logo-img

कांग्रेसको आरोप- अहिलेको सत्ता गठबन्धनले छिमेकी देशसँगको नीतिलाई ध्वस्त पार्न खोज्यो

पूर्वपरराष्ट्रमन्त्री तथा कांग्रेस नेता एनपी साउदले सरकारले साझा र सन्तुलित परराष्ट्र नीति अवलम्बन गर्नुपर्नेमा सत्तारुढ दलहरुबीचमा भएको राजदूत भागन्डाले  कूटनीतिक क्षेत्रमा तरङ्ग पैदा गरेको भन्दै आपत्ति जनाएका छन् । उनले सत्ता गठबन्धनको उक्त कार्यले छिमेकीसँगको नीतिलाई ध्वस्त पार्न खोजेको र छिमेकीबीचको सम्बधलाई डाइनामाइट फिट गरेर राखेको आरोप लगाउँदै सरकारले परराष्ट्र नीतिप्रति सचेत हुनुपर्नेमा सचेत गराए ।  

बिहीबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सरकारले ११ जना राजदूत फिर्ता बोलाएको विषयले नेपालको कूटनीतिक र अन्तर्राष्ट्रिय क्षेत्रमा विश्वसनीयता घटेको भन्दै आपत्ति जनाएका हुन् ।

नेता साउदले भने, ‘नेपालले आफ्नो कूटनीति र भरिपूर्ण बनाउने बेलामा ११ राष्ट्रबाट ११ जना राजदूत फिर्ता बोलाएका छौँ । प्रशासन र कर्मचारीहरूबाट जाने र विभिन्न पेसाबाट जाने राजदूतलाई के कारणले फिर्ता बोलाइयो जानकारी नदिई फिर्ता बोलाइयो । यसले कूटनीतिक र अन्तर्राष्ट्रिय क्षेत्रमा विश्वसनीयता घटेको छ ।’  

यस्तै उनले सरकारले हाल छिमेकी राष्ट्र भारत–चीन सँगको सम्बन्धलाई सन्तुलित र राम्रो  बनाउनुपर्नेमा उल्टो सरकार परिवर्तन भएसँगै परराष्ट्र नीति पनि एकलौटी बनाएर सरकार अघि बढ्न खोजेको आरोप लगाए । साझा परराष्ट्र नीति हुनुपर्नेमा जोड दिएका नेता साउदले सरकार आफैँलाई नोक्सानी हुने खालको नीतिमा अघि बढ्न खोजिरहेको भन्दै सचेत रहन आग्रह गरेका छन् ।
  
उनले अगाडि भने, ‘राष्ट्र निर्माता पृथ्वी नारायण शाहले जुन कुरा भन्नुभएको थियो नेपाल दुई ढुंगा बीचको तरुल हो भनेर भन्नुभएको थियो । त्यसको मापन उडाउने प्रयत्न गरिएको छ । पृथ्वी नारायण शाहले दुई ढुंगालाई निर्जीव भन्नुभएको थियो बलियो थिए तर, निर्जीव थिए । तरुल गतिशील थियो, तरुल वृद्धि हुँदै थियो, तरुल सजीव थियो । तर अहिले जसरी यो सरकारले परराष्ट्र नीतिलाई, छिमेकीसँगको नीतिलाई ढुंगाको तरुलको रूपमा भन्दा पनि डाइनामिट फिट गरेर राख्ने प्रयत्न गर्नुभएको छ ।’



उनले थप भने ‘म सरकारलाई आग्रह गर्न चाहन्छु, सरकारलाई पनि सचेत गर्न चाहन्छु कि भोलीका दिनमा डाइनामाइट पड्कियो भने चट्टानलाई क्षति पुर्‍याउन सक्छ । ढुंगालाई क्षति पुर्‍याउन सक्छ तर, डाइनामाइट पड्किसकेपछि आफू बाँकी रहन सक्दैन । यो तथ्यलाई आत्मसाथ गर्नुपर्छ ।’ 

उनले चीनलाई हामी बीआरआईमा सम्झौता गर्न तयार छौं भन्ने सन्देश दिने र त्यसलाई सत्ता समीकरण बनाउन प्रियोग गरी भारत र अन्तर्राष्ट्रिय समुदायलाई बीआरआईलाई रोकिराखेका छौF भन्ने कच्चा कूटनीतिक चाल नचल्न सरकारलाई आग्रह गरे । उक्त कार्यले नेपालको अन्तर्राष्ट्रिय समुदायमा नेपालको प्रतिष्ठा घट्ने भन्दै थपे नेपालले कूटनीतिक व्यवहार गर्दा अग्रजहरूको ज्ञान, सुझावलाई लिनुपर्ने आवश्यकता औँल्याए ।  





  • प्रकाशित मिति : असार १३, २०८१ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया