logo-img

संविधान संशोधन र राजनीतिक स्थायित्वका लागि एमाले-कांग्रेसबीच सहमति : प्रकाशशरण महत
फाइल तस्बिर

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले संविधान संशोधन र राजनीतिक स्थायित्वको लागि सहमति भएको बताएका छन् । 

मंगलबार सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा भएको पदाधिकारी बैठकबारे जानकारी दिँदै उनले सत्तामा जानुपर्छ भन्ने मान्यताभन्दा माथि गएर सहमति भएको सुनाए । उनले आर्थिक स्थिरता र विकास निर्माणलाई प्राथमिकता दिएर अगाडि बढ्नेगरी सहमति बनेको बताए । 

‘संविधानमा आवश्यक शंसोधन लागि पनि एउटा राष्ट्रिय सहमति निर्माण गर्ने र आर्थिक स्थिति, विकास निर्माणमा देखिएको समस्यालाई अन्त्य गर्नको लागि एउटा स्थिर राजनीति, संविधानलाई समसामयिकरूपमा संशोधन गर्न सहमति जुटाउने हिसाबले अगाडि बढ्नको लागि नयाँ राजनीतिक कोर्स बनेको हो । दुई दलको बीचमा सँगै अगाडि बढ्ने र सरकार निर्माण गर्ने एवं आवश्यकता अनुसार अन्य दललाई पनि समावेश गर्नेगरी राष्ट्रिय सहमतिको सरकारकै नाम दिइएको छ,’ उनले भने । 

महतले ओलीको नेतृत्वमा सरकार सञ्चालन गर्ने र त्यसमा अन्य पार्टीलाई सहभागी गराउने पनि बताए । ‘यसमा ओली र हाम्रो पार्टी सभापतिले आलोपालो नेतृत्व गर्नु कुरा भएको छ । नेतृत्व कांग्रेस र एमालेको नै हुन्छ । यसमा अरू दललाई पनि सहभागी गराउन सकिन्छ भन्ने आधारमा नै समझदारी भएको छ,’ उनले भने ।  

महतले आर्थिक विकासमा देखिएको समस्या समाधान गर्नको लागि बृहत्तर राष्ट्रिय हितमा सहमति भएको भन्दै यसलाई कार्य सम्पादन समितिको बैठकले औपचारिकरूपमा अनुमोदन गर्ने बताए । 

यस्तै, उनले सोमबार राति राष्ट्रपति निवासमा देउवा र ओली गएको सूचना गलत भएको पनि बताए ।   





  • प्रकाशित मिति : असार १८, २०८१ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया