logo-img

दीर्घकालीन काम नगर्न/नगराउन एमालेले गरायाे प्रधानमन्त्रीकाे ध्यानाकर्षण

नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दीर्घकालीन असर पर्ने कुनै पनि काम नगर्न/गराउन ध्यानाकर्षण गराएको छ। एमाले महासचिव शंकर पोखरेलले बिहीबार एक विज्ञप्ति जारी गर्दै यस्तो ध्यानाकर्षण गराएको हो । 

उनले प्रधानमन्त्रीले विश्वासको मत पाउने अवस्था नरहेको र अल्पमतमा परेको सरकारबाट दीर्घकालीन असर पर्ने कुनै पनि काम नगर्न/नगराउन ध्यानाकर्षण गराएका हुन् । महासचिव पोखरेलले विज्ञप्तिमा राष्ट्रिय सहमतिको सरकार गठनको प्रक्रियामा सहभागी हुन र सहयोग गर्नसमेत प्रधानमन्त्रीलाई अनुरोध गरेका छन् । 

‘ससंसदका दुई ठूला दल नेकपा (एमाले) र नेपाली कांग्रेस नयाँ सरकार गठनका लागि सहमत भएको अहिलेको परिस्थितिमा वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत पाउने अवस्था नरहेको हुँदा अल्पमतमा परेको सरकारबाट दीर्घकालीन असर पर्ने कुनै पनि काम नगर्न/ नगराउन नेकपा (एमाले) सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को ध्यानाकर्षण गर्दछ,’ विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रिय सहमतिको सरकार गठनको प्रक्रियामा सहभागी हुन र सहयोग गर्न पुनः अनुरोध गर्दछ ।’

एमाले र कांग्रेसबीच गठबन्धनसहितको राष्ट्रिय सरकार बनाउने सहमति भएसँगै एमालेले राजीनामा दिन प्रधानमन्त्रीलाई आग्रह गरेको थियो । एमालेको आग्रह अस्वीकार गरेपछि प्रचण्ड सरकारलाई दिएको समर्थन फिर्ता लिँदै एमालेले आफ्ना मन्त्रीहरूलाई बोलाइसकेको छ।

बिहीबार राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीहरू पनि राजीनामा दिन बालुवाटार  पुगेका थिए । प्रधानमन्त्री दाहालले आफू संसद फेस गर्ने र त्यसका लागि सहयोग गर्न आग्रह गरेपछि उनीहरू राजीनामा नदिई फर्किएका छन्। 





  • प्रकाशित मिति : असार २०, २०८१ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया