारतका लागि सबैभन्दा ठूलो आशा हुनेछन् । 

शिवम दुबे पाँचौं नम्बरमा आउनेछन् । यस्तो अवस्थामा सञ्जु सामसन बाहिर बस्नु पर्ने हुनसक्छ । योसँगै उपकप्तान हार्दिक पाण्ड्याले फेरि एकपटक फिनिसरको भूमिका निर्वाह गर्नु पर्ने हुने छ ।  उनी टी–२० विश्वकपमा बल र ब्याटबाट चम्किएका छन् ।

स्पिन विभागमा रवीन्द्र जडेजा, अक्षर पटेल र कुलदीप यादव पक्कै छन् । तीनै बलरले आफ्नो घातक बलिङबाट वेस्ट इन्डिजको पिचमा विशेष प्रभाव छोडेका छन् । योसँगै जसप्रित बुमराहले तीव्र गतिको बलिङ आक्रमणको जिम्मेवारी सम्हाल्ने देखिएका छन् । उनलाई अर्शदीप सिंहले साथ दिनेछन् । हार्दिक पाण्ड्याले पनि आफ्नो चार ओभर बलिङ गर्नु पर्नेछ ।  

यस्तै, इंग्ल्याण्डका कप्तान जोस बटलरको भारतविरुद्ध उत्कृष्ट कीर्तिमान छ । आफ्नो ठूला छक्काको साथ उनले कुनै पनि टोलीलाई घुँडा टेकाउन सक्छन् । अमेरिकाविरुद्धको अन्तिम खेलमा उनले स्पिनर हरप्रितलाई लगातार ५ छक्का प्रहार गरेका थिए । यस विश्वकपको ६ इनिङ्समा बटलरले ४८ को औसतमा १९१ रन बनाएका छन् ।

त्यसैगरी इङ्लिस लेग स्पिनर आदिल रसिद अहिले उत्कृष्ट फर्ममा छन् । उनले यो विश्वकपमा ७ खेलमा ९ विकेट लिएका छन् । उनले ओमानविरुद्ध ११ रन दिएर ४ विकेट लिए, जसको मद्दतमा इङ्ल्यान्डले ओमानलाई ४७ रनमा अलआउट गरेको थियो । यो खेल इंग्ल्याण्डका लागि यो विश्वकपको महत्वपूर्ण खेल थियो ।

भारतको सम्भावित–११ : रोहित शर्मा (कप्तान), विराट कोहली, ऋषभ पन्त (विकेटकिपर), सूर्यकुमार यादव, शिवम दुबे, हार्दिक पाण्ड्या, रविन्द्र जडेजा, अक्षर पटेल, कुलदीप यादव, जसप्रित बुमराह र अर्शदीप सिंह ।

भारतको सम्भावित–११ : फिल साल्ट, जोस बटलर (कप्तान र विकेटकिपर), जोनी बेयरस्टो, ह्यारी ब्रुक, मोइन अली, लियाम लिभिङस्टोन, साम करन, क्रिस जोर्डन, जोफ्रा आर्चर, आदिल राशिद र रीस टोप्ले । 

  • प्रकाशित मिति : असार १३, २०८१ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया