logo-img

देउडामा रमाए नेकपा एसका महाधिवेशन प्रतिनिधि

कमलादीस्थित नेपाल प्रज्ञाप्रतिष्ठानको कार्यालयमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को महाधिवेशन चलिरहेको थियो । देशभरबाट आएका नेता तथा कार्यकर्ताले प्रज्ञाप्रतिष्ठान परिसर भरिएको थियो ।
    
प्रतिष्ठानको मुख्यहलमा सो पार्टीको नयाँ पदाधिकारीका चयनका लागि रस्साकस्सी चलिरहेका बेलामा बाहिर भने सुदूरपश्चिम प्रदेशको लोकभाका देउडा घन्किरहेको थियो । देउडाको भाकामा प्रतिनिधिहरु गोलबद्ध भएर नाच्न थालेपछि रमाइलो मान्दै हेर्नेहरु पनि झुमिएका थिए । 
    
पार्टी पदाधिकारीदेखि महाधिवेशन प्रतिनिधिले एकैछिन भए पनि देउडामा रमाइलो गाए र नाचे । सुदूरपश्चिम र कर्णाली प्रदेशका कलाकारले देउडा खेलेपछि प्रज्ञाप्रतिष्ठानको प्रांगण रमणीय बन्यो । देउडाको गीतमा सबै झम्न थालेपछि प्रतिष्ठानमा महोत्सव चलेजस्तै देखिएको थियो । गीतारु (गीत हाल्ने अर्थात् देउडिया)रुले सवाल–जवाफमा देउडा सुरु गरेपछि निकै रमाइलो भएको एक नेताले बताए । 
    
जुम्लाका जनकबहादुर अधिकारी, बाजुराका शीतलकामी विक र अछामका जीत निशानीले नेतृत्व गर्दै राजनीतिक र समसामयिक विषयमा देउडामार्फत चर्चा गरे । देउडामा महिला तथा पुरुषको उल्लेखनीय सहभागिता थियो । पछिल्लो दुई दिन झरीपछि आज मौसम सफा भएको फाइदा उठाउँदै सुरु भएको देउडाले महाधिवेशनमा नयाँ रङ दिएको भान हुन्थ्यो ।     

महाधिवेशनले आज पार्टी अध्यक्षमा माधवकुमार नेपाल, महासचिवमा घनश्याम भुसाल र सम्मानित नेतामा झलनाथ खनाललाई सर्वसम्मत चयन गरे पनि बाँकी पदमा भोलि टुंगो लाग्नेछ ।





  • प्रकाशित मिति : असार २०, २०८१ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया