logo-img

सरकारसँग सांसदको प्रश्न- एसइईमा ५२ प्रतिशत विद्यार्थी के कारण फेल भए ?

प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सांसदले गत वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा ५२ प्रतिशत विद्यार्थी के कारणले असफल भए समीक्षा गर्न आग्रह गरेका छन् ।  

उनीहरूले बिहीबार प्रकाशित एसइई परीक्षाको नतिजाले ठूलो प्रश्न चिह्न खडा गरेको टिप्पणी गरे । बैठकमा सांसद रोशन कार्कीले ५२ प्रतिशत विद्यार्थी असफल भएको सम्बन्धमा शिक्षामन्त्रीको ध्यानाकर्षण गराउँदै कलिला युवाको मनस्थिति के भएको होला भन्नेबारेमा सोच्नुपर्ने बताइन् । 

‘उनीहरू असफल भएको कुरा कुन मनोवैज्ञानिकले हेरिराखेका होलान् । शिक्षा नै मूलद्वार हो, जसले देशको विकास गर्छ । यसबारेमा शिक्षा मन्त्रालय अत्यन्त गम्भीर भएर हेर्नुपर्छ, उनीहरु किन उत्तीर्ण हुन सकेनन् । कसको कमजोरीले यति धेरै विद्यार्थी असफल भएका हुन ?,’ उनले प्रश्न गरिन् । 

सांसद सांसद रञ्जुकुमारी ठाकुरले नीतिगत भ्रष्टाचार हुन नदिन र  विपद् व्यवस्थापनको पूर्व तयारीलाई गति दिन सरकारले ध्यान दिनुपर्ने बताइन् । सांसद रेखा यादवले एसइईको परीक्षामा के कारणले विद्यार्थी असफल यस विषयमा सरकारले सदनमा जवाफ दिनुपर्ने बताइन् ।

सांसद महन्थ ठाकुरले महोत्तरीमा बाढी नियन्त्रणको लागि जनता तटबन्धको कार्यक्रम ल्याइएको तर अहिलेसम्म ४० प्रतिशत काम मात्र समाप्त भएको जनाउँदै त्यो कार्यक्रमलाई अन्यत्र नसार्न आग्रह गरे । 

सांसद प्रदीप पौडेलले एसइईमा अधिकांश विद्यार्थी असफल भएको सन्दर्भमा सरकारले गुणस्तर वृद्धि गरेर धेरै विद्यार्थीलाई उत्तीर्ण गर्न लाग्नुपर्नेमा त्यो गर्न नसकेको टिप्पणी गरे ।



सांसद नैनकला थापाले अविरल वर्षाका कारण भइरहेको धनजनको क्षतिप्रति सरकारको ध्यानाकर्षण गराए । सांसद पूर्णबहादुर तामाङले निर्माण व्यवसायीले काम गरिसकेको ४० अर्ब रुपैयाँ सरकारले निकास नगरेको उल्लेख गर्दै तत्काल रकम निकासा गर्न आग्रह गरे । 



  • प्रकाशित मिति : असार १४, २०८१ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया