logo-img

अभिनेत्री जया प्रदा नेपालमा, प्रतिष्ठित व्यक्तिलाई दिइयो अवार्ड

‘ईण्डो नेपाल सांस्कृतिक समारोह तथा छैटौं इन्टरनेशनल एक्सिलेन्स अवार्ड’ सम्पन्न भएको छ । नेपाल चेम्बर अफ कमर्स नेपाल महिला चेम्बरको प्रस्तुति, लिडिभाईन, भारतको आयोजना तथा प्याजेन्ट नेपालको एसोसियटमा बिहीबार काठमाडौंको र्याडिशन होटेलमा भव्य रूपमा उक्त समारोह सम्पन्न भएको हो ।

नेपाल चेम्बर अफ कमर्सकी उपाध्यक्ष, महिला चेम्बरकी अध्यक्ष एवं साल्ट ट्रेडिङ् कर्पोरेशनकी प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठको सभापतित्वमा सम्पन्न उक्त समारोहमा विशेष अतिथि प्रख्यात अभिनेत्री जय प्रदालगायत नेपाल, भारत, युके लगायत देशबाट सहभागिता जनाएका पाहुनालाई स्वागत गर्दै समारोहलाई सफल बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने सबैलाई धन्यवाद दिएकी थिइन ।

प्रतिनिधि सभाका उप–सभामुख इन्दिरा रानाको प्रमुख आतिथ्यता तथा लोकप्रिय भारतीय अभिनेत्री जया प्रदाको विशेष आतिथ्यता रहेको उक्त समारोहमा नेपाल तथा भारतका उच्च पदस्थ व्यक्तीहरु सेलिब्रेटी तथा प्रसिद्ध कलाकारहरुका साथै करिब सातसय भन्दा बढी दर्शकहरूको उपस्थिति थियो । 

कला साहित्य र संस्कृति लगायत विभिन्न क्षेत्रमा योगदान पुर्याउँदै आएका र सामाजिक जीवनमा प्रसिद्धि कमाएका विभिन्न विधाका करिब चार दर्जन बढी प्रतिष्ठित व्यक्तिहरूलाई उक्त अवार्ड प्रदान गरियो । जसमा नेपालबाट करिब तीन दर्जन बढी र भारतबाट करिब डेढ दर्जन बढी व्यक्तित्वहरूले अवार्ड प्राप्त गरे ।

नेपालका चर्चित कलाकारहरू गायक आनन्द कार्की, गायक यम बरालको प्रस्तुति रहेको समारोहमा भारतीय कत्थक डान्सरहरूको नृत्य र नेपाल भारतका र्याम्प मोडलहरूले दुवै देशको संस्कृति झल्कने पहिरनबाट र्याम्प शो समेत गरे ।

कार्यक्रममा उपसभामुख रानाले यस्ता कार्यक्रमहरूबाट नेपाल र भारतको मित्रताको डोरी कसिलो बन्दै जानुका साथै दुवै देशको संस्कृति प्रवर्द्धनमा समेत सहयोग पुग्ने बताइन् । यसरी दुई छिमेकी मुलुकको सांस्कृतिक सम्बर्द्धनको लागी महत्त्वपूर्ण भूमिका खेलेको भन्दै आयोजक कमिटीलाई धन्यवाद समेत दिइन् । 



यस्तै उक्त समारोहमा बलिउड अभिनेत्री जया प्रदालाई भब्य सम्मान समेत गरिएको थियो । नेपाल चेम्बर अफ कमर्शको अध्यक्ष कमलेश कुमार अग्रवाल तथा महिला चेम्बरकी उपाध्यक्ष श्रेष्ठले अभिनेत्री प्रदालाई सम्मान प्रदान गरेका थिए । सोही क्रममा अभिनेत्री प्रदाले नेपाल आफ्नो दोस्रो घर भएको र यसरी नेपालीको माया पाउँदा आफू निकै हर्षित भएको भन्दै खुसी समेत व्यक्त गरिन् ।

यस्तै स्वयं अभिनेत्री प्रदाले पनि साल्ट ट्रेडिङ कर्पोरशनका अध्यक्ष प्रदिपलाल श्रेष्ठ, चेम्बरकी उर्मिला श्रेष्ठ लगायतलाई आफ्नो तर्फबाट सम्मान गरिन् । कार्यक्रममा माइती नेपालकी संस्थापक अध्यक्ष अनुराधा कोइराला,चलचित्र विकास बोर्डका अध्यक्ष एवं अभिनेता भुवन केसी,अभिनेत्रीत्रय बसुन्धारा भुषाल, चैत्यदेवी तथा भुवन चन्द, कलाकार किरण केसी, राजाराम पौडेल, देविका बन्दना, राजु सिंह,नारायण प्रधानका साथै अभिनेता सरोज खनाल, संगीतकार शम्भुजित बासकोटा,प्रहरी अतिरिक्त महानिरिक्षक भिम प्रसाद ढकाल,नेपाली सेनाका सहायक रथि राजन अधिकारी,  लोकप्रिय भारतीय गुगल आन्टी ७९, प्रिमिला हिंगोरोनी,युके प्रतिष्ठित व्यवसायी सोनिया भाटिया, भारतीय प्रख्यात व्यक्तित्व सविता राणा भारती, प्रतिष्ठित व्यबसायी एवं सामाजिक अभियान्ता डा.अनुप शर्मा भारतीय चर्चित डान्सर हिमांशु द्धिवेदी टिपिएफ फ्याकिटका आकाश गुप्ता, डा.अर्पणा शाह, चेम्बरका पदाधिकारीहरु,पर्यटनविद,संस्कृतिविद,लगायत विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।



कार्यक्रममा अभिनेत्री जया प्रदा अभिनित चर्चित गीत ‘डफली वाले’ मा प्रस्तुति दिएकी थिइन् । उनको नृत्यमा उपस्थित दर्शकहरुले गडगडाहट ताली बजाएर सम्मान गरेका थिए । संचारकर्मी दिनेश डिसीले सञ्चालन गरेको उक्त कार्यक्रममा आयोजक लिडिभाइनकी प्रमुख पुनम कौशिक, व्यवस्थापक श्रुति सरल, निर्देशक अंकित शर्मा, नेपालका आयोजक प्याजेन्ट नेपालका प्रमुख राज लुईटेललगायतले कार्यक्रम सफल भएको र आगामी दिनमा हुने कार्यक्रमका लागि थप ऊर्जा मिलेको बताए ।

अभिनेत्री प्रदा यसै कार्यक्रममा सहभागिताका लागि दुई दिने नेपाल भ्रमणमा आएकी थिइन भने उनी सहित भारतबाट करिब चार दर्जन बढी व्यक्तित्वहरूको सहभागिता रहेको थियो ।

  • प्रकाशित मिति : असार १६, २०८१ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया