logo-img

युरो कपमा ‘गोल्डेन बुट’ को होडमा पाँच खेलाडी, कसको नाममा कति गोल ?

युरोकप २०२४ को नक आउट चरणका खेल सकिसकेका छन् । नकआउटबाट यसपटक स्पेन, जर्मनी, पोर्चुगल, फ्रान्स, इंग्ल्याण्ड, स्विट्जरल्यान्ड, नेदरल्याण्ड्स र टर्कीले क्वाटरफाइनलमा स्थान बनाए ।

गत संस्करण विजेता इटाली भने राउण्ड अफ सिक्सटिनबाटै घर फर्कियो । अब क्वाटरफाइनलको खेल ५ जुलाईदेखि सुरु हुने छन् । पहिलो क्वाटरफाइनलमा स्पेन र जर्मनी, दोस्रोमा पोर्चुगल र फ्रान्स, तेस्रोमा इंग्ल्याण्ड र स्विट्जरल्यान्ड र चौथो क्वाटरफाइनल खेलमा नेदरल्याण्ड्स र टर्की आमनेसामने हुनेछन् । 

नकआउट चरणको खेल सकिँदासम्म केही स्टार खेलाडीले गोल गर्न सकेका छैनन् । विशेषगरी पोर्चुगिज कप्तान क्रिस्टियानो रोनाल्डो र फ्रान्सेली स्टार केलियन एम्बाप्पे गोल गर्न संघर्ष गरिरहेका छन् । त्यसकारण पनि अहिलेसम्म उनीहरू गोल्डेन बुट होडमा छैनन् । रोनाल्डो नकआउट चरणको खेल सकिँदासम्म गोलविहीन छन् ।

उनी स्लोभेनियाविरुद्ध अतिरिक्त समयमा पेनाल्टीमा चुक्दा गोलविहीन बनेका हुन् । रोनाल्डोले जारी प्रतियोगितामा एक असिस्ट भने प्रदान गरेका छन् । यस्तै, एम्बाप्पेले युरो कप २०२४ मा पेनाल्टीमार्फत एक गोल गरेका छन् । साथै, उनको नाममा एक असिस्ट छ ।



रोनाल्डो र एम्बाप्पेलाई अब क्वाटरफाइनलमा गोल गर्ने मौका छ । अहिलेसम्मको अवस्थामा गोल्डेन बुट दौडको शीर्ष स्थानमा नेदरल्याण्ड्सका कोडी गाक्पो रहेका छन् । डच टिमलाई क्वाटरफाइनलमा पुर्याउन यी युवा स्टारको भूमिका महत्वपूर्ण छ ।

२५ वर्षीय गाक्पोले चार खेलमा तीन गोल गर्नुका साथै एक असिस्ट प्रदान गरेका छन् । त्यस्तै, यो सूचीको दोस्रो नम्बरमा जर्जियाका जर्जेस मिकाउताडेज रहेका छन् । टिमले क्वाटरफाइनलको यात्रा गर्न नसके पनि २३ वर्षीय जर्जेसको प्रदर्शन उत्कृष्ट रह्यो ।



उनले चार खेलमा तीन गोल र एक अस्टिट प्रदान गरे । जर्जियाको यो डेब्यू युरोकप थियो । र, जेर्जेजले उत्कृष्ट प्रदर्शन गर्दा जर्जिया युरो कपमा ‘ड्रिम डेब्यू’ गर्न सफल भयो । उसले जारी प्रतियोगिताको ग्रुप स्टेजमा पोर्चुगललाई २–० ले स्तब्ध पारेको थियो । 

यस्तै, युरो कप २०२४ मा गोल्डेन बुट होडको तेस्रो स्थानमा जर्मनीका जमाल मुसियाला रहेका छन् । यी युवा स्टारले पनि चार खेलमा तीन गोल गरेका छन् । यो सूचीको चौथो नम्बरमा स्लोभाकियाका इभान श्रान्ज रहेका छन् ।

टिम क्वाटरफाइनलसम्म पुग्न नसके पनि इभानले उत्कृष्ट प्रदर्शन गरे । उनले पनि चार खेलमा तीन गोल गरे । गोल्डेन बुट रेसको पाँचौं स्थानमा स्पेनका फाबियन रुइज रहेका छन् । स्पेन क्वाटरफाइनलमा पुग्नुमा उनको पनि अह्म भूमिका छ । रुइजले तीन खेलमा दुई गोल गरेका छन् ।  साथै, उनले दुई गोलका लागि असिस्ट पनि दिएका छन् । 

युरोकपमा सर्वाधिक गोल गर्ने खेलाडीले गोल्डेन बुट अवार्ड जित्ने गर्छन् । यदि एकभन्दा धेरै खेलाडीले बढी गोल गरेमा असिस्ट हेरेर गोल्डेन बुट प्रदान गरिन्छ । त्यो पनि बराबरी भएमा थोरै मिनेट खेल्ने खेलाडीले यो अवार्ड हात पार्नेछन् ।

युरो कपमा सर्वाधिक गोल गर्ने शीर्ष तीन खेलाडीले क्रमशः गोल्डेन बुट, सिल्भर बुट र ब्रोन्ज बुट प्राप्त गर्नेछन् । सन् २०२० मा पोर्चुगिज सुपरस्टार रोनाल्डोले गोल्डेन बुट जितेका थिए । सो संस्करणमा उनले ५ गोल र एक असिस्ट प्रदान गरेका थिए ।   

  • प्रकाशित मिति : असार २०, २०८१ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया