logo-img

कृषिमन्त्रीको गुनासो : बिचौलियाको स्वार्थका कारण दुग्ध किसानको बक्यौता भुक्तानी गर्न सकिएन

कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वालाकुमारी साहले बिचौलियाको स्वार्थको कारण दुग्ध किसानको बक्यौता भुक्तानी गर्न नसकिएको बताएकी छन् । 

शुक्रबार नेपाल लाइभस्टक सेक्टर इनोभेसन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री साहले आफूले ३० करोड भुक्तानी गरेको भए पनि २५ प्रतिशत सञ्चालकको भत्ता र तलब दिने निर्णय गरेका कारण दुग्ध किसानको भुक्तानी दिन नसकिएको भन्दै यस कार्यमा संलग्नलाई कारबाही गर्नुपर्ने बताइन् । 

‘सरकार ऋणमा डुब्न तयार हुनुपर्छ । तर किसान जो दूधको भुक्तानीले आफ्नो जीवनयापन गरिरहेका छन् । त्यस्तो किसानहरूलाई छिटो रुपमा भुक्तानी हुनुपर्छ भनेर म मन्त्री भएर आइसकेपछि ३० करोड भुक्तानी गरेको हो । तर बिचौलियाहरू आफ्नो स्वार्थ पूरा गर्नको लागि जुन शीर्षकमा भुक्तानी गयो, त्यो शीर्षकबाट बाहिर सञ्चालक समिति बसेर बाँडेर २५ प्रतिशत सञ्चालकको भत्ता र तलब दिने निर्णय गरेको छ । अब त अप्रेशन नगरिकन सुख छैन । अप्रेशन त गर्नै पर्छ,’ उनले भनिन् ।  

यस कार्यमा संलग्नलाई समयमै कारबाही गर्न नसके बिचौलियाहरूको मनोबल बढ्दै साहको भनाइ छ । मन्त्री भएर पनि उद्देश्यहरू पूरा गर्न सकेन भने मन्त्रीको अर्थ नरहने भन्दै कृषिलाई बजारीकरण गर्ने तर्फ अगाडि बढ्ने उनको दाबी छ । 

‘जबसम्म कृषि, बजारीकरण र सिँचाइमा सुधार आउँदैन । मन्त्री भएर पनि उद्देश्यहरू पूरा हुन सकेन, आफूले गरेका कामहरू सफल हुन सकेन भने त्यो मन्त्रीको अर्थ पनि रहँदैन । जुनबेला सबै कुरामा आत्मनिर्भर हुन सक्छौ, आयातलाई प्रतिस्थापन गरेर निर्यात बढाउन सक्छौँ, त्यतिबेला मात्र हामी सफल हुन्छौं । यो मन्त्रालयलाई एउटा केन्द्रविन्दु बनाएर, विशेष प्राथमिकतामा राखेर यो कृषि मन्त्रालय भएन भने देश अगाडि बढ्न सक्दैन,’ मन्त्री साहले भनिन् ।

त्यस्तै, मन्त्री साहले सरकारले कृषि दशक घोषणा गरिसकेकाले सबै तहका सरकारले कृषिलाई प्राथमिकतामा राखेर यस्ता आयोजनाबाट प्राप्त नतिजा र उपलब्धिलाई संस्थागत गर्ने आवश्यक पहल गर्न जरुरी रहेको बताइन् । 





  • प्रकाशित मिति : असार १४, २०८१ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया