logo-img

पहाडमा पहिरो, तराईमा बाढी : २४ घण्टामा ९ जनाको मृत्यु

अविरल वर्षासँगै तराईमा बाढी र पहाडमा पहिरोको कहर सुरु भएको छ । बाढी र पहिरोको कारण बितेको २४ घण्टामा मात्र सयौं जना विस्थापित भएका छन् भने नौ जनाको मृत्यु भएको छ । 

अविरल वर्षाका कारण गुल्मीको मालिका गाउँपालिका–६ कडेलपाटा बस्ने ५५ वर्षीय भेष बहादुर कामीको घर गएराति माथिबाट ढुंगा, माटोसहितको पहिरो आई पुरिँदा एकै परिवारका ५ जनाको मृत्यु भएको छ । 

पहिरोमा पुरिएर भेषबहादुर कामी, उनकै श्रीमती ४८ वर्षीया सुन्तली कामी, बुहारी २६ वर्षीया सिता बिक, नातिनीहरू ८ वर्षीया सपना बिक र ८ महिनाको विपना विकको मृत्यु भएको हो । 

पहिरोले घर पुरिँदा ५ जना बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय गुल्मी र प्रहरी चौकी ईश्माबाट खटिएको प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा उद्धार एवं खोजी गर्ने क्रममा उनीहरूको शव फेला परेको हो ।

स्याङ्जा, अविरल वर्षाको कारण फेदीखोला गाउँपालिका–५ बाँगे बस्ने दुर्गा जिटीको घर र गोठ पहिरोले पुरिँदा एकै परिवारका आमा छोरीको शुक्रबार राति मृत्यु भएको छ । 

पहिरोले पुरिएर घरमा सुतिरहेकी ३१ वर्षीया दुर्गा जिटी र उनकै छोरी ३ वर्षीया निसिका जिटीको घटनास्थलमै मृत्यु भएको हो । बागलुङ, अविरल वर्षाको कारण गल्कोट नगरपालिका–८ बिसौना बस्ने ५५ वर्षीय प्रेम बिकको घर पहिरोले पुरिँदा विक र उनकै श्रीमती ५० वर्षीया बसन्ती विकको शनिबार बिहान मृत्यु भएको छ ।



पहिरोले घर पुरिएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी हटिया र इलाका प्रहरी कार्यालय गल्कोटबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा दुवै जनाको शव फेला परेको हो । 

पहिरो गएका स्थानमा तत्काल खटिएको प्रहरीले आवश्यक उद्धार कार्य गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।



  • प्रकाशित मिति : असार १५, २०८१ शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया