logo-img

एघार महिनामा झण्डै १३ अर्ब बराबरको धान आयात, प्रधानमन्त्री भन्छन्- अब आत्मनिर्भर बन्छौँ

नेपाललाई कृषिमा आत्म निर्भर बनाउने योजना दशकौँ पुरानो हो । शनिबार मात्रै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २१औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, २०८१ का अवसरमा चितवनको रत्ननगर बछौलीमा आयोजित कार्यक्रममा धान उत्पादन बढिरहेको दाबी गरे । 

धानको उत्पादन बढाउनलाई यान्त्रिकीकरण र व्यवसायीकरणमा जोड दिँदै सरकारले आगामी दशकलाई कृषि दशक भनेर नीति तथा कार्यक्रम  बजेटमा प्राथमिकतामा राखिएको बताए । 

धानमा आत्मनिर्भर हुन व्यावसायिक खेती प्रणाली, सिचाइको सुविधा, यान्त्रिकीकरणलाई प्राथमिकतामा राखिने प्रधानमन्त्रीको भनाइ थियो । तर नेपालमा धान उत्पादनको अवस्था भारतबाट आयत हुने चामलको तथ्याङ्क हेर्दा टिठलाग्दो छ । सरकारी उपेक्षा कारण बर्सेनि कृषि उपज मात्रै ३ खर्ब रुपैयाँ बराबरको आयात भइरहेको तथ्याङ्क छ ।

प्रधानमन्त्रीदेखि कृषि मन्त्रीसम्मले आगामी वर्षमा मुलुक धानमा आत्मनिर्भर बन्ने भनेर घोषणा गर्दै आइरहेका छन् । तर कृषि तथा पशुपन्छी विकास मन्त्रालयका निकायहरूले सार्वजनिक गरेको तथ्याङ्कमा चालु आर्थिक वर्षको एघार महिनामा १२ अर्ब ४३ करोड ९१ लाख रुपैयाँ बराबरको ३ लाख ७ हजार ४ सय १७ मेट्रिक टन धान आयात भएको छ ।

यस्तै ८ अर्ब ६९ करोड १७ लाख रुपैयाँ बराबरको विभिन्न प्रकारको ८२ हजार ७ सय ९१ मेट्रिक टन चामल पनि आयात भएको छ । नेपालमा ८० लाख टन धानको माग छ । हाल स्वदेशमा वार्षिक ५१ देखि ५५ लाख टन हाराहारी मात्रै धान उत्पादन भइरहेको छ । मागअनुसार वार्षिक करिब ३० लाख टन धान अपुग छ ।

एक सय किलो धानबाट ६० किलो चामल तयार हुन्छ । तर, अहिले ३० लाख ६० हजार चामल मात्रै उत्पादन भइरहेको छ । चामल मात्रै साढे १७ लाखदेखि १८ लाख टन अभाव रहेको आकलन गरिएको छ । 



चालु आर्थिक वर्ष २०८०/८१ मै नेपालमा १३ लाख ३४ हजार २७७ हेक्टरबाट ५२ लाख ३ हजार ४ सय २६ मेट्रिक टन धान फलेको थियो । त्यस्तै गत आर्थिक वर्ष २०७९/८० मा २० अर्ब ७५ लाखको धान र १५ अर्ब ९१ करोडको चामल आयात भएको थियो ।



  • प्रकाशित मिति : असार १६, २०८१ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया