logo-img

विश्वकप फाइनल : भारत-दक्षिण अफ्रिकालाई उपाधि खडेरी तोड्ने मौका

नवौँ संस्करणको आइसिसी टी–२० विश्वकप क्रिकेटको उपाधिका लागि भारत र दक्षिण अफ्रिकाले प्रतिस्पर्धा गर्ने तालिका छ । यी दुई टिमबीचको उपाधि भिडन्त शनिबार राति सवा ८ बजेदेखि क्यारेबियन देश बार्बाडोसस्थित केन्सिङ्टन ओवलमा सुरु हुनेछ ।

जारी विश्वकपमा भारत र दक्षिण अफ्रिका अपराजित रहेर उपाधिका लागि प्रतिस्पर्धा गर्न लागेका हुन् । भारतले समूह चरणमा आयरल्याण्ड, पाकिस्तान र अमेरिकालाई हराउँदा क्यानडासँग वर्षाका कारण अंक बाँड्यो ।

यस्तै, उसले सुपर–८ मा अस्ट्रेलिया, बंगलादेश र अफगानिस्तानलाई हराएको थियो । भारतले सेमिफाइनलमा डिफेन्डिङ च्याम्पियन इंग्ल्याण्डलाई ६८ रनले हराउँदै फाइनलको टिकट काट्यो । अब ऊ आफ्नो सानदार लय कायम राख्दै फाइनल पनि जितेर वर्षौँदेखिको उपाधि खडेरी तोड्न चाहन्छ । 

१० वर्षपछि फाइनलको यात्रा गरेको भारतले हालसम्म एकपटक मात्र टी–२० विश्वकपको उपाधि जितेको छ । उसले डेब्यू विश्वकप अर्थात् सन् २००७ को संस्करणको उपाधि जितेको थियो । त्यसयता भारत एकपटक फाइनल मात्र पुगेको छ ।



यता दक्षिण अफ्रिका भने पहिलोपटक फाइनल खेल्न लागेको हो । ऊ पनि जारी संस्करणमा उच्च लयमा छ । दक्षिण अफ्रिकाले समूह चरणमा श्रीलंका, नेदरल्याण्ड्स, बंगलादेश र नेपाल तथा सुपर–८ मा अमेरिका, इंग्ल्याण्ड र वेस्ट इण्डिजलाई हराएको थियो ।



यस्तै, दक्षिण अफ्रिकाले सेमिफाइनलमा अफगानिस्तानलाई ९ विकेटले हरायो । योसँगै ऊ टी–२० विश्वकपमा लगातार आठ खेल जित्ने पहिलो टिम बनेको छ । अब दक्षिण अफ्रिका भारतलाई पनि स्तब्ध पार्दै पहिलो मौकामै उपाधि जित्न चाहन्छ । 

हालसम्म भारत र दक्षिण अफ्रिकाले टी–२० विश्वकपमा ६ खेलमा एकअर्काको सामना गरेका छन्, जसमा भारतले चार र दक्षिण अफ्रिकाले दुई खेलमा जित निकालेको छ । यस्तै, यी दुई टिमले टी–२० आईमा समग्रमा २६ खेलमा एकअर्काविरुद्ध खेलेका छन्, जसमा भारतले १४ र दक्षिण अफ्रिकाले ११ खेल जितेको विगत छ । 

यी दुई टिमबीचको एक खेल भने रद्द भएको छ । पछिल्लो पाँच खेलको कुरा गर्दा दक्षिण अफ्रिकाले भारतलाई तीन म्याचमा हराएको छ । यसरी इतिहास हेर्दा यी दुई टिमबीच कडा प्रतिस्पर्धा भएको देखिन्छ ।

विश्वकप फाइनलमा पनि भारत र दक्षिण अफ्रिका स्मरणयोग्य प्रदर्शन गरेर उपाधि हात पार्न पूरा कोसिस गर्नेछन् । 

  • प्रकाशित मिति : असार १४, २०८१ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया