logo-img

भारतले १७ वर्षपछि जित्यो टी-२० विश्वकपको उपाधि, दक्षिण अफ्रिकाको सपना अधुरै

नवौँ संस्करणको आइसिसी टी–२० विश्वकप क्रिकेटको उपाधि भारतले जितेको छ । शनिबार राति सम्पन्न फाइनल खेलमा दक्षिण अफ्रिकालाई ७ रनले हराउँदै भारतले उपाधि जितेको हो । उसले १७ वर्षपछि टी–२० विश्वकपको उपाधि जितेको हो ।

भारतले पछिल्लोपटक सन् २००७ मा यो ढाँचाको विश्वकपको उपाधि जितेको थियो । दक्षिण अफ्रिकाको सपना भने अधुरै रह्यो । फाइनलमा भारतले दिएको १ सय ७७ रनको लक्ष्य पछ्याउनेक्रममा दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ६९ रन मात्र बनाउन सक्याे । 

उसका लागि हेनरिक क्लासेनले आक्रामक इनिङ खेले । उनले २७ बलमा पाँच छक्का र दुई चौकासहित ५२ रनको पारी खेलेका हुन् । यस्तै, क्विन्टन डिककले ३१ बलमा चार चौका र एक छक्कासहित ३९ रन बनाए । ट्रिस्टन स्टब्सले २१ बलमा तीन चौका र एक छक्कासहित ३१ रनको पारी खेले । 

यस्तै, डेविड मिलरले २१ रन जोडे । भारतका लागि हार्दिक पाण्ड्याले तीन, जसप्रित बुमराह र अर्शदीप सिंहले दुई/दुई तथा अक्षर पटेलले एक विकेट लिए ।

त्यसअघि क्यारेबियन मुलुक बार्बाडोसस्थित केन्सिङ्टन ओवल मैदानमा टस जितेर ब्याटिङ रोजेको भारतले  निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ७६ रन बनायो । 

उसका लागि ओपनिङ ब्याटर विराट कोहलीले अर्धशतकीय इनिङ खेले । उनले आज ५९ बलमा ६ चौका र दुई छक्कासहित ७६ रनको इनिङ खेले । विश्वकप २०२४ मा उनको यो पहिलो अर्धशतक हो । समग्र टी–२० आई करियरमा भने कोहलीको यो ३८औँ अर्धशतक हो । 



यस्तै, अलराउन्डर अक्षर पटेलले ३१ बलमा चार छक्का र एक चौकासहित ४७ रन बनाए । त्यस्तै, शिवम दुबेले १६ बलमा तीन चौका र एक छक्कासहित २७ रनको पारी खेले । 

दक्षिण अफ्रिकाका लागि केशव महाराज र एनरिक नोर्टजेले दुई/दुई तथा मार्को यान्सन  र कागिसो रबाडाले एक/एक विकेट लिए । दसौँ संस्करणको टी–२० विश्वकप सन् २०२६ मा भारत र श्रीलंकामा आयोजना हुनेछ । उक्त विश्वकपमा पनि २० टिमको सहभागिता रहनेछ ।   



  • प्रकाशित मिति : असार १५, २०८१ शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया