logo-img

राजीनामा दिँदै एमालेका मन्त्रीहरू, सरकारलाई दिएकाे समर्थन फिर्ता लिने

वर्तमान सरकारमा एमालेबाट प्रतिनिधित्व गर्ने मन्त्रीहरूले राजीनामा तयारी गरेका छन् । नयाँ समीकरण बनिसकेपछि पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा गर्न आनाकानी गरेपछि उनलाई दबाब दिन एमालेले आफ्ना आठैजना मन्त्री फिर्ता गर्न लागेकाे हाे । 

वर्तमान सरकारमा एमालेबाट उपप्रधान तथा भौतिक पूर्वाधार एवं यातायातमन्त्री रघुवीर महासेठको नेतृत्वमा कानुन न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वालाकुमारी साह, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारी, खानेपानीमन्त्री राजेन्द्रकुमार राई र रक्षामन्त्री हरिप्रसाद उप्रेती र महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्रीमा भगवती चौधरी छन् ।

मंगलबार बसेको एमालेकाे सचिवालय बैठकले बुधबार साँझसम्म प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा दिन भनेको थियो । त्यसअघि एमाले अध्यक्ष केपी शर्मा ओलीले बालुवाटारमै गएर प्रधानमन्त्रीलाई मार्गप्रशस्त गर्न आग्रह गरेका थिए । 

प्रधानमन्त्री दाहालले नमानेपछि एमालेले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएर सरकारमा रहेका आफ्ना आठैजना मन्त्रीलाई फिर्ता बाेलाउन लागेकाे हाे । 

प्रधानमन्त्री प्रचण्डले भने राजीनामा नदिने बरु एक महिनाभित्र विश्वासको मत लिने अडान लिएका छन् । प्रधानमन्त्रीको सजिलै बहिर्गमनको अवस्था नभएपछि सबै मन्त्रीले राजीनामा दिन लागेकाे एमालेले जनाएकाे छ । 





  • प्रकाशित मिति : असार १९, २०८१ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया