logo-img

मुखमा कालो टेप लगाएर केन्द्रीय समिति बैठकमा पुगे रास्वपा महामन्त्री ढकाल, कारण के हो ?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री एवम् प्रवक्ता मुकुल ढकाल मुखमा कालो टेप लगाएर केन्द्रीय समिति बैठकमा सहभागी भएका छन् । केन्द्रीय समितिको बैठक लाइभ गर्न माग गर्दै आएका ढकालले माग सुनुवाइ नभएपछि उनले विरोधस्वरुप मुखमा कालो टेप लगाएर बैठकमा सहभागी भएको बताइएको छ । 

हालै ढकाल देश दौडाहमा निस्किएका थिए । त्यो क्रममा महामन्त्री ढकालले ३९ जिल्ला घुमेर समीक्षा यात्रा बारेको प्रतिवेदन पार्टीलाई बुझाएका थिए । उक्त प्रतिवेदनमाथि पार्टीमा छलफल हुनुअघि नै प्रतिवेदनका केही विषयहरू महामन्त्री ढकालले सार्वजनिक गरेपछि अहिले रास्वपामा तरंग ल्याइसकेको थियो । 

महामन्त्री ढकालले पार्टी विवेकशीलजस्तो क्षीण अवस्थामा पुग्ने सम्भावना रहेको बताएपछि त्यसले तरंग ल्याएको हो । गत वैशाखमा इलाम क्षेत्र नम्बर २ को चुनावी परिणामपछि देशव्यापी कार्यकर्ता भेट गरेर फर्केका महामन्त्री ढकालले यस्तो निष्कर्ष निकालेका हुन् ।

देश दौडाहाका क्रममा उनले ३९ जिल्लाका नेता–कार्यकर्तासँगको समीक्षात्मक अन्तरक्रिया गरेका थिए । सो क्रममा उनले पुराना दलहरूसँग भन्दा स्वतन्त्रहरू सँगको सहकार्यलाई अगाडि बढाउनुपर्ने निचोड निकालेका छन्।  

महामन्त्री ढकालले जेठ ६ गतेदेखि असार ५ गतेसम्म ३९ जिल्लाका नेता–कार्यकर्तासँग अन्तरक्रिया गरेका थिए। देश दौडाहापछि महामन्त्री ढकाललाई प्रतिवेदन बुझाउने जिम्मा दिइएको थियो। 

ढकालले पार्टी विवेकशील बन्ने बाटोमा रहेको भन्दै यसो भन्दा आफूलाई महामन्त्रीबाट घोक्र्याइनसक्ने बताएका थिए । पार्टीलाई बुझाएको प्रतिवेदनमा पार्टी दुर्घटनाउन्मुख रहेको निष्कर्ष निकालेका उनले उक्त प्रतिवेदनमाथिको छलफल लाइभ गर्न माग गरेका हुन् ।  



ढकालले आफ्नो प्रतिबेदनमाथि छलफलसमेत हुने बताइएको आजको बैठकमा बोल्न पाउने लोकतान्त्रिक अधिकार हनन भएको जिकीर गर्दै मास्क बाहिर क्रस गरेर कालो टेप टाँस्दै बैठकमा सहभागी भएका हुन् ।  



  • प्रकाशित मिति : असार १९, २०८१ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया