नवौँ संस्करणको आइसिसी टी–२० विश्वकप क्रिकेटको फाइनलमा दक्षिण अफ्रिकाविरुद्ध भारतले सस्तैमा दुई विकेट गुमाएको छ । भारतले दोस्रो विकेटको रूपमा विकेटकिपर ऋषभ पन्तलाई गुमायो ।
उनी दोस्रो ओभरको अन्तिम बलमा केशव महराजको हातबाट शून्यमै क्याच आउट भए । यही ओभरको चौथो बलमा रोहित शर्मा आउट भए । उनी पनि महाराजको बलमा क्याच आउट भए ।
रोहितले आज ५ बलमा दुई चौकाको सहयोगमा ९ रन जोडे । बार्बाडोसस्थित केन्सिङ्टन ओवल मैदानमा टस जितेर ब्याटिङ रोजेको भारतले तीन ओभरको खेल सकिँदा दुई विकेट गुमाएर २६ रन बनाएको छ ।
भारत र दक्षिण अफ्रिकाले फाइनल खेलमा पनि प्लेइङ–११ मा कुनै पनि खेलाडी परिवर्तन गरेको छैन । जारी विश्वकपमा भारत र दक्षिण अफ्रिका अपराजित छन् । भारतले १० वर्षपछि विश्वकप फाइनल खेलिरहेको हो । उसले पछिल्लोपटक सन् २०१४ को विश्वकपको फाइनल खेलेको थियो, जहाँ ऊ श्रीलंकासँग पराजित भएको थियो ।
भारतले हालसम्म एकपटक टी–२० विश्वकपको उपाधि जितेको छ । उसले डेब्यू विश्वकप अर्थात् सन् २००७ को संस्करणको उपाधि जितेको थियो । त्यसयता भारतले उपाधि हात पार्न सकेको छैन ।
दक्षिण अफ्रिका पहिलोपटक फाइनल खेल्न लागेको हो । ऊ यसअघिको विश्वकपमा सेमिफाइनलबाटै बाहिरिँदै आएको थियो ।
विश्वकप २०२४ मा भारतीय टिमको नेतृत्व रोहित शर्माले गरिरहेका छन् । उनले सन् २०२२ को विश्वकपमा पनि भारतको कप्तानी सम्हालेका थिए । उक्त संस्करणमा भारत सेमिफाइनलबाटै बाहिरिएको थियो ।
दक्षिण अफ्रिका जारी विश्वकपमा अलराउन्डर एडन मार्कमको कप्तानीमा खेलिरहेको छ । २०२२ को विश्वकपमा दक्षिण अफ्रिका सुपर–१२ बाटै बाहिरिएको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।