logo-img

दक्षिण अफ्रिका भर्सेस भारत : ‘हेड टु हेड’ मा कुन टिम अगाडि ?

आइसिसी टी–२० विश्वकप क्रिकेटको उपाधिका लागि भारत र दक्षिण अफ्रिका प्रतिस्पर्धा गर्दै छन् । यी दुई टोलीबीचको फाइनल भिडन्त शनिबार राति सवा ८ बजेदेखि बार्बाडोसस्थित केन्सिङ्टन ओवल मैदानमा सुरु हुनेछ ।  

विश्वकपमा भारत र दक्षिण अफ्रिका अपराजित छन् । भारतले समूह चरणमा आयरल्याण्ड, पाकिस्तान र अमेरिकालाई हराउँदा क्यानडासँग वर्षाका कारण अंक बाँडेको थियो । 

यस्तै, उसले सुपर–८ मा अस्ट्रेलिया, बंगलादेश र अफगानिस्तानलाई हरायो । भारतले सेमिफाइनलमा डिफेन्डिङ च्याम्पियन इंग्ल्याण्डलाई ६८ रनले स्तब्ध पार्दै फाइनलको यात्रा गर्‍यो । ऊ अब आफ्नो उत्कृष्ट लयको फाइदा उठाउँदै उपाधि जित्ने योजनामा छ ।  

१० वर्षपछि विश्वकपको फाइनलमा 

भारतले १० वर्षपछि फाइनल खेलिरहेको हो । उसले पछिल्लोपटक सन् २०१४ को विश्वकपको फाइनल खेलेको थियो, जहाँ ऊ श्रीलंकासँग पराजित भएको थियो । भारतले हालसम्म एकपटक टी–२० विश्वकपको उपाधि जितेको छ । 



उसले डेब्यू विश्वकप अर्थात् सन् २००७ को संस्करणको उपाधि जितेको थियो । त्यसयता भारतले उपाधि हात पार्न सकेको छैन । 



दक्षिण अफ्रिका पहिलोपटक फाइनलमा 

दक्षिण अफ्रिका पहिलोपटक फाइनल खेल्न लागेको हो । ऊ यसअघि सेमिफाइनलबाटै बाहिरिँदै आएको थियो । यसपालि भने दक्षिण अफ्रिका उच्च लयमा छ । उसले समूह चरणमा श्रीलंका, नेदरल्याण्ड्स, बंगलादेश र नेपाल तथा सुपर–८ मा अमेरिका, इंग्ल्याण्ड र वेस्ट इण्डिजलाई हराएको थियो ।

 

यस्तै, दक्षिण अफ्रिकाले सेमिफाइनलमा अफगानिस्तानलाई ९ विकेटले हरायो । योसँगै ऊ टी–२० विश्वकपमा लगातार आठ खेल जित्ने पहिलो टिम बनेको छ । अब दक्षिण अफ्रिका भारतलाई पनि स्तब्ध पार्दै पहिलो मौकामै उपाधि जित्न चाहन्छ । 

‘हेड टु हेड’ मा भारत अगाडि  

हालसम्म भारत र दक्षिण अफ्रिकाले टी–२० विश्वकपमा ६ खेलमा एकअर्काको सामना गरेका छन्, जसमा भारतले चार र दक्षिण अफ्रिकाले दुई खेलमा जित निकालेको इतिहास छ । 

यस्तै, यी दुई टिमले टी–२० आईमा समग्रमा २६ खेलमा एकअर्काविरुद्ध खेलेका छन्, जसमा भारतले १४ र दक्षिण अफ्रिकाले ११ खेल जितेको छ ।  

 

भारत र दक्षिण अफ्रिकाबीचको एक खेल भने रद्द भएको छ । पछिल्लो पाँच खेलको कुरा गर्दा दक्षिण अफ्रिकाले भारतलाई तीन खेलमा हराएको छ । यी दुई टिमले अन्तिमपटक १४ डिसेम्बर २०२३ मा खेलेका थिए, सो खेलमा भारत १०६ रनले विजयी भएको थियो ।   

  • प्रकाशित मिति : असार १४, २०८१ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया