नवौँ संस्करणको आइसिसी टी–२० विश्वकप क्रिकेटको फाइनलमा दक्षिण अफ्रिकाविरुद्ध भारतले चौथो विकेट गुमाएको छ । भारतले चौथो विकेटको रूपमा अक्षर पटेललाई गुमाएको हो ।
उनलाई १३.३ ओभरमा क्विन्टन डिककले रनआउट गरे । अक्षरले आज ३१ बलमा चार छक्का र एक चौकासहित ४७ रन बनाए । बार्बाडोसस्थित केन्सिङ्टन ओवल मैदानमा टस जितेर ब्याटिङ रोजेको भारतले १४ ओभरको खेल सकिँदा चार विकेट गुमाएर १ सय ८ रन बनाएको छ ।
भारतले तेस्रो विकेटको रूपमा सूर्यकुमार यादवलाई गुमायो । उनले आज चार बलमा तीन रन मात्र बनाए । सूर्यलाई कागिसो रबाडाले ४.३ ओभरमा क्याच आउट गराएका हुन् ।
भारतले दोस्रो विकेटको रूपमा विकेटकिपर ऋषभ पन्तलाई गुमायो । उनी दोस्रो ओभरको अन्तिम बलमा केशव महराजको हातबाट क्याच आउट भए ।
यही ओभरको चौथो बलमा रोहित शर्मा आउट भए । उनी पनि महाराजको बलमा क्याच आउट भए । रोहितले आज ५ बलमा दुई चौकाको सहयोगमा ९ रन जोडे ।
भारत र दक्षिण अफ्रिकाले फाइनल खेलमा पनि प्लेइङ–११ मा कुनै पनि खेलाडी परिवर्तन गरेको छैन । जारी विश्वकपमा भारत र दक्षिण अफ्रिका अपराजित छन् । भारतले १० वर्षपछि विश्वकप फाइनल खेलिरहेको हो । उसले पछिल्लोपटक सन् २०१४ को विश्वकपको फाइनल खेलेको थियो, जहाँ ऊ श्रीलंकासँग पराजित भएको थियो ।
भारतले हालसम्म एकपटक टी–२० विश्वकपको उपाधि जितेको छ । उसले डेब्यू विश्वकप अर्थात् सन् २००७ को संस्करणको उपाधि जितेको थियो । त्यसयता भारतले उपाधि हात पार्न सकेको छैन ।
दक्षिण अफ्रिका पहिलोपटक फाइनल खेल्न लागेको हो । ऊ यसअघिको विश्वकपमा सेमिफाइनलबाटै बाहिरिँदै आएको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।