logo-img

संसद् दिवसको शुभकामना दिँदै अध्यक्ष दाहालको सुझाव- सत्ताको जोडघटाउभन्दा संसद्लाई माथि राखौँ

संसद्लाई सत्ताको जोडघटाउभन्दा माथि राखेर जनताका आवाज बुलन्द गर्ने र समृद्ध नेपाल निर्माणका लागि आवश्यक कानुन निर्माण गर्ने थलोका रूपमा विकास गर्नुपर्नेमा राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले जोड दिएका छन् । 

संसद् दिवसका अवसरमा आज जारी गरेको शुभकामना सन्देशमा अध्यक्ष दाहालले जनताका प्रतिनिधिहरूको सर्वोच्च थलो संसद्मा विविध विचार, दर्शन र राजनीतिक दलहरूको प्रतिनिधित्व रहने उल्लेख गर्दै हाल नेपालमा विभिन्न समयमा भएका सशक्त र सशस्त्र आन्दोलनका बलमा हामी गणतन्त्रात्मक सङ्घीय शासन प्रणालीको प्रक्रियामा रहेका बताएका छन् ।

सन्देशमा उनले संसद्को गरिमालाई उच्च बनाउन र विधिको शासनप्रति इमान्दार रहन हामी सबैले संसद् दिवसका अवसरमा सामूहिक प्रतिबद्धता व्यक्त गर्नुपर्नेमा जोड दिएका छन् । अध्यक्ष दाहालले जनतालाई वास्तविक लोकतन्त्रको अनुभूति गराउन र परिवर्तनको आभास दिलाउनसके मात्रै संसद् दिवस मनाउनुको सार्थकता हुने बताएका छन् । 

संसद् दिवसका अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी दाजुभाइमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको कामना गर्दै सन्देशमा उनले लोकतन्त्र प्राप्तिका लागि भएका विभिन्न ऐतिहासिक जनसंङ्घर्ष, जनयुद्ध र जनआन्दोलनमा आफ्नो जीवन उत्सर्ग गरेका महान् सहिदहरूप्रर्ति  श्रद्धाञ्जलि व्यक्त गरेका छन् । साथै सङ्घर्षका क्रममा बेपत्ता हुनुभएका तथा घाइते भई अपाङ्गता जीवन बिताइरहेका सम्पूर्ण योद्धाहरूप्रति उनले सम्मान  व्यक्त गरेका छन् । 

नेपालमा संसदीय अभ्यास सुरु भएको यस दिनले संसदीय सर्वोच्चता, विधिको शासन र लोकतन्त्रप्रति अझ इमान्दार, प्रतिबद्ध र जिम्मेवार बन्न जनप्रतिनिधि, राजनीतिक दल, नागरिक समाज र पत्रकारलगायत सबैलाई प्रेरणा दिने विश्वास अध्यक्ष दाहालले सन्देशमा व्यक्त गरेका छन् ।

विसं २०१६ असार १६ गते नेपालको पहिलो जननिर्वाचित संसद्को पहिलो बैठक बसेको थियो । सोही दिनको स्मरण गर्दै हरेक वर्ष आजकै दिन संसद् दिवस मनाउने गरिएको छ ।  





  • प्रकाशित मिति : असार १६, २०८१ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया