logo-img

वर्षासँगै बाढीको चिन्तामा कुतियाकबरवासी, भन्छन्- ‘सरकारले पीडा सुनेन’
फाइल तस्बिर

कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१० कुतियाकबरवासीले खाद्यान्न सहित लत्ता कपडा जोगबुढा नदीवारी आफन्तकहाँ राखेका छन् ।  

लत्ताकपडा, हलुका खानेकुरालगायत आवश्यक कागजपत्र राखेर झटपट झोला तयार छन् । ती सामान घरभित्र विगतमा बाढी पुगेकोभन्दा माथितिर सुरक्षित राखिएको छ । बाढीको बेला फसेकाको उद्धारका लागि स्थानीयले निर्माण गरेका दुई ढुङ्गा छन् । 

‘बर्सात सुरु भइसक्यो । कुन बेला बाढी गाउँ पस्छ केही पत्तो हुँदैन । त्यसैले सक्दो पूर्वतयारी गरेका छौँ’, स्थानीय दानबहादुर मगरले भने, ‘बर्सेनि बाढीले सताउँछ ।’

कुतियाकबरमा ४२ परिवारको बसोबास छ । महाकाली नदी र जोगबुढा नदीले घेरिएका यहाँका स्थानीयलाई बर्सात लागेसँगै बाढीको चिन्ताले पिरोल्न थालेको छ । महाकाली नदीमा पक्की तटबन्धन नहुँदा बाढी सिधै बस्ती पस्ने गरेको स्थानीय वसन्ती सुनारले बताइन् । ‘जमिन कटान भएर बगरमा परिणत भइसक्यो । बाढीले अन्नपात सबै बगाएर लैजान्छ’, उनले भनिन्, ‘यो बाढीको समस्याबाट हामीले कहिले मुक्ति पाउँला ? बर्सातमा कुन बेला के हुन्छ भनेर राम्रोसँग खान र सुत्न पाइँदैन ।’ 

कुतियाकबर भारतसँग सीमा जोडिएको नेपाली बस्ती हो । बाढीको समस्या झेल्दै ज्यानको बाजी थापेर सीमामा नेपाली भूमिको जोगाएर बसेका कुतियाकबरवासीको पीडा सरकारले नसुनेको गुनासो छ । 

बाढीले ज्यान जोगाउनै मुस्किल पर्ने गरेको स्थानीय टेकबहादुर सुनार बताउँछन् । ‘महाकालीमा पक्की तटबन्धन हुँदा केही हदसम्म कटान र बाढीको समस्या कम हुन्थ्यो । तर, तटबन्धनको लागि बारम्बार माग गर्दा पनि हाम्रो पीडा कसैले सुनेको छैन,’ उनले भने ।



लामो समयदेखि सुरक्षित घरको माग गर्दै आएका यहाँका स्थानीयका लागि यसपटक दुई सुरक्षित घर निर्माण भएपछि स्थानीयलाई राहत भएको छ । कुतियाकबरका स्थानीय बासिन्दा बाढी आएका बेला घर छोडेर दोधारा चाँदनी नगरपालिका–७ स्थित अम्बिका माध्यमिक विद्यालयमा आश्रय लिएर बस्दै आएका थिए । 

‘बर्सात लाग्नेबित्तिकै डर त्रास हुन्छ । सेफ हाउस भएपछि बाढी आएका बस्न अन्यत्र जानुपर्ने बाध्यता हटेको छ । ज्यान जोगिने आशा जागेको छ’, स्थानीय मायादेवी सुनारले भनिन्, ‘खाद्यान्न, लुगाफाटो त बचाउन सकिँदैन । सुरक्षित घरले ज्यान जोगिनेमा ढुक्क छौँ ।’ रासस 



  • प्रकाशित मिति : असार २०, २०८१ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया