logo-img

गिरिजाबाबु नभएको भए देशमा राजनीतिक परिवर्तन र गणतन्त्र आउँदैनथ्यो : देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गिरिजाबाबु नभएको भए देशमा राजनीतिक परिवर्तन र गणतन्त्र केही नहुने बताएका छन् । 

मंगलबार पार्टी कार्यालय सानेपामा आयोजित गिरिजाप्रसाद कोरालालको क्रान्तिदेखि शान्तिसम्म फोटो प्रदर्शनीका क्रममा उनले कोइराला २००७ सालको क्रान्तिदेखि नेपालको राजनीतिमा क्रियाशील रहेको भन्दै उनले गर्दा नै देशमा गणतन्त्र आएको बताए । 

उनले भने, ‘गिरिजाबाबु नभएको देशमा राजनीतिक परिवर्तन, गणतन्त्र केही पनि हुँदैन थियो । त्यसैले गिरिजाबाबु २००७ सालको क्रान्तिदेखि नेपालको राजनीति, प्रजातन्त्रमा अत्यन्तै क्रियाशील, सक्रिय र जुझारु व्यक्तित्वका कारणले नेपालमा प्रजातन्त्र आएको हो । मैले विद्यार्थी बेलामा नै उहाँलाई चिनेको हुँ । ०२८ सालमा उहाँको समर्थन भएकै कारण पनि म नेविसंघको सभापति भएको हुँ ।’

उनले गरेको योगदान र प्राप्त गरेको उपलब्धि बयान गर्न नसकिने पनि उनको भनाइ छ । उनले भने, ‘नेपालमा प्रजातान्त्रिक आन्दोलन पनि २००७ सालदेखि नै लड्दै आउनुभएको थियो । उहाँ कहिल्यै नथाक्ने मान्छे हो । उहाँले गर्नुभएको योगदान, लड्नुभएको लडाइँ, प्राप्त गर्नुभएको उपलब्धि छोटो कुरा गरेर सकिँदैन । उहाँले प्रजातन्त्रको लागि लड्दा लड्दा गणतन्त्र समेत ल्याउनुभयो ।’

कांग्रेसले गिरिजाप्रसाद कोइराला (गिरिजाबाबु)को शताब्दी जन्मजयन्तीमा मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा फोटो प्रदर्शनी गरेको हो । पूर्वप्रधानमन्त्री तथा कांग्रेसका पूर्वसभापति स्वर्गीय कोइरालाको १००औँ जन्मजयन्ती को अवसर मा ‘क्रान्तिदेखि शान्तिसम्म’ ऐतिहासिक तस्बिर प्रदर्शनी गरिएको हो । 

देउवाले उद्घाटन गरेको उक्त कार्यक्रममा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायत विभिन्न दलका नेताको उपस्थिति थियो ।





  • प्रकाशित मिति : असार १८, २०८१ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया