logo-img

के पुनः माओवादी-एमाले एक हुन लागेका हुन् ?
प्रधानमन्त्री दाहाल भन्छन्- विगतमा नेकपा दिगो बनाउन सकिएन, अब अनुभवबाट शिक्षा लिँदै पुनः एकताको ढोका खोल्नुपर्छ
फाइल फाेटाे

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विचारधारात्मक प्रश्नहरूमा समान दृष्टिकोण निर्माण गर्दै कम्युनिष्ट एवं वामपन्थी शक्तिहरू एकताबद्ध हुनुपर्छ भन्नेमा आफू र आफू नेतृत्वको पार्टी स्पष्ट रहेको बताएका छन् ।
 
नेकपाका संस्थापक महासचिव पुष्पलालको ‘पुष्पलाल जन्मशताब्दी’ समारोहलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष दाहालले नेपाली कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्ने प्रयासमा कम्युनिस्ट एवं वामपन्थी शक्तिहरूले भूमिका खेल्दै आएको बताए । 

‘विगतमा नेपाल दुई ठूला कम्युनिस्ट पार्टीलाई एकताबद्ध गर्ने प्रयासस्वरूप नेकपा निर्माण गर्‍यौँ । तर, कतिपय हाम्रा सीमा तथा कतिपय सन्दर्भमा वैचारिक प्रश्नहरूमा समान दृष्टिकोण निर्माण र बुझाइ कायम गर्ने कुरामा हतारिँदा एकता दीगो हुन सकेन’, प्रधानमन्त्री दाहालले भने, ‘विगतका अनुभवबाट समेत शिक्षा लिँदै वामपन्थी शक्तिहरूबीचको समीकरण सुदृढ गर्ने र सहकार्यलाई बलियो बनाउँदै जानुपर्छ ।’

व्यवस्थामा आएको परिवर्तनअनुरूप जनताको जीवनमा गुणात्मक परिवर्तन ल्याउने कोशिस जारी रहेको बताउँदै प्रधानमन्त्रीले सामन्ती व्यवस्थाको अन्त्यपछि देशले पूर्वाधार, शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा, सामाजिक न्याय लगायतका क्षेत्रमा गुणात्मक प्रगति हासिल गरेको बताए । 

‘दशकौँ लामो सङ्घर्षका बलमा समाजवादउन्मुख संविधान निर्माण गर्न सफल भएका छौँ’, प्रधानमन्त्री दाहालले भने, ‘सामन्ती राजतन्त्रको ठाउँमा समावेशी गणतन्त्र, एकात्मकताको ठाउँमा विकेन्द्रिकरणसहितको सङ्घीय प्रणाली, एकल भाषा, धर्म र संस्कृतिको ठाउँमा बहुभाषिकता, धर्मनिरपेक्षता र प्रगतिशील संस्कृतिको निर्माणलगायतका उपलब्धी प्राप्त गरेका छौँ ।’ 

पुष्पकमल दाहाल प्रचण्ड | प्रधानमन्त्री

क्रान्तिले आम जनसमुदायमा शीघ्र परिर्वतनको आकाङ्क्षा जगाइदिएको परिस्थितिमा जनताको आकाङ्क्षाबमोजिम परिवर्तनको बेगलाई बढाउनुपर्ने जिम्मेवारी र चुनौती रहेको बताउँदै प्रधानमन्त्रीले जनआकांक्षा पूरा गर्न कम्युनिस्ट तथा वामपन्थी शक्तिहरूले थप जिम्मेवारीका साथ काम गर्नुपर्नेमा जोड दिए । 



‘म यही मञ्चमार्फत् सबै कम्युनिस्ट घटक र नेताहरूमा अपील गर्दछु– साझा मुद्दाहरूमा सहकार्य गर्दै अगाडि बढौँ । वैचारिक प्रश्नहरूमा गहन छलफल गरौँ र समान दृष्टिकोण निर्माणको दिशामा अगाडि बढौँ’, प्रधानमन्त्री दाहालले भने, ‘इतिहास, हाम्रा स्कुल र पूर्वाग्रहका आधारमा होइन, नेपालमा समाजवादी क्रान्ति पूरा गर्ने सङ्कल्पका साथ खुला हृदयले बहस गरौँ र उचित निष्कर्षमा पुगौँ ।’

निरङ्कुता विरोधी योद्धा, श्रमजीवी वर्गप्रति झुकाव उदार प्रजातन्त्रवादी, सिद्धान्तनिष्ठ, सरल तथा मिलनसार, इतिहास, समाजशास्त्र, मानवशास्त्रका ज्ञाता कमरेड पुष्पलालका योगदानहरूको सम्मान गर्दै प्रधानमन्त्री प्रचण्डले क्रान्तिको बाँकी कार्यभार पूरा गर्न सहकार्यका साथ अगाडि बढ्न आग्रह गरे ।  



  • प्रकाशित मिति : असार १५, २०८१ शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया