logo-img

उपेन्द्र यादव भन्छन्- नेपालको शिक्षा प्रणाली ध्वस्त भइसक्यो, लोकतन्त्र पनि कमजोर हुँदै छ
फाइल तस्बिर

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले भर्खरै सार्वजनिक भएको एसइईको नतिजाले नेपालको शिक्षा प्रणाली ध्वस्त भइसक्यो भन्ने साबित गरेको टिप्पणी गरेका छन् । 

आइतबार नेकपा एसको महाधिवेशन उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले अहिले लोकतन्त्र दल तन्त्र, नेता तन्त्र हुँदै स्वेच्छाचारीतन्त्रमा बदलिँदै गएको उल्लेख गरे । उनले स्वास्थ्य सेवामा माफियाहरूको बिगबिगी रहेको बताए । 

उनले भने,‘अहिले लोकतन्त्र बिस्तारै कमजोर भइरहेको छ । लोकतन्त्रको खतरा कुनै बाहिरबाट छैन हामी भित्रैबाट छ । लोकतन्त्र दलको शासन एवम् दल तन्त्र, नेता तन्त्र हुँदै स्वेच्छाचारीतन्त्रमा नेपालको लोकतन्त्र बदलिँदै गएको छ । एसइईको नतिजा आयो । त्यसबाट के थाहा हुन्छ भने नेपालको शिक्षा प्रणाली ध्वस्त भइसक्यो । एसइईको नतिजाले त्यो पुष्टि गरेको छ । यता, स्वास्थ्य सेवामा माफियाहरूको बिगबिगी छ ।’

उनले संसद्लाई असंवैधानिक तरिकाले दुई दुई पटक भङ्ग गरेर मुलुकलाई स्वेच्छाचारी शासनतर्फ धकेलिँदै गरेको अवस्थामा व्यवस्थाको रक्षा गर्नको लागि माधव नेपालले विद्रोह गरेर महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताए । 

उनले भने, ‘अहिले मुलुक जटिल अवस्थामा  छ । अहिले संघीय लोकतान्त्रिक गणतन्त्र ठूलो दुर्घटनाबाट जोगिएका छौँ । त्यसमा कमरेड माधवजी र यहाँको  पार्टीको ठूलो योगदान छ । जुन बेलामा संसद्लाई असंवैधानिक तरिकाले दुई दुई पटक भङ्ग गरेर मुलुकलाई स्वेच्छाचारी शासनतर्फ धकेलिँदै गरेको थियो । त्यो बेलामा लोकतन्त्र रक्षा गर्नको लागि प्राप्त अधिकारलाई जोगाउनको लागि उपलब्धिहरूलाई संस्थागत गर्नका लागि आवश्यक थियो । त्यो आवश्यकता परेको बेलामा यहाँहरूले विद्रोह गर्नुभयो र आज संघीय गणतन्त्रको रक्षाको महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहनुभएको छ ।’





  • प्रकाशित मिति : असार १६, २०८१ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया