logo-img

दुग्धजन्य पदार्थमा नेपाल निर्भर भएको छ, अब ब्राण्डिङमा जोड दिऔँ : प्रल्हाद दाहाल [अन्तर्वार्ता]

नेपालको जीवनशैली प्रकृति र माटोसँग निकट छ । कृषिप्रधान मुलुक भएकाले १५ असारलाई दही चिउरा खाने दिनका रूपमा मनाइँदै आएको छ । १५ असार २०६१ देखि आजको दिनलाई राष्ट्रिय धान दिवसमा रूपमा पनि मनाइँदै आएको छ । धान रोप्ने अनि मानो खाएर मुरी उब्जाउने महिनाका रूपमा असारको भिन्नै महत्व रहेको पाइन्छ । प्रस्तुत छ, दहीचिउराको महत्व र धान दिवसका सवालमा नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहालसँग गरिएको कुराकानी :

विगत वर्षमा कति दही खपत भएको थियो । यो वर्ष तुलनात्मक रूपमा घट्यो कि बढ्यो ?

पहिलेको तुलनामा माग कम नै छ । किनकी पहिलेको तुलनाका लगभग पोहोर सालको भन्दा १७ लाख जनसङ्ख्या घटेको छ । १७ लाखले नखाँदा त केही मात्रामा कम त भइनैहाल्यो । अर्को कुरा आर्थिक मन्दी, त्यहीमाथि दही दूधको मूल्य पनि पहिलाको भन्दा अलिकति महङ्गो भएको र विभिन्न कारणले पहिलाको तुलनामा अलि कम नै हो । गत सालको आँकडा झण्डै एक करोड लिटरको थियो भने अहिले ८० लाख लिटरको आँकडा गरेको छौं । 

यसपालि दूधको बक्यौता भुक्तानी हुन नसक्दा किसान लगातार आन्दोलनमा छन् । किसानले कृषि पेसा नै छाडेर अन्य पेसामा लाग्छन् जस्तो लाग्छ ?

नेपालमा डेरी इतिहासको ७० वर्षमा पहिलोचोटी यस्तो अप्ठ्यारो परिस्थितिमा आएको छ । जति खपत हुनुपर्ने हो त्यति बजारमा खपत भएको छैन । किसानको दूध पोख्नुभन्दा त्यसलाई धुलो बनाएर राखौँ भनेर राख्यौँ । त्यसलाई राख्दा खपत भएन । चालू पुँजी अड्कियो । त्यस कारण किसानको भुक्तानी समयमा हुन सकेन । त्यसैले अहिले राज्यलाई के भनेका हौं भने हाम्रो स्टकलाई धितो राखेर ऋण उपलब्ध गराउनुपर्‍यो र किसानको पैसा तुरुन्तै भुक्तानी गर्न सक्छौं । मन्त्रालयमा छलफल चलिरहेको छ । चाँडै हाम्रो बैठकले एउटा निर्णय लिन्छ । किसानले यसरी भुक्तानी नपाउनुमा डेरी उद्योगीहरू अत्यन्तै दु:खी छौँ ।

दही बनाउनको लागि दूध चाहिँ कुन–कुन जिल्लाबाट बढी आयात हुने गर्दछ ?



दूध त विभिन्न जिल्लाबाट आयात हुन्छ र आयात गरेको दूधबाट डेरी उद्योगहरूले दही बनाउने गर्दछन् । बिशेषगरी नेपालमा बढी दूध उत्पादन हुने जिल्ला काभ्रे, चितवन, नवलपरासी मकवानपुर, पूर्वमा झापा, इलाममा यिनिहरू नै जिल्लामा अलि बढि उत्पादन हुन्छ । तर, काठमाडौंमा आउने भनेको चाहिँ बुटवलतिरबाट, तराई मधेश र नवलपरासीबाट आउँछ ।

एशोसिएसनको तर्फबाट दूध उत्पादन गर्न प्रोत्साहनको लागि के कस्तो पहलकदमी लिनुभएको छ ? 



हाम्रो काम भनेकै पैरवी गर्ने हो । केही कुराहरू अप्ठ्यारो आयो भने हामीलाई जानकारी भएको कुराहरू छलफल गरेर सम्बन्धित निकायमा पुर्‍याउने, किसानहरुको लागत कसरी घटाउनेलगायतका कुरामा नीतिगत अप्ठ्यारो भएको छ । यो विषय उठाइदियो भने किसानहरूलाई राहत हुने र हामीलाई पनि राम्रो हुन्छ । दूधको लागत घट्यो भने हामीले पनि सस्तोमा पाउने भयौँ । र उपभोक्तालाई पनि सस्तोमा दिन सकिन्छ । यस्ता कुराहरूमा सरकारसँग किसानहरूका पक्षमा पैरवी गर्ने गरेका छौं । अहिले हामी ८० प्रतिशतले आत्मनिर्भर छौं । २० प्रतिशत चाहिँ अझै पनि आत्मनिर्भर हुन बाँकी छ ।

६ लाख कृषकले प्रत्यक्ष रोजगारी पाउनुभएको छ । उद्योग क्षेत्रमा लगभग ५० हजारले रोजगार पाउनुभएको छ । निजी क्षेत्रबाट ४५ अर्ब लगानी भएको छ । छुर्पी बनाएर तीन अर्ब निर्यात पनि गर्ने गर्दछौं । राज्यले थोरै मात्र हामीलाई सहयोग गर्‍यो भने धेरै कुरा गर्न सक्छौं । तर, राज्यले केही गरेको छैन । उपभोग कम भएपछि राज्यलाई लागत घटाउन उपभोग बढाउन भन्यौँ । पनिर, घिउ, चिजमा लाग्ने १३ प्रतिशत भ्याट घटाए हुन्छ । हामीसँग स्टक सामान छ । किसानको पैसा तिर्न सकेको छैनौं । यी कुराहरुलाई सरकारले त्यत्ति धेरै चासो नदिएको अवस्था छ । 

असार १५ का लागि देशभित्र अत्यधिक दहीको माग हुन्छ । कुन–कुन देशबाट ल्याउने गरिएको छ, कि छैन ?

नेपालमा अहिले विदेशी दूधजन्य पदार्थ पूर्णरुपमा ब्यान्ड गरिएको छ । गत वर्षहरूमा पनि आन्तरिक उत्पादनले नै पुराउने गरेका थियौं । दूधको कुरामा दूध बढी हुने बेलामा हामीले धुलो दूध बनाएर राख्छौ र बढी माग भएको बेलामा धुलो दूध प्रयोग गरेर दही बनाउने गर्छौँ । 

असार १५ लाई भनेर लगभग असारको १ गतेदेखि नै त्यसलाई विस्तारै विस्तारै बढाउँदै लगेर लगभग एउटा डेरीमा पाँचसय लिटर दही सामान्य अवस्थामा विक्री हुने गर्छ । तर, असार १५ मा लगभग २५ सय लिटर जति दही विक्री हुन्छ । पाँच गुणा बढि व्यापार हुन्छ । कुल उत्पादनको ३१ लाख लिटरमा लगभग १५ लाख ५० हजार लिटर दहीमा खर्च हुन्छ । १५ लाख ५० हजार लिटर दूधमा खपत हुन्छ । पाँच गुणा हुँदा ८० लाख लिटर हुन्छ ।

आन्तरिक उत्पादनले पुग्छ भन्नुभयो तर बजारमा भारतीय दुधजन्य पदार्थ पनि आइरहेको छ भन्ने चर्चा छ । यसको वास्तविकता के हो ?

स्वदेशमा उत्पादन हुने दही, दूध स्वदेशमा नै खपत भइरहेको छ । दही र दूधमा परनिर्भर हुन परेको छैन । यहीको उत्पादनले हामीलाई पुगेको छ । खपत अलि धेरै बढाउनुपर्ने अवस्था छ । दही मात्र होइन, दूध, मइ, छुर्पी, मिठाइ सबै कुराहरू प्राथमिकता दिनुपर्ने अवस्था छ । हिजोआज हाम्रो परम्परा कोक–फेन्टा खाने मोही नखाने, लस्सी नखाने, भोजतिर पनिर नराख्ने, मीठो खाने कुरामा दही नराखेर अरू नै राख्ने चलन छ । तीनै कुराहरू भोजहरूतिर राख्ने हो भने स्वदेशी उत्पादन खपत हुन्छ र बाहिरबाट ल्याउन पनि पर्दैन । 

विदेशी उत्पादनभन्दा स्वदेशी उत्पादन खपत गर्ने कुरामा सबैजना लागौँ र स्वदेशी उद्योग यहाँका किसान र उनीहरूले गरेको उत्पादनलाई बचाएर लामो समयसम्म व्यवसायलाई टिकाइ राख्नुपर्छ । 

बढी भएको दूध धुलो बनाएर राख्ने गरेका छौँ भन्नुभयो । त्यो दूधमा मिसावट हुन्छ स्वास्थ्यको लागि राम्रो हुँदैन भनिन्छ । प्रक्रिया कस्तो हुन्छ ?

त्यो खानयोग्य पाउडर हो । तरल दूधलाई नै ड्राइ गरेर पाउडर बनाउने हो । त्यसको मिति एक वर्षसम्म हुन्छ । त्यसकारण अखाद्य वस्तु होइन । खाद्य पदार्थ हो । प्रयोग गर्न सकिन्छ । हामीले प्रयोग पनि गरिरहेका छौँ । विश्वभर नै यस्तै गरिन्छ, यसलाई अन्यथा मान्नु पर्दैन । 

धुलो दूध मात्रबाट दही बन्न सक्छ ?

धुलो दूध मात्रबाट दही बन्न सक्दैन । तर, अरू दूधमा प्रतिशतको हिसाबले २०–२५ प्रतिशत मिसाउँदा खासै फरक गर्दैन् ।  

  • प्रकाशित मिति : असार १५, २०८१ शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया